Sat. Aug 13th, 2022

डिबी खड्का

फेसबुक साइनआउट गरेर सुत्ने तरर्खरमा थिएँ, फ्रेन्ड रिक्वेस्टमा पिलिक्क रातो देखियो । एकछिन त आ होस् भोली हेरौंला जस्तो लागेको थियो तर मनले मानेन । नाम र तस्विर हेरेको मन भरंग भयो । अचेल फेक अकाउन्टबाट पनि त्यत्तिकै रिक्वेस्ट आउँछन् त्यसैले ध्यान दिनुपर्छ जस्तो लागेर कन्फर्म गर्नुअघि पूरै प्रोफाइल चेक गरें, तस्बिर हेरें । सब ठिकठाक छ । एड गरियो ।

कुनै काम हुनेअघि संकेत देखिन्छ भन्छन् हो जस्तो लाग्यो मलाई । अहिले जसले फ्रेन्ड्स रिक्वेस्ट पठाएकी छे उसैलाई अघि दुईघन्टा हेरेका थियौं साथीले र मैले । म त उसको फ्यानै थिएँ, साथीले पनि खुब मन पर्छे भन्थ्यो । ऊ अर्थात् नेपालमा अहिले नाम चलेकी हिरोइन । बेरोजगार बनेर परदेशिएका मजस्ता युवाका लागि आफ्ना मान्छेसँग जोडिने सेतु बनेको फेसबुक । फेसबुकमा मन परेको मान्छे वा आफन्तलाई एड गर्नु भनेका एकै घरको फ्ल्याटमा बसाइँ सर्नुजत्तिकै लाग्छ प्रदेशमा । उसलाई फेसबुकमा एड गरेपछि निकै मन पराएको हिरोइन मेरै घरको तल्लो फ्ल्याटमा बसाइँ सरेजस्तै लाग्यो मलाई ।

अनलाइन थिई तर बोलाउने आँट गर्नै सकिनँ । मलाई के भनेर सम्बोधन गर्ने भन्नेमा कन्फ्युज भयो । रिक्वेस्ट पठाउनेले बोलाएको भए पनि हुने नि जस्तो लाग्यो । तर, उसले वास्ता गरिनँ । मैले उसको म्यासेज बक्समा ‘मलाई फेसबुक साथी बनाएकोमा धन्यबाद’ लेखि पठाएँ । उसले ‘डब्लु सी’ लेखी ।

गुड मर्निङ ! बिहानै फेसबुकमा हार्दिकता वा“ड्न भ्याइसकिछ । मैले फेसबुक खोल्दा २० भन्दा बढी कमेन्ट र डेढसय लाइक भइसकेका थिए । त्यसैले ऊसको फेसबुकमा साथी रहेका सबैलाई थियो त्यो म्यासेज । तर, किन हो मलाई एड गरेदेखि उसले लेखेका प्रत्यक शन्देश मेरा लागि हुन् भन्ने महशुस हुन थालेको छ । उसका प्रत्यक शन्देशको कमेन्ट गर्ने मेरो दिनचर्या नै बनेको छ । उसले पनि मेरो कमेन्टको मुन्तिर रहेको लाइक बटन थिचेर रेस्पोन्स गरिरहेकै छे ।

अचेल फेसबुक चलाउने समय निकै बढेको छ । केही दिनदेखि च्याट पनि हुन थालेको छ । उसले ‘हाउ आर यू’ भन्दा मलाई ‘आइ लभ यू’ भनेको भन्दा कम आत्मीय लाग्न थालेको छ । दिनदिनै जसो हुने च्याटिङले उससँग नेभेटेको भएपनि वर्षाैंदेखि चिनेको साथीझैं लाग्न थालेकी छे । त्यसैले च्याटमै सोधिहालें, ‘मलाई कसरी एड गर्नुभयो ?’ उसले भनी, ‘तपार्इँजस्तो हेन्डसम मान्छेलाई जसले पनि एड गर्छ ।’ मलाई अलिअलि हो जस्तो लाग्यो । किनभने साथीभाइले हिरो बन् भनेको अहिले हो र ? तर, पाँचथरमा जन्मेको मैले हिरो बन्ने मेलोमेसै पाइनँ । दुबई पुलिसले पनि लुरेखुरे कहाँ लिन्छ र ? मेरो खाइलाग्दो ज्यान भएरै यहाँ जागीर पाएको हुँ । फेसबुक निर्माणकर्ता मार्क जुकरबर्गलाई धेरै–धेरै धन्यबाद भन्न मन लाग्यो । कहाँ कि ऊ, कहाँको म आज फेसबुक लमी भएको छ ।

दुबई प्रहरीमा भर्ती भएपछि अस्ति भर्खर घर जान पाएको थिएँ । फेरि कहिले छुट्टी पाइएला भन्ने लाग्न थालिसक्यो उससँगको कुराकानीले । बेलुका ९ बजेपछि फेसबुकमा उसँग च्याट गर्ने रुटिन नै बनेको छ अचेल । एकदुई चोटी ‘स्काइपमा कुरा गरौं रमाइलो हुन्छ’ भनेको थिएँ । फोन नम्बर पनि मागेको थिएँ । ‘अर्काे भ्यालेन्टाइन्स डेमा सरप्राइज भेट गर्ने, पहिल्यै भिडियोमा देखिसकेपछि त मजै आउँदैन, फोन पनि नगरौं’ भनी । मलाई पनि हो जस्तो लाग्यो । भ्यालेन्टाइन्स डे आउन ६ महिना बाँकी त थियो ।
आमाले ‘भगवान र भाग्यको कहिल्यै अविश्वास नगर्नू’ भन्नुहुन्थ्यो । तर, मलाई चाहिँ भगवानप्रति कहिल्यै विश्वास लागेन । आमाले मन्दिरबाट फर्किंदा लगाइदिएको अक्षता पनि उहाँले नदेख्ने गरी पुछिदिन्थें । तर, केही समयदेखि म गजबको भगवान भक्त भएको छु । किनभने भगवानले नै जुराइदियो उसँगको दोस्ति ! उसले फेसबुकमा गणेशको तस्बिर अपलोड गरेको दिन मंगलवार हो भन्ने थाहा हुन्छ भने बिहीवार ‘बंगलामुखी माताकी जय’ लेख्छे ।

उसँग दोस्ति गरेको दुई महिना भएको हुँदो एक दिन फेसबुकमा आइफोन गुमाएको दुःखद समाचार पोष्ट गरी । मैले संवेदना ब्यक्त गरे । बेलुका दुःखी हुँदै च्याट गरी । भित्रभित्रै लाग्यो, ‘एउटा आइफोन गिफ्ट दिऊँ ।’ डेढलाख अस्ति घर पठाएपछि मसँग ९३ हजार बाँकी थियो । फेरि घरबाट बाबाले आजै फोन गरेर ‘पुरानो घर उल्टियो है केटा, नयाँ बनाउने भइयो । खर्चपानीको जोहो गर्दै गर । जहाँतहीँ नमास्’ भन्नुभएको थियो । त्यसैले त्यस्तो भन्ने आँटै गर्न सकिनँ । उसैले कुरा झिकी, ‘एउटा मोबाइल पठाइदेऊ न प्लिज ।’ लौ बर्बाद ! हेरौंला भनें । घुर्की लगाई, ‘त्यति पनि दिन नसक्नेसँग के को लभ गर्नु ।’ लाजैले भएपनि पठाइदिन्छु भन्नै प¥यो । बागलुङबाट आएको साथी श्यामकृष्ण पर्सि नेपाल जान्छु भन्दै थियो । त्यसैले उसैको हातमा पठाउने निर्णय गरें ।

एटिएममा कार्ड घुसाउनुअघि हात लगलग कामें । बुवाको बचन सम्झें । तर, प्रेमको अघि बुवा बोली खास लागेनन् । जे पर्ला भन्दै एउटा आइफोन किनियो । उसको ठेगाना मागें । आफू मुस्ताङतिर फिल्मको सुटिङमा जाने भन्दै फूपूको नम्बर दिई । अनलाइन पनि हेरेको थिएँ । उसको फिल्म मुस्ताङमा सुटिङ हुने समाचार । त्यसैले साथीलाई फुपुको नम्बर दिएर आइफोन दिएँ । मनमनै खुशी भएँ । एउटा चर्चित कलाकार प्रेमिका बनाउने भाग्य यो मोरो श्यामकृष्णेको हुन पनि त प¥यो नि ! उसले बाग्लुगे लवजमा ‘कल्लाई यस्तो मंगो फुन पठादिन ला हौ र’ भन्याथ्यो । ‘साथीलाई हो, उसकी आमा लिन आउँछे दिनू’ भनि पठाएँं ।

श्यामकृष्णेले एउटा अधबैंशेलाई फोन थमाएँ भनेर फोन गरेको आधा घन्टामै उसको स्टाटसमा पोष्ट भो, ‘हुर्रे अब मसँग पनि आइफोन ।’ म खुशीले गद्गद् भएँ । दुईदिन भइसक्यो ऊ अनलाइन आइन । ‘आइफोन पठाइदिएकोमा धन्यवाद एण्ड लभ यू’ भन्ने म्यासेज आउला भनेर कुरेको थिएँ । म्यासेज पठाएँ रिप्लाई आएन । पाँच दिनपछि म्यासेज आयो, ‘यो तपाईँले चिनेको हिरोइनले चलाएको फेसबुक एकाउन्ट होइन, आजैदेखि यसलाई म डिएक्टिभेट गर्दैछु, । अँ आइफोन पठाइदिएकामा धन्यवाद ।’ मलाई रिंगाटा चल्यो । ड्युटीमा जानै मन थिएन । तर, परदेशमा त्यस्तो गर्न पनि भएन । तपाईँलाई थाहा छ, तीन दिन सुत्नै सकिनँ ।

यति भन्दै गर्दा बुद्धिबहादुर लिम्बूले धेरैपटक आफ्नो बुद्धिलाई धिक्का¥यो । अन्तमा भन्यो, ‘पैसा कमाएपछि एकदिन हिरो चाहिँ हुन्छु ।’
(कुराकानीमा आधारित)