Sat. Apr 20th, 2024

काठमाडौं । गायक तथा संगीतकार नरेन्द्र प्यासीको एकल साँझ कार्यक्रम हुने भएको छ । सांस्कृतिक संस्थान र जनता टेलिभिनको संयुक्त आयोजनामा यही फागुन ९ गते बिहिबार ‘नरेन्द्र प्यासी स्वर्णिम सन्ध्या–२०७५’ को आयोजना हुन लागेको हो । स्वर्णिम सन्ध्यामा गायक नरेन्द्र प्यासीले उनका चर्चित गीतहरू मध्ये ‘के भुल भयो प्रिया’, ‘तिमी विनाको जीवन’, ‘तिमीले दिने माया’, तिम्रो दिलमा चोट लाग्दा‘, ‘म त तिम्रो मान्छे बन्न सकिन’, ‘काठमाडौं छुट्यो हेर्दा हेर्दै’ लगायतका गीतहरु प्रस्तुत गर्नेछन् । २०४१ सालमा पहिलो एकल साँझमा प्रस्तुत भएका प्यासी दोस्रो पटक एकल साझमा प्रस्तुत हुँदैछन् ।
नेपाली मौलिक कला संस्कृती, लोक नृत्य, गीत संगीतको क्षेत्रमा काम गर्दै संस्थानले उक्त कार्यक्रम पहिलो पटक व्यवसायिक हिसाबमा गर्न लागेको संस्थानका महाप्रबन्धक राजेश थापाले बताए । व्यवसायिक हिसाबमा आयोजना गर्न लागेको कार्यक्रममा केहि चुनौती भएतापनि यस्ता खालका कार्यक्रमहरु संस्थानले नियमित आयोजना गर्न सकिने संस्थानका कार्यक्रम प्रमुख प्रभाकरदेव शर्माले बताए । संस्थान भित्रका स्रष्टाहरुलाई मात्र स्थान दियो भन्ने खालका गुनासा आईरहेका बेला उक्त कार्यक्रमले बाहिरका स्रष्टालाई पनि स्थान दिएको प्रस्ट पार्ने बताए । पहिलो पटक २०३० सालमा ‘विना बादल असिना पानी, फेरी माया लाउँला कि वैमानी’ बोलको लोक गीत रेकर्ड गरेर सांगीतिक क्षेत्रमा प्रवेश गरेका गायक प्यासी जीवनको दोस्रो एकल साँझलाई लिएर निकै उत्साहित छन् । प्रायः गीतहरु लोकप्रिय भएपनि स्वयं स्रष्टा प्यासी भने ओझेलमै पर्दै आएका छन् तर उक्त कार्यक्रमले स्रोतादर्शकमाझ चिनिन केहि हदसम्म सहयोग पुग्ने उनको विश्वास छ।
गायक प्यासीले आठ वर्षको कलिलो उमेर मै रेडियो नेपालबाट स्वर परिक्षा उत्तिर्ण भएका थिए । २०४२ सालमा उनको आवाजमा रेकर्ड भएको ‘के भुल भयो प्रिया’ बोलको गीतबाट अत्यधिक रुचाईएका प्यासीका करिव चार सय भन्दा बढी गीतहरू रेकर्ड भैसकेका छन् । यहि फागुन ९ गते बिहिबार साँझ ५ बजे जमलस्थित राष्ट्रिय नाचघरको मेघा हलमा हुने ‘नरेन्द्र प्यासी स्वर्णिम सन्ध्या–२०७५’को जनता टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

Leave a Reply

%d bloggers like this: