सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलर सार्वजनिक

मनोरंजनसंसार डटकम | Tuesday, July 7th, 2020

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर निकै इमोसनल छ । सुशान्तले बोलेका केही संवादले भावुक बनाउँछ । ट्रेलरमा क्यान्सर पीडित सञ्जना सांघीको कहानी देखाइएको छ, जसको प्रेममा सुशान्त पागल छन् । दुईको केमेस्ट्री एकदमै सानदार देखिएको छ ।

फिल्मका निर्देशक मुकेश छाबडा हुन् । यो फिल्म जुलाई २४ मा डिजिटल प्लेटफर्ममा रिलिज हुँदैछ । डिज्नी हटस्टारमा रिलिज हुने फिल्म निःशुल्क हेर्न पाइने बताइएको छ । सुशान्तको अन्तिम फिल्म भएका कारण ‘दिल बेचारा’ हेर्न दर्शकहरु निकै आतुर छन् । कोरोना भाइरसका कारण भारतका सिनेमा हल बन्द भएकाले यो फिल्म ओटीटी प्लेटफर्ममा रिलिज हुन लागेको हो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारत सरकारले लकडाउन घोषणा गरेसँगै सिनेमा हल बन्द भएपछि मे ८ मा प्रदर्शन हुने तय भएको ‘दिल बेचारा’ रिलिज हुन पाएको थिएन । यो फिल्म सन् २०१४ को अमेरिकी फिल्म ‘द फल्ट इन आवर स्टार्स’ को बलिउड रिमेक हो  । ए. आर. रहमानले संगीत दिएको यस फिल्ममा अभिनेता सैफ अली खान अतिथी भूमिकामा छन् ।

सन् २००८ मा ‘किस देश में है मेरा दिल’ सिरियलबाट अभिनय करिअर सुरु गरेका सुशान्तलाई ‘पवित्र रिस्ता’ टेलिश्रृंखलाले लोकप्रियता दिलाएको थियो । सन् २०१३ मा ‘काई पो चे’ फिल्मबाट अभिनेताको रुपमा डेब्यू गरेका उनको करिअरको सबैभन्दा ठूलो ब्लकबस्टर फिल्म ‘एम.एस धोनीः अनटोल्ड स्टोरी’ हो । उनी अभिनीत ‘छिछोरे’ र ‘केदारनाथ’ पनि रुचाइएका फिल्म हुन् ।

 

filmykhabar.com
Facebook Comments