Wed. Apr 24th, 2024

सुपरहिट फिल्म ‘नाईं नभन्नू ल २’ को ‘मर्ने कसैलाई रहर हुँदैन’ जस्तो चर्चित गीतका गायक प्रेम परियार अब फिल्मको हिरो बनेका छन् । केही वर्षयता आवाजमा आएको परिवर्तनका कारण गीत गाउन कम गरेका उनले ‘पर्खी बसे फर्कि आउँछु’ नामक फिल्मबाट अभिनय करिअर सुरुवात गर्न लागेका हुन् । यो फिल्मको सोमबार दाङको तुलसीपुरमा शुभ मुहूर्त गरियो ।

‘वीराङ्गना’ फेम्ड निर्देशक राज बहादुर सानेको एक्सन-कट रहने फिल्मको मुहूर्तसँगै सोमबारबाट छायांकन पनि सुरु भएको छ । पुर्व उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक गिरीको प्रमुख आतिथ्यता रहेको मुहूर्त कार्यक्रममा फिल्मका प्रमुख कलाकारहरु प्रेम परियार, समिक्षा बस्नेत र देव सागरले मुहूर्त सट दिए । फिल्ममा प्रेमसँग समिक्षाको जोडी बाँधिएको छ ।

रोशन कुमार थापा प्रस्तुतकर्ता रहेको फिल्ममा यम कान्त भण्डारी निर्माता र एकराज थापा सह-निर्माता रहेका छन् । प्रेमकथामा निर्माण हुने फिल्ममा पदम तामाङ, सुशिल गौतम, सुशिल पोखरेल, दिपक थापा, शुभम गौतम, डा.लोकराज पराजुली, हेमराज विसीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्मलाई यसै वर्ष प्रदर्शन गर्ने तयारी निर्माण टिमको छ ।

एउटी अपाङ्ग युवतीको यौवन अवस्थामा हुने रहर र जीवन संघर्षको कथा फिल्मले बोल्ने निर्देशक राज बहादुर सानेले बताए । फिल्ममा कविराज गहतराज, रामजी लामिछाने, राजकुमार वैश्य र राजन महर्जनको कोरियोग्राफी रहनेछ । बसन्त सापकोटा/एलिस कार्की/कृष्ण भारद्वाज/कर्साङ्ग लामाको संगीत र सानु कुमार महर्जनको द्वन्द रहने फिल्मलाई अरुण सुनारले खिच्नेछन् ।

गायक परियारले पछिल्लो पटक फिल्म ‘पोइ पर्‍यो काले’ को गीतमा आवाज भरेका थिए । आफ्नो स्वरले लठ्ठ बनाउन सक्ने क्षमता भएका उनको अब अभिनयले दर्शकलाई कति सन्तुष्ट पार्छ ? हेर्न बाँकी छ । नायकको रुपमा आफूलाई स्थापित गर्न प्रेमका लागि यो फिल्म चल्नैपर्ने हुन्छ । उनी फिल्मको कथावस्तु र आफ्नो भूमिका राम्रो लागेर काम गर्न राजी भएको बताउँछन् ।

filmykhabar.com

Leave a Reply

%d bloggers like this: