Fri. Apr 19th, 2024

महाभारतमा द्रौपदीका पाँच पति थिए । त्यो द्वापर युगको कुरो ! कलियुगमा पनि एक द्रौपदी छिन् भारतमा । उनको नाम हो– राजो वर्मा । उनका पाँच पति छन् । उनीहरू दाजुभाइ हुन् । एक्काइस वर्षकी वर्मा पालो मिलाएर एक दिनमा एक भाइसँग सुत्छिन् र बाँकी चार भाइ भुइँमा ओछ्यान हालेर सुत्छन् ।
एक सन्तानकी आमा वर्मालाई त्यो १८ महिने बच्चाको बाबु कुन चाहिँ हो, पत्तो छैन । यो ‘सेटअप’ अरूका लागि असाधारण लागे पनि उत्तरी भारतको देहरादुन नजिकैको गाउँमा यस्तै परम्परा छ । अर्थात्, एक भाइले बिहे गरेर ल्याएपछि सबैलाई हुने । उनले बेलायती पत्रिका ‘द सन’ सँग भनेकी छिन्, ‘सुरुमा मैले अलि असजिलो महसुस गरेँ । तर, अहिले म एउटालाई मात्रै बढी माया गर्दिनँ ।’ राजो र उनका पहिलो पति गुड्डुले चार वर्षअघि हिन्दू परम्पराअनुसार मागी बिहे गरेका थिए ।
त्यसयता उनले ३२ वर्षे बैजु, २८ वर्षे शान्तराम, २६ वर्षे गोपाल र १९ वर्षे दिनेशसँग बिहे गरिसकिन् । पछिल्ला पतिले १८ वर्ष लाग्नेबित्तिकै राजोसँग बिहे गरेका थिए ।
‘मेरा चार भाइले उनीसँग शारीरिक सम्पर्क गर्छन्, तर मलाई ईष्र्या छैन,’ पहिलो लोग्ने गुड्डुले भने । राजोका आधिकारिक पति भने आफू नै भएको पनि गुड्डुले खुलाए । ‘हामी एउटा ठूलो सुखी परिवार हौँ,’ उनले भने ।’
हिन्दू संस्कारभित्रको प्राचीन बहुपति प्रथा कुनै समय भारतमा व्यापक थियो, तर अहिले यो अल्पसंख्यक समुदायमा मात्रै फाट्टफुट्ट छ । भारतमा बहुपति प्रथा संस्कृत ग्रन्थ महाभारतबाट आएको विश्वास गरिन्छ । खेतीयोग्य जमिन टुक्रा–टुक्रा हुन नदिने उपायका रूपमा पनि यो प्रथा कायमै राखिएको मानिन्छ । नेपालमै पनि कुनै कुनै समुदायमा बहुपति प्रथा कायमै छ ।
राजो आफूलाई हरेक श्रीमानले स्विकार्ने बताउँछिन् । उनकी आमा पनि तीन भाइकी साझा पत्नी थिइन् ।

%d bloggers like this: