Sat. Apr 20th, 2024

विगत चार वर्षदेखि गजल प्रतियोगिता गर्दै आएको रापती समाज काठमाडौंले यस  वर्ष १४८ औं मोतिजयन्तिको अवसर पारेर नेपालमै पहिलो पटक गजल गायन प्रतियोगिता गरेको छ । जसमा देशभरका गजल अनुरागीहरु गलामार्फत भिडेका थिए । रसियन कल्चर सेन्टर काठमाडौंमा प्रतियोगीता भएको थियो । मोतिरामको पथलाई अझै फराकिलो बनाउदै लैजान गजल गायन कार्यक्रम गरिएको समाजका महासचिव तथा गजलकार शशि शर्मा मजगैंयाले बताए ।
प्रतिष्पर्धाबाट सरद अधिकारी ‘सागर’ पहिलो भए । सो गजलमा चण्डीप्रसाद काफ्लेको संगीत र शब्द पुरुषोत्तम  ढुंगेलको थियो । शुभाषचन्द्र जोशी दोस्रो भए । उनले पारस नेपालले लेखेका शब्द र विनय बर्माको संगीतमा गाएका थिए । जलजला परियार तेस्रो भइन् । उनले भोजराज घिमिरेको शब्दमा मनोजराजले संगीत भरेको गजल गाइन् र सान्तवना विपिन घिमिरेले पाए जसमा शब्द रमेश बीजी र संगीत स्वयँ घिमिरेको थियो । त्यस अवसरमा सर्वोत्कृष्ट संगीतकार विनय वर्मा र सर्वोत्कृष्ट गजलकार रवी प्रञ्जल भएका थिए ।
सोही कार्यक्रममा रापतीको गजल क्षेत्रमा उल्लेख्य योगदान गरे वाफत दाङका गजलकार कृष्णराज सर्वहारीलाई सम्मान हित अभिनन्दन गरिएको थियो । कार्यक्रममा गजलकार ज्ञानुवाकर पौडेलले रापती समाजले गरेको गजल गायन प्रतिस्पर्धाले नेपाली गजल गायनमा एउटा इतिहास रच्ने काम गरेका टिप्पणी गरे । उक्त प्रगियोगिताको निर्णायकमा गायिका कुन्ति मोक्तान, संगीतकार राजु सिंह तथा गजलकार देवी नेपाल थिए ।

%d bloggers like this: