Fri. Mar 29th, 2024

पर्वतीय विषयवस्तुमा आधारित फिल्महरुको काठमाडौंमा अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) को १७ औं संस्करण बुधबारदेखि सुरु भएको छ । बुधबार राजधानीको सभा गृहमा महोत्सवका निर्णायकहरु अस्मिना रञ्जित, ग्याब्रियला कुह्न, जेक्यु ली र आयोजक वसन्त थापाले संयुक्त रुपमा किम्फको पोस्टर सार्वजनिक गर्दै घन्टी बजाएर महोत्सवको उद्घाटन गरेका थिए ।

‘पछाडि पारिएकाहरुको आवाज’ नारासहित आयोजित महोत्सवको उद्घाटनमा निर्देशक एन्टोनेलो पाडोवानोको ‘द एसेन्ट अफ एभरेष्ट’ फिल्म प्रदर्शन गरिएको थियो । सर एडमन्ड हिलारीको शताब्दी वर्षको अवसर पारेर प्रदर्शन गरिएको ५३ मिनेटको फिल्ममा सन् १९५३ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका हिलारीले पहिलो पटक सगरमाथा आरोहणको दृश्यहरु समावेश गरिएको छ ।

महोत्सवको आयोजना हिमाल एसोसिएसनले गरिरहेको छ । उद्घाटन समारोहमा किम्फका अध्यक्ष वसन्त थापाले १९ वर्ष अघिबाट सुरु भएको किम्फ यो १७ औं संस्करणसम्म आइपुग्दा तन्नेरी भएको बताए । यसपटक नेपाललगायत ६९ देशका ४२७ वटा फिल्महरूको प्राप्त भएकोमा २९ देशका ७९ वटा फिल्महरू प्रदर्शन गर्न लागिएको अध्यक्ष थापाले जानकारी गराए । ‘हरेक वर्ष नयाँ उत्साहसहित महोत्सव सुरु गरिरहेका छौं ।

यसपटक ६९ देशका ४२७ वटा फिल्महरूको प्राप्त भएकोमा २९ देशका ७९ वटा फिल्महरू प्रदर्शन हुनेछन् । फिल्म हेर्न दर्शकको अपेक्षाअनुरूप साहसिक खेलकुद, पर्वतारोहण, पर्वतीय समाज र संस्कृति, पर्वतीय जीवनशैली तथा वातावरण संरक्षण लगायत विषय समेटिएका वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र र प्रयोगवादी फिल्महरू देखाइनेछन्,’ आयोजना हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापाले भने ।

महोत्सव निर्देशक रम्यता लिम्बूले यसपटक १७ वटा फिल्म प्रतिस्पर्धात्मक र ३२ फिल्म गैर–प्रतिस्पर्धात्मक खण्डमा समावेश भएको बताइन् । नेपाल पानोरमा अन्तर्गत १४ वटा फिल्म देखाइने जानकारी उनले दिइन् । ‘यसपटक किम्फमा हामीले २९ देशका ७९ वटा प्रेरणादायी फिल्महरु प्रस्तुत गर्न पाउँदा उत्साहित छौं । महोत्सवमा साहसिक खेलकुद, पर्वतारोहण, पर्वतीय समाज र संस्कृति र पर्वतीय जीवनशैली विषयका फिल्महरु प्रदर्शन हुँदैछन् । सर एडमन्ड हिलारीले सगरमाथा आरोहण गरेको शताब्दी वर्षलाई यसपटक विशेष रुपमा मनाउँदै छौं । त्यसबाहेक नेपाली फिल्ममेकरहरुलाई प्रोत्साहन गरेका छौं,’ उनले भनिन् ।

बुधबार ‘ग्राउलिङ माउन्टेन’, ‘जर्नी टु द सेन्टर अफ द हर्ट’, ‘इन द स्टारलाइट’, ‘क्राउड किङडम’ र ‘इन बिट्युन स्टेस’ लगायत फिल्महरु प्रदर्शन भएका थिए । फ्रान्सका निर्देशक अरोरी लरेन्टको ५२ मिनेट लामो ‘ग्राउलिङ माउन्टेन’ फिल्मले नेपाली समाजमा हेभी मेटल गीतको विकास र अवस्थाको चित्रण गरेको छ ।

आगामी मंसिर २९ सम्म आयोजना हुने महोत्सवमा २९ देशका ७९ वटा फिल्महरू प्रदर्शन गरिनेछन् । महोत्सवको दोस्रो दिन ‘अस्मिना’, ‘बियोन्ड ड्रिम’, ‘रंगहीन पुतली’, ‘तिर्खा’, ‘आमा खुन्डो’ र ‘अप टु स्पीड’ लगायत फिल्महरु प्रदर्शन हुनेछन् । त्यस्तै, प्लान इन्टरनेसनलको महिला सशक्तिकरणसम्बन्धी कार्यक्रम पनि आयोजना हुँदैछ ।

यसपटक महोत्सवअन्तर्गत नेपाली पानारोमा सरला थापाको ‘ब्रिटेन्स् लोन्ली गोर्खास्, गणेश पाण्डेको ‘सह श्रीमान’, निपिल शर्माको ‘अटिसार्गा’, सुमन सापकोटाको ‘अठारौं’, धनराज बर्कोटेको ‘एउटा रुखको पीडा’, केदार श्रेष्ठको ‘जुनुको जुत्ता’, प्रसिस बज्राचार्यको ‘कोक्रो’, ‘पहिचान’, ‘फुर्वा’, ‘साइलेन्स प्लिज’, ‘रंगहीन पुतली’, ‘द कलरलेस’ र ‘तिर्खा’ लगायत फिल्म प्रदर्शन हुनेछन् । प्रदर्शन गरिने फिल्महरुमा १७ वटा फिल्म प्रतिस्पर्धात्मक खण्डमा छन् भने ३२ फिल्म गैर–प्रतिस्पर्धात्मक खण्डमा समावेश गरिएका छन् ।

महोत्सवको अन्तर्र्रााष्ट्रय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख ५० हजार र एक लाख रुपैयाँ जित्नेछन् । त्यस्तै ‘नेपाल पानोरामा’ अन्तर्गत उत्कृष्ट हुने कथानक (फिक्सन) र गैर–कथानक (ननफिक्सन) फिल्मलाई क्रमशः एक लाख र ७५ हजार रुपैयाँ प्रदान गरिनेछ । कथानक विधातर्फको पुरस्कार मिला प्रोडक्सनले र गैर–कथानकविधातर्फको पुरस्कार राशी चलचित्र विकास बोर्डले प्रायोजन गर्नेछ ।

स्वीस कथानक फिल्म ‘हाइडी’ महोत्सवको समापन समारोहमा प्रदर्शन गरिनेछ । माफिल कोट्स (बेलायत), जेक्यु ली (कोरिया) र ग्याब्रियला कुह्न (पोल्याण्ड) सहितको निर्णायक टोलीले महोत्सवको उत्कृष्ट फिल्महरु छनोट गर्नेछन् । यसपटक ब्रिटिस काउन्सिलको तर्फबाट छलफल र फिल्म प्रदर्शनी गरिनेछ । एसियाली कला संग्रहालयबारे छिरिङ शेर्पा र साहसिक फिल्म निर्माणसम्बन्धी माइकल डिलनले मास्टरक्लास सञ्चालन गर्नेछन् ।

filmyfanda.com

Leave a Reply

%d bloggers like this: