Wed. Oct 23rd, 2024

नेकपा-माओवादीका कार्यकर्ताको बन्दको अवज्ञा गरेको भन्दै यात्रुवाहक बसमा आगजनी गरेका छन । काठमाडौबाट मेलम्ची जाँदै गरेको  बा. २ ख ५६७२ नम्बरको यात्रु बाहक बस धुलीखेलमा राेकेर आगजनी गरेका हुन् । बसमा सवार यात्रु सुरक्षित छन । बसमा लगेको आगो नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ । त्यसैगरी एक पत्रकार माथि बन्दकर्ताले आक्रमण गरेका छन ।  बन्दको अवज्ञा गरेर मोटरसाइकल चलाएको भन्दै पत्रकार देवराज केसीमाथि उनीहरुले बनेपामा आक्रमण गरेका थिए । आक्रमणबाट केसीको आँखा नजिकै चोट लगेको छ ।

 
आगजनी गरिएको बस ।
पत्रकार माथि बन्दकर्ताले आक्रमण गरे लग्त्तै स्थानीय बासिन्दा बन्दको प्रतिकारमा उत्रिएका थिए ।  नेकपा-माओवादीका कार्यकर्ताहरुले स्थानीयको प्रतिकारको प्रतिरोध गर्न  हातमा रड बोकेर सडकमा उत्रिएपछि प्रहरीले उनीहरुलाई लखेटेको थियो ।

ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक आश्विन कुमार गिरीका अनुसार रड बोक्ने आधा दर्जन भन्दा बढी बन्दकर्तालाई पक्राउ गरिएको छ ।

बन्दको प्रभावले जनजिवन पूर्ण रुपमा प्रभावित बनेको छ । भाडाका सवारी साधनहरु चलेका छैनन् । बनेपामा केही पसलहरु भने खुुलेका छन ।

प्रहरीले शान्तिसुरक्षा खलल पार्ने काम गरेको आरोपमा  नेकपा-माओवादीका केन्द्रिय सदस्य चुडामणी गौतम, जिल्ला कमिटी सहसचिव गोपाल घिमिरे, क्षेत्र.न. ४ का इञ्र्चाज गिता रसाइली, अनेरास्ववियू क्रान्तिकारीका जिल्ला उपाध्यक्ष सागर मिजार, राष्ट्रिय युवा जनस्वयम् सेवक नेपालका जिल्ला  इञ्र्चाज खड्ग बहादुर श्रेष्ठ, नेता सागर मैनाली,  लगायतका नेताहरुलाई पक्राउ गरेको छ ।