Sat. Jan 22nd, 2022

उहिलेका गाईजात्रा नेवार समुदायमा गाईजात्राको अवसरमा ‘कमिक’ देखाउने प्रचलन पुरानै हो । विसं २०२६ सालदेखि म पनि यस्ता कार्यक्रम सहभागी हुँदै आएको थिएँ । त्यतिबेला म चाहिँ कार्यक्रमको अन्त्यमा गीत गाउँथेँ । नेवार सभ्यताको संरक्षण गर्नुपर्छ भनेर हामीले २०२८ सालमा मुना सः (आवाजको जमात) भन्ने संस्था खोल्यौँ । गाईजात्राको अवसरमा चाहिँ हास्यव्यंग्य प्रतियोगिता गर्न थाल्यौँ । प्रतियोगिता सकिएपछि निर्णायकले निर्णय तयार पारुञ्जेल दर्शकलाई रमाइलो गराउने जिम्मा मलाई दिइन्थ्यो । त्यतिबेला रामशेखर नकर्मी, कृष्ण नापित, श्रीकृष्ण अनुलगायतले नेवार भाषामा हास्यव्यंग्य प्रस्तुति पस्किन्थे । तत्कालीन शासकमाथि पनि गहकिला व्यंग्य प्रस्तुत गरिन्थे । नेवार भाषामा गरिने व्यंग्यमा दर्शक रमाउँथे । तर, शासकले चालै पाउँदैनथे । २०३१ सालको कार्यक्रममा उद्घाटनका लागि प्रज्ञा प्रतिष्ठानका तत्कालीन सदस्यसचिव सत्यमोहन जोशीलाई निम्त्यायौँ । उहाँ निकै प्रभावित हुनुभएछ । ‘यो कार्यक्रम त नेपाली भाषामै देखाउँदा राम्रो हुन्छ,’ भन्नुभयो । उहाँकै पहलमा २०३२ सालदेखि ‘राष्ट्रिय गाईजात्रा महोत्सव’ हुन थाल्यो । पहिलो महोत्सवमा मैले तल्लो तहको कर्मचारीको मर्कालाई गीतमार्फत प्रस्तुत गरेको थिएँ । २०३३ सालमा हरिवंश पनि गाईजात्रा महोत्सवमा सहभागी हुन आए । त्यसपछि हामीले प्रहसनमा सहकार्य ग¥यौँ ।
हामीलाई प्रहसनमा खारिने अवसर भने रेडियो नेपालको रसरङ कार्यक्रमले दियो । यो कार्यक्रमलाई पूरै हास्यव्यंग्य बनाउन खोज्यौँ । अलिकति दायाँबायाँ हुनेबित्तिकै सेन्सरले पास नगर्ने भएकाले व्यंग्य कम हास्य रस बढी गरेर कार्यक्रम बनाउँथ्यौँ । राष्ट्र बैंकको सिल्भर जुबिलीको अवसरमा हरिवंश र म मिलेर एउटा प्रहसन प्रस्तुत ग¥यौँ । त्यो प्रहसन निकै लोकप्रिय भएपछि अरू बेला पनि यस्ता कार्यक्रम गर्ने प्रोत्साहन मिल्यो । त्यतिबेला राजपरिवार र राजनीतिलाई व्यंग्य गर्न नमिल्ने भएकाले सामाजिक कुरामाथि व्यंग्य गथ्र्याैं ।
२०३८ सालमा गाईजात्रामा पहिलोपल्ट हामीले राजनीतिलाई पनि छोयौँ । दलमाथि लगाइएको प्रतिबन्ध फुकेको थियो । हाम्रो कार्यक्रम हेर्न तत्कालीन राजा वीरेन्द्र, कांग्रेस नेता बिपी कोइराला र कम्युनिस्ट नेता मनमोहन अधिकारी पनि आएका थिए । ‘यमलोक’ भन्ने प्रहसनको थिम नेपालको न्याय, सत्य र बजेट मरेर त्यहाँ पुगेको भन्ने थियो । हामीले स्टेजबाटै त्यतिबेला डेमोक्रेसी मोडल भनिने बिपी र कम्युनिस्ट नेता मनमोहनमाथि व्यंग्य ग¥यौँ । पृथ्वीमा डेमोक्रेसी नहुनुको कारण ती पनि यमलोकमा आएका रहेछन् भन्ने आशयको थियो । दर्शक निकै प्रभावित भए । मासले समर्थन गरेपछि सेन्सर गरिएको स्क्रिप्टभन्दा एक शब्द बढी बोल्न नदिने प्रज्ञाका अधिकारी र शासकहरूले औँलो ठड्याउने मौका पाएनन् ।
‘यतिसम्म व्यंग्य गर्न पाइन्छ’ भन्दै एकेडेमीका अधिकारीलाई कन्भिन्स गर्दै हामीले त्यो अवस्थासम्म पु¥याएका थियौँ । पञ्चायतको विरोधमा रहेका दलहरूले यही कारण हामीलाई आफ्नो समर्थक माने । शासकहरूले भन्न नसके पनि पञ्चायत विरोधीका रूपमा चिन्न थालिसकेका थिए । ०४३ सालदेखि प्रज्ञा प्रतिष्ठानले गाईजात्रा महोत्सव आयोजना गर्न छाड्यो । पछि हामी आफैँले आयोजना गर्न थाल्यौँ । हामीले कार्यक्रम गर्ने अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र संविधानसभाका लागि लिइएपछि कार्यक्रम गर्नै छाडेका हौँ । वास्तवमा हामीलाई कार्यक्रम गर्ने ठाउँ छैन । प्रज्ञा भवनमा दीपक भाइहरूले गरिरहनुभएको छ, राष्ट्रिय सभागृहमा पनि अरू भाइहरू छन् । यसपालि चाहिँ हामीले गाईजात्रामा प्रहसन देखाउने योजना बनाएका थियौँ तर सम्भव भएन । अब फागुनतिर ‘महजात्रा’ गर्ने योजना छ ।
प्रस्तुतिः धनबहादुर खड्का