Wed. Apr 24th, 2024

डेढ दशक नेपाली फिल्म दुनियाँमा राज गरेकी निरुता सिंह तीन वर्षदेखि नेपालमा छैनन् । फिल्मसँगै जोवन साटेकी उनी करिब दुई दशकअघि ‘सपना भएर आँखामा आउने को होला’ भन्दै चलचित्र ‘दक्षिणा’ को गीत नाचेकी अभिनेत्री निरुता सिंहले अहिलेसम्म पनि आँखामा बस्ने कोही पाएकी पनि छैनन् । ‘दक्षिणा’ मा मुख्य भूमिकामा अभिनय गरेर रजतपटमा डेब्यु गरेकी निरुता अहिले पनि ‘सिंगल’ छिन् । पहिलोपटक रंगीन पर्दामा ‘सपना भएर आँखामा आउने को होला ?’ भन्दै छमछमी नाचेकी निरुताले न आफ्नो मनमा बस्ने कोही पाएकी छन् न त आफ्नो मन चोरी लानेलाई नै । त्यसैले त उनी भन्छिन्, ‘जन्म, मृत्यु र लगन माथिबाटै लेखेको हुनुपर्दोरहेछ ।’
लामो समयपछि यो साता राजधानीमा भेटिएकी निरुताले भनिन्, ‘म नितान्त सिंगल छु । जन्म, लगन र मृत्यु माथिदेखि नै लेखिएको हुनुपर्ने रहेछ ।’ बिहे भन्ने कुरा आफूले सोचेर मात्र नहुने बताउँदै निरुताले भनिन्, ‘अझै कहिलेसम्म सिंगल बस्छु, मलाई नै थाहा छैन ।’ केही समयअघि निरुताले घरजम गरी भन्ने समाचारसमेत आएको थियो । जसलाई उनले पनि स्वीकार्दै भनिन्, ‘हो, मैले पनि सुनेकी थिएँ, मलाई नै थाहा नभएको हल्ला सुन्दा अचम्मै लाग्यो ।’ हिजोआज आफ्नोबारे चल्ने हल्ला वास्ता गर्नै छाडेको समेत उनले बताइन् । प्रेम र विवाहबारे निकै खुलेकी निरुताले भनिन्, ‘मलाई त बिहे गर्नसमेत मन लाग्दैन । अरूको बैवाहिक जीवनबारे सुन्दैमा विरक्त लागेर आउँछ । त्यसैले प्रेम–स्रेम गर्नेतिर ध्यान गएको छैन ।’
चार वर्षयता मुम्बई र सिलगढी बस्दै आएकी अभिनेत्री निरुता नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्न गइरहेको ‘नेफ्टा अवार्ड’ का लागि शनिबार काठमाडौं आइपुगेकी हुन् । उनले छोटो समयका लागि काठमाडौं आएकी बताइन् । उनले भनिन्, ‘शनिबार मात्र आएकी हुँ, आउँदो शनिबार फर्किछु ।’ मुम्बई र सिलगुढीमा बस्दै आएकी निरुताले भनिन्, ‘मेरो चार वर्ष मुम्बई–सिलगुढी ओहोर–दोहोर गर्दैमा बित्यो ।’ उनले नेफ्टा अवार्डमा आफू अभिनीत पाँचवटा गीतमा नृत्य गर्ने बताइन् । बानेश्वरस्थित अल्फा बेटा भवनमा कार्यक्रमका लागि नृत्य रिहर्सल गरिरहेको अवस्थामा भेटिएकी निरुताले भनिन्, ‘यसपटक म नेफ्टाकै तयारी गर्न आएकी हुँ ।’ निरुताालाई नृत्य निर्देशक कमल राईले रिहर्सल गराइरहेका छन् । ‘उहाँ मेरो सुरुदेखिकै गुरु हुनुहन्छ’ चलचित्र दक्षिणामा समेत सँगै काम गरेको स्मरण गर्दै निरुताले भनिन्, ‘मनोज केसी दाइसँग पनि उस्तै पुरानो हाम्रो सम्बन्ध हो । केसी नेफ्टा अध्यक्ष हुन् । यसपटक नेफ्टा अवार्ड मलेसियामा हुँदै छ ।
मुम्बईमा बसेर पनि बलिउड फिल्मतिर आफ्नो ध्यान नगएको निरुताले सुनाइन् । उनले भनिन्, ‘बलिउड फिल्ममा अभिनय गर्ने सोच पनि छैन । बरु चाँडै सहायक निर्देशक भएर काम गर्न लागेकी छु । मेरो उद्देश्य भनेकै निर्देशक बन्नु हो ।’ बलिउडमा निर्देशक सिकेर नेपाली चलचित्र निर्देशन गर्ने उनको लक्ष्य छ । ‘म नेपाली चलचित्र क्षेत्रलाई कहिल्यै बिर्सन सक्दिनँ,’ उनले भनिन्, ‘त्यसैले मेरो पहिलो निर्देशित चलचित्र नेपाली नै हुनेछ ।’
पछिल्लो समय नेपाली चलचित्र ‘ग्याम्बलर’ र ‘फर्की आऊ’ मा देखिएकी निरुता राम्रो चलचित्रमा अफर आए अभिनय गर्न तयार रहेको बताइन् । कुनै समय नेपाली चलचित्र क्षेत्रकै महँगी अभिनेत्री कहलिएकी निरुताले भनिन्, ‘अफर आयो भन्दैमा जस्तो पायो, उस्तै काम गर्दिनँ ।’ उनले नयाँ प्रतिभाहरूलाई अवसर दिन पनि अभिनय क्षेत्रबाट टाढा हुँदै गएको बताइन् । ‘अहिलेका नयाँ नायिका ट्यान्लेन्ट छन्, पहिलो हाम्रो पालामा त्यस्तो थिएन’ फ्ल्यासब्याकमा फर्किँदै निरुताले भनिन्, ‘टेलिभिजन पनि एउटा मात्र थियो । चलचित्रसम्बन्धी ‘चित्रलहर’बाहेक अरू कार्यक्रम नै थिएन । तर, अहिले त्यस्तो अवस्था छैन ।’ तैपनि आफूले कहिल्यै नेपाली चलचित्र क्षेत्रमा संघर्ष गर्नु नपरेको बताइन् । उनले विगत सम्झिँदै भनिन्, ‘स्कुल पढ्दा–पढ्दै जामा लगाएर आएकी हुँ, सुरुमा यस्ती केटी पनि फिल्ममा हिरोइन बन्छ भन्थे, नेपाली दर्शकले माया गरे । दक्षिणापछि लगातार काम पाएँ । त्यसैले म आफूलाई भाग्यमानी ठान्छु ।’

%d bloggers like this: