Fri. Mar 29th, 2024

धेरै युवतीका सपनाका राजकुमार महानायक राजेश हमालले कसैको ‘पति’ बन्ने अवसर अहिलेसम्म पाएका छैनन् । केही समयअघि तीजको म्युजिक भिडियोमा आफ्नो पति बनाएकी अविवाहित गायिका सुनीता दुलालले मंगलवार उनलाई फेरि ‘पति’ बनाइन् । उनले राजेशलाई आफ्नो नयाँ एल्बम ‘आयो हरितालिका’ विमोचन सभाका ‘पति’ अर्थात् सभापति बनाएकी हुन् ।
प्रमुख अतिथिका रूपमा यस्ता धेरै कार्यक्रममा पुगेका हमालले आफ्नो नामको अगाडि पति लागेको अनुभव पहिलोपल्ट यही कार्यक्रममार्फत गरेका छन् । पछिल्ला तीन वर्ष कुनै न कुनै रूपमा आफू तीजमा सरिक भएको बताउँदै यसलाई विवाहको पूर्वसन्ध्याको ‘रिहर्सल’का रूपमा लिएको उनले बताए । उनले ठट्टा गरे, ‘मेरो विवाहको कुरा चलिरहेको छ । तीज गीतको म्युजिक भिडियोमा श्रीमान्को भूमिका दिएर रिहर्सल गर्न मौका दिनुभएकोमा सुनीताजीलाई धन्यवाद दिन्छु ।’
हमालको सभापतित्वमा सम्पन्न कार्यक्रममा गायिका दुलालको तेह्रौँ एल्बम ‘आयो हरितालिका’ सार्वजनिक भएको हो । राजधानीस्थित वल्र्ड ट्रेड सेन्टरमा हमालसँगै पूर्व मिस नेपाल रुबी राणा, अभिनेता राजेश हमाल, संगीतकार महेश खड्का, अभिनेत्री राधा लम्साल भावु, गायक दिपक लिम्बू, गीतकार कुमार विवाहित र गायिका दुलालले संयुक्त रूपमा भिडियोसंग्रह सार्वजनिक गरेका हुन् । संग्रहमा सात वटा गीत संगृहीत छन् । तीमध्ये ‘नाच्नलाई पैताला, भाँच्नलाई कम्मर’ र ‘यसपालिको तीजमा’ नयाँ भिडियो हुन् । कुमार विवाहितका शब्दमा महेश खड्काले संगीत भरेका छन् । भिडियोमा राजेश हमाल, सुनीता दुलाल, राधा लम्साल भावु र आशिष खड्काले अभिनय गरेका छन् । शंकर बिसी र गोविन्द राईले भिडियो निर्देशन गरेका हुन् ।

%d bloggers like this: