Wed. Dec 7th, 2022

फिल्म ‘सायद’को निर्देशनपछि सफल निर्देशकको छवी स्थापित गरेका सुरज सुब्बा ‘नाल्बो’लाई फिल्म निर्देशन गराउने निर्माता बढ्दै गएका छन्। निर्माता संघका अध्यक्ष राजकुमार राईको नयाँ फिल्म ‘वान वे’को मुहुर्तसँगै सुटिङ शुरु भएको छ।
फिल्ममा करिष्मा मानन्धर, रक गायक रबिन तामाङ, विल्सनविक्रम राई, सिद्धार्थ गुरुङ, माला सुब्बा, आकाश खवास, प्रकाश ओझा, श्याम राई लगायतले अभिनय गर्नेछन्। फिल्म ‘वान वे’को कथा निर्देशक सुब्बाले लेखेका हुन् भने पटकथा प्रदिप भट्टराईको रहेको छ। one-way-ko-muhurta-ma-karis
रक गायक रबिन तामाङ फिल्ममा मुख्य भिलेन भएर देखिदैछन्। छड्केमा अभिनय गरेर गाली पाएका उनले यो फिल्मले ताली पाउने आशा गरेका छन्। भन्छन्, ‘छड्केबाट निराश बनेका दर्शकलाई वान वेले खुसी दिनेछ।’ यसैगरी ‘डन’का रुपमा परिचित दिपक मनाङ्गेका छोरा यही फिल्मबाट अभिनेताका रुपमा डेब्यू गर्दैछन्। आरसी पिक्चर्सको सातौं प्रस्तुती फिल्मका मुख्य छायाँकार हरि लामा हुन् भने टेकबहादुर राई र दिपेन्द्रप्रसाद थपलियाले पनि फिल्मलाई खिच्नेछन्। फिल्ममा नेपालीको रात्री जीवनलाई देखाइने बताइएको छ।