Sun. Jan 16th, 2022

विनोद बाजुराली, गायक/एरेञ्जर
बाँसुरीको धुनसँग कहिले नजिकिएँ थाहा छैन। तर, बाँसुरी बजाउन थालेपछि कहिले त खाना खान पनि बिर्सिन्थेँ म भन्नुहुन्थ्यो आमा। गाइबाख्रा चराउन जाँदा होस् वा स्कुल, बाँसुरी हातबाट टुट्थेन। गाउने रहर त झन् सानैदेखि थियो। संगीतका सबै विधामा राम्रो गर्न थालेपछि स्कुलका साँस्कृतिक कार्यक्रमको नेतृत्व मलाई दिइन थालियो। निम्न आय भएको परिवारमा जन्मिएको भएकाले पढाइ र कृषिकर्मबाट जोगिएको समय साँस्कृतिक कार्यक्रमका लागि दिन्थेँ। धेरैले मेरो प्रतिभाको कदर गरेपनि यसलाई व्यवसायिक रुप दिने ठाउँ नै थिएन बाजुरामा।
एकदिन मेरो प्रतिभाबाट प्रभावित केही साथीले मलाई एल्बम निकाल्न सुझाए। तर, मसँग बाजुराबाट गाडी चढेर धनगढी आउने पैसा पनि थिएन, कहाँबाट ल्याउनु एल्बम निकाल्ने पैसा? साथीहरूले नै आफूसँग भएको केही पैसा र हामीले बनाएको संस्थामा भएको पैसा लिएर म एल्बम निकाल्न आएँ। विसं २०५९ सालमा देउडा गीत संग्रह …आँशुको नासो’ बजारमा ल्याएँ। त्यतिबेला क्यासेट राम्रै बिक्थ्यो तर क्यासेट बिकेन भनियो। पछि थाहा भो मेरोसँगै क्यासेट निकालेका अरुले आफ्नोबाहेक कसैको नबेच्नु भनेर बिक्रेतालाई किनिसकेका रहेछन्। पहिलो एल्बम नै असफल भएपछि झन् ठूलो संकट आइलाग्यो। घर फर्किदा पनि ऋण गरेको त्यो पैसा तिर्ने अवस्था थिएन। त्यो भन्दा केही काम गर्दै पढ्नुपर्ला भनेर पोखरा पुगेँ, चिनजानका साथी जनक बोहरासँग। उहाँ पिएन क्याम्पसमा राजनीति पनि गर्नुहुँदो रहेछ। उहाँले नै होस्टलमा बस्ने ब्यवस्था मिलाइदिनुभो र खर्चका लागि उहाँले राजनीति गर्ने संगठनका ब्यानर र नारा लेख्ने काम दिलाउनुभयो। त्यतिबेला तत्कालीन राजा ज्ञानेन्द्र शाहका बिरुद्ध चर्काे आन्दोलन चलिरहेको थियो। त्यही आन्दोलनको एक कार्यक्रममा निरंकुसताविरुद्ध एउटा गीत बनाएर गाएको थिएँ। पछि कार्यक्रम भएको गीत गाउन मलाई खोजिन थालियो। बिहान पढ्ने दिउसो निरंकुश राजतन्त्रविरुद्ध गीत गाउन हिड्न थालेपछि खर्च जुटाउनै मुस्किल भयो। त्यसपछि पोखराकै एउटा दोहोरी सा“झमा साथीकै सहयोगले गीत बाजा बजाउने काम पाएँ। यसले पोखराको बसाइका लागि चाहिने खर्च जुटाउन सहयोग गर्‍यो। त्यसपछि रेकर्डिङ स्टुडियोमा रेकर्डिस्टका रुपमा काम थालेर संगीत संयोजन गर्न थालेँ। काम गर्न सक्छु भन्ने पूर्ण विश्वमस थियो तर कतिजना मेरो थर बाजुराली देखेर ‘बाजुराजस्तो दुर्गमको त रहेछ के राम्रो गर्ला’ भन्दै काम गराउथेनन्।
मैले एरेञ्ज गरेका गीत एकपछि गर्दै अर्काे हिट हुन थाले। त्यसपछि भने मसँग गीत एरेञ्ज गराउनेका घुइचो लाग्न थाल्यो। राम्रै गर्न सक्छु भन्ने लाग्थ्यो, त्यसैले अब राजधानीमै केही गर्नुपर्छ भनेर ०६३ सालमा काठमाडौ“ आएँ। काठमाडौ“मा आएर प्रिज्मा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्डिस्टको काम गरेँ। फुर्सदमा म्युजिक एरेञ्ज गर्थेँ। यही क्रममा मैलै संगीत संयोजन गरेको गीत  ‘बिर्सियौकि कुन्नी’ भन्ने गीत सुपरहिट भयो। यो गीतमा संगीत एरेञ्जको पाटोमा नयाँपन दिन खोजेको थिएँ, त्यो रुचाइयो। त्यसपछि त दोहोरी गीतको म्युजिक एरेञ्ज गराउनेहरू लाइन लाग्न थाले। गायक बन्ने सपनाले मलाई एरेञ्जमा सफल बनाएको थियो। यता सफलता प्राप्त भएपछि आफ्नै संकलन र गायनमा पनि गीत बजारमा ल्याउन थालेँ। …भीरको घाँस काट्न सक्छ्यौ र’, ‘कुखुरी खोरैमा कराउने’ लगायतका गीतले सफल गायक पनि बनाए। ‘रुदै रुदै जान्छु मेलामा’, ‘कसरी हो यो दशै“ मनाउने’ लगायतका गीतले सफल संगीतकार बनाए। यो वर्षको लोकदोहोरी अवार्डमा ‘उत्कृष्ठ म्युजिक एरेञ्जर’को पुरस्कार पनि पाएँ।