Tue. Mar 19th, 2024

काठमाडौ, आश्विन १० – सन् २०२२ को विश्वकप फुटबल आयोजनाको तयारीमा रहेको कतारमा अहिले भौतिक निर्माणको काम तीब्र गतिमा भइरहेको छ । जहाँ काम गर्ने कामदारमध्ये ४० प्रतिशत नेपाली छन् । कतारमा रहेको नेपाली कामदारले को अवस्था दयनीय छ । यही बिषयमा बेलायती पत्रिका गार्जियनले अनुसन्धानमूलक सामग्री तयार पारेको छ । त्यसको अनुवादिन अंश :  
 
केही सातायता कतारमा रहेको दर्जनौ नेपाली कामदारको मृत्यु भएको छ भने हजारौं कामदारहरु श्रम शोषणको पीडा भोगिरहेका छन् । गार्जियनले गरेको अनुसन्धानबाट कतारले गरेको सन् २०२२ को विश्वकप फुटबल आयोजनाको तयारीप्रति प्रश्न जन्माएको छ ।
 
यो बर्षको गर्मीमा एक जनाको दरले कतारमा रहेका नेपाली कामदारको मृत्यु भयो, ती मध्ये एक दाङ जिल्लाका १६ बर्षका गणेश नाम गरेका युवक थिए जसले हर्ट अट्याकका कारण मृत्यु भयो । सन् २०२२ को विश्वकप तयारीमा रहेको  कतारमा नेपाली कामदारप्रति गरिएको शोषणले आधुनिक दासताको झल्को दिन्छ, जुन अन्तर्राष्ट्रिय श्रम संगठनको मान्यता विपरीत छ ।
 
दोहास्थित नेपाली राजदुतावासको तथ्यांक अनुसार यो बर्षको जुन ४ देखि अगस्ट ७ -तीन महिना) को बीचमा ४४ कामदारको मृत्यु भएको छ । ती मध्ये अधिकांश हर्ट अट्याक,मुटु रोग र कार्यस्थलमा हुने दुर्घटनाको कारण मृत्युको मुखमा पुगेका हुन् ।
 
अनुसन्धानबाट देखिएको छ :
-विश्व कपको तयारीको लागि संरचना निर्माणमा धेरै कामदार जबरजस्ती काममा लगाइएका छन्,
-काम छाडेर जान्छन् भनेर कयौं कामदारको तलब महिनौदेखि रोकिएका छन्,
-कामदारलाई गैरकानुनी देखाउन केही मालिकहरुले कम्पनीमा काम गरेको परिचय पत्र नबनाउने र पासपोर्टसमेत नियन्त्रणमा लिने गरेका छन्,
-केही कामदारहरुले उनीहरुले मरुभूमीमा पानीसमेत राम्ररी खान नपाएको गुनासो गर्छन्,
-यातना सहन नसकी ३० नेपाली कामदार दोहास्थित दुतावासको शरणमा छन्,
 
शोषणको यो अवस्थाको यो जालो नेपालको गरिब गाउँदेखि कतारसम्म जोडिएको छ । यसले एउटा धनी मध्येको राष्ट्रले विश्वकप तयारीको लागि भन्दै एउटा गरिब देशका कामदारको शोषण गरेको तस्विर देखिन्छ ।
‘हामी काम छाड्न चाहन्छौं तर कम्पनीले दिदैन’, लुसेल सिटी (जहाँ ९० हजार दर्शक क्षमताको रंगशाला निर्माण हुँदैछ, जहाँ विश्वकपको फाईनल हुनेछ) भेडलभमन्टमा काम गर्ने नेपाली कामदारले भने,’कम्पनीले गरेको व्यबहार देख्दा रिस उठ्छ, तर  निरिह छु । मलाई यहाँ आएकोमा पछुतो छ तर के गर्न सक्छू र म ? जीवन धान्न हामीलाई यहाँ आउनुपर्ने बाध्यता पर्यो तर भाग्यले साथ दिएन् ।’
 
गार्जियनको अनुसन्धानले के पनि देखाएको छ भने कतारको निर्माण कम्पनीमा काम गर्ने कामदारहरुले एउटै कोठामा १२ जनासम्म सुत्नुपर्ने अवस्था छ । यस्तो दयनीय अवस्थाको आवासमा बस्नुपर्दा कतिपयको स्वास्थ्यमा समस्या देखिएको छ । कतिपयले आफूलाई बिना तलब काममा लगाइएको र खानको लागि समेत माग्नुपर्ने अवस्थामा पुर्याइएको बताए ।
 
‘हामीले १२ घण्टा काम गरेर पनि भोैकै सुत्नु परेको छ’, रामकुमार महरा, २७, भन्छन्,’म्यानेजरलाई कुरा राख्दा मलाई लात्ताले भुकरेर क्याम्पबाट बाहिर निकालिदियो र खानेकुरा पनि दिएनन् । मैले अरु कामदारको खानेकुरा मागेर खानुपर्यो ।’
 
नेपालबाट आएका प्राय सबै कामदारहरु ऋण काढेर यहाँ आएका छन् । दलालले पैसा खाएर मिलाइदिएको जागिरका लागि उनीहरु यहाँ आएका हुन् । उनीहरुले लिएको ऋण तिर्नेपर्ने बाध्यता, ज्याला नपाउने अवस्था, उनीहरुको कागजपत्रको जफत र ईच्छाअनुसार काम छाड्न नपाउने अवस्थाले आधुनिक दासताको झल्को दिन्छ । विश्वभर २ करोड भन्दा बढी मानिस यस्तो अवस्थाले पीडित छन् । यहाँ शोषणको यस्तो अवस्था छ कि कतारको लागि नेपाली राजदुत मायाकुमारी शर्माले केही समयअघि कतारलाई खुला जेलको संज्ञा दिएकी थिइन् ।
 
विश्वमै बढी विदेशी कामदार भित्र्याउने राष्ट्रमध्ये कतार पनि पर्छ । उसका ९० प्रतिशत कामदार आयातित छन् । उसले अझैं १५ लाख विदेशी कामदार भित्र्याउने तयारी गर्दैछ, जसले विश्वकपको तयारीको लागि गरिने रंगशाला, रोडलगायत भौतिक पूर्वाधार निर्माणको लागि काम गर्नेछन् । यहाँ रहेका मध्ये ४० प्रतिशत कामदार नेपाली छन् ।
गार्जियनले तयार पारेको वृत्तचित्र :

 
source: ekantipur

%d bloggers like this: