Thu. Jan 23rd, 2025
बनेपा –ओखलढुंगाको घुर्मीबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक जीप सोमबार बिहान सिन्धुलीको दुम्जा–१, मजुवामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। ४ जना गम्भीर घाइते र बाँकी ४ जना सामान्य घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सिन्धुली प्रहरीलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार जीपमा ११ जना सवार थिए। ज१ज १८९ नम्बरको सिटी भिलेज यातायातको जीपमा उनीहरु काठमाडौंतर्फ आउँदै थिए। जीप अनियन्त्रित भइ पल्टेको प्रहरीको भनाई छ।
मृत्यु हुनेहरुमा ओखलढुंगाका ३५ वर्षीय हरिबहादुर थापा, सोही जिल्ला क्यानम गाविसका ५० वर्षीय नरबहादुर सार्की र उनकै १८ वर्षीया छोरी रिता सार्की रहेका छन्।
यस्तै, गम्भीर घाइते हुनेहरुमा जीप चालक सिन्धुपाल्चोकका आशीष श्रेष्ठ र यात्रुहरु ओखलढुंगा, कुन्बासाँधका विनोद कार्की, सोही स्थानका दीपक श्रेष्ठ र खोटाङका रामचन्द्र राई छन्।
सामान्य घाइते भएका यात्रुहरुमा ओखलढुंगाका यमबहादुर सुनुवार, टोकबहादुर श्रेष्ठ, रवि कार्की र नन्दकुमारी राजभण्डारी रहेका छन्।
घाइतेहरुलाई उपचारका लागि धुलिखेल र काठमाडौं लगिएको प्रहरीले जानकारी दिएको छ।