Thu. Apr 25th, 2024

भनिन्छ– प्रेमको बन्धन सबैभन्दा बलियो हुन्छ । ‘ब्रेक अप’को असर पनि त्योभन्दा कम खतरनाक भने हुँदैन । फिल्मी क्षेत्रमा आबद्ध व्यक्तिप्रति आम मानिसको बढी चासो हुने भएकाले उनीहरूबीचको ‘प्याच अप’ र ‘ब्रेक अप’ले बढी चर्चा पाउने गरेको छ । 
‘ब्रेक अप’ भएपछि अभिनेता–अभिनेत्री भूपूको अघि नपरूँ भन्ने त सोच्छन् नै, साथै एकअर्कासँग कहिल्यै फिल्ममा काम गर्नु नपरोस् भन्ने कामना पनि गर्छन् । एक समय बलिउड अभिनेता जोन अब्राहम र अभिनेत्री बिपाशा बसुको जोडीलाई हलिउड जोडी ब्राड पिट र एन्जेलिना जोलीको जस्तै दिगो एवम् आत्मीय मानिन्थ्यो । तर, अन्ततः उनीहरूबीच ‘ब्रेक अप’ भयो । हिजोका धनेश जोडी पानी बाराबारको स्थितिमा पुग्यो । बिपाशाले सार्वजनिक समारोहमा जोनबारे प्रसंग उठ्दा ‘त्यो मान्छेलाई म चिन्दिनँ’ भन्नेसम्मको रुखो भनाइ राखिन् । यसले उनीहरूको ‘पर्सनल’ लाइफ ‘प्रोफेसनल लाइफ’माथि हाबी भएको पुष्टि भयो ।
तर, फिल्मी क्षेत्रमा व्यवसायप्रति प्रतिबद्ध मानिस पनि टन्नै छन्, जसले ‘ब्रेक अप’ पछि पनि आफ्ना भूपूहरूसँग ‘प्रोफेसनल’ सम्बन्ध मेन्टेन गर्ने गरेका छन् । यस्तो जोडीको सूचीमा अभिनेता सलमान खान र कट्रिना कैफको जोडी पनि पर्छ । सन् २००८ मा उनीहरूबीच ‘ब्रेक अप’ भएको थियो । तर, सम्बन्धमा आएको दरारबाट व्यावसायिक जीवनमा दख्खल पर्न दिएनन्, दुवैले । सन् २०१२ मा उनीहरू ‘एक था टाइगर’मा सँगै देखा परे । अतुल अग्निहोत्रीको आगामी फिल्ममा पनि यही जोडीले काम गर्ने चर्चा चलेको छ ।
दीपिका पादुकोण र करिना कपुर पनि प्रतिबद्ध व्यावसायिक फिल्मकर्मीमा पर्छन् । सन् २००९ मा दीपिका र रणवीर कपुरबीच ‘ब्रेक अप’ भयो । लगत्तै उनीहरूले एकअर्काप्रति सार्वजनिक समारोहबाटै विषवमन गरे । तर, जब व्यावसायिक प्रसंग आयो, उनीहरू मिलिहाले । सन् २०१३ मा यस जोडीले ‘ये जवानी हे दिवानी’ मा सँगै काम ग¥यो । साजिद नाडियाडवालाको आगामी फिल्मा पनि यही जोडीले काम गर्ने बताइएको छ ।
‘फिदा’ फिल्ममा सँगै काम गर्दा करिना र शाहिद कपुरबीच पिरती बसेको थियो । सन् २००७ मा उनीहरूको ब्रेक अप भयो । तर, त्यही साल उनीहरूले ‘जब वी मेट’ मा सँगै काम गरे, जुन फिल्मले दुवैलाई ठूलो चर्चा दिलायो ।
बलिउड अभिनेत्री प्रीति जिन्टा र व्यापारी नेस वाडियाबीच अफेयर थियो । अफेयर चलेकै बेला दुवैले पञ्जाब आइपिएल क्रिकेट टिमको संयुक्त साझेदारको जिम्मेवारी बहन गरे । उनीहरूबीच ब्रेक अप भइसकेको छ । यद्यपि, दुवै जना अझै पनि क्रिकेट टिम चलाइरहेका छन् ।
हलिउडमा यस्ता व्यावसायिक कलकारको संख्या अझ बढी छ । ग्विनेथ पाल्ट्रो र बेन अफ्लेकको जोडी सन् २००० मा छुट्टिएको थियो । तर, त्यही साल बनेको फिल्म ‘बाउन्स’मा दुवैले सँगै काम गरेका थिए । ड्रिउ ब्यारिमोर र जस्टिन लङको प्रेम सम्बन्ध सन् २००८ मा टुटेको थियो । त्यसको दुई वर्षपछि उनीहरूले ‘गोइङ द डिस्ट्यान्स’ मा सँगै काम गरेका थिए । त्यसैगरी, क्यामरुन डियाज र जस्टिन टिम्बरलेक सन् २००७ मा छुट्टिँदा उनीहरूले आफ्ना निकटवर्तीसँग एकअर्काका कुरा काटे । तर, सँगै काम गर्ने अवसर आएपछि दुवैले हार्दिकताका साथ स्वीकार गरे । सन् २०११ मा उनीहरू ‘ब्याड टिचर’मा सँगै देखापरे ।
हलिउड र बलिउडका यी कलाकारले व्यावसायिकताको संस्कार बसाउन खोजेका भए पनि एकपटक सम्बन्ध बिग्रिएपछि जीवनभर सँगै काम नगर्ने खोक्रो अडानमा रमाउने कलाकार पनि कम छैनन् ।

%d bloggers like this: