Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
विश्व प्रसिद्ध भेनिस फिल्म फेस्टिभलमा यस वर्ष दुई नेपाली फिल्म परेका छन् । प्रदर्शनका लागि बिहीबार सार्वजनिक फिल्मको ‘लाइनअप’ मा दीपक रौनियारले निर्देशन गरेको ‘द ह्वाइट सन’ तथा पूजा गुरुङ र विभूषण बस्नेतले निर्देशन गरेको छोटो फिल्म ‘दद्या’ परेका हुन् ।
गत वर्ष मीनबहादुर भामले निर्देशन गरेको फिल्म ‘कालो पोथी’ ले भेनिसको ‘क्रिटिक्स विक’ मा उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो । क्रिटिक्स विकलाई भेनिसले छुट्टै स्वायत्त खण्डका रूपमा राखेको भए पनि यसपटक नेपाली फिल्म छनोट भएको ‘होराइजन’ सेक्सन भने भेनिसकै दुई प्रतिस्पर्धात्मक खण्डमध्येको एक हो । जसमा सौन्दर्यबोध र फिल्म भाषामा नयाँ प्रयोग गरिएका विश्वभरका फिल्मको प्रतिस्पर्धा गराइने फेस्टिभलले जनाएको छ ।
होराइजन सेक्सनमा मुख्यसँगै स्पेसल जुरी र सर्ट तथा मिडियम लेन्थ फिल्मलाई एक–एक गरी चार अवार्ड दिइन्छ । यसपटक नेपाली फिल्मले विश्वका बाँकी ३३ फिल्मसँग प्रतिस्पर्धा गर्दैछन् ।
रौनियारको ८७ मिनेट लामो फिल्म ‘ह्वाइट सन’ मा दयाहाङ राई, आशा मगराती, रवीन्द्रसिंह बानियाँ, सुमी मल्ल र अमृत परियारले मुख्य भूमिकामा अभिनय गरेका छन् । द्वन्द्वकालमा पक्ष र विपक्षमा रहेका दाजुभाइले भोग्ने घटनाहरू फिल्मको केन्द्रमा छन् । यो फिल्म नेपाल, अमेरिका, कतार र नेदरल्यान्डको संयुक्त निर्माण हो ।
उनको यसअघिको फिल्म ‘हाइवे’ बर्लिन फिल्म फेस्टिभलमा देखाइएको थियो । संसारका तीन ठूला फिल्म महोत्सवमा फ्रान्सको क्यान्स, इटलीको भेनिस र जर्मनीको बर्लिन फेस्टिभललाई मानिन्छ ।
‘भेनिसमा हाम्रो फिल्म छनोट हुनु हाम्रा लागि ठूलो अवसर हो,’ १७ मिनेट लामो ‘दद्या’ की एक निर्देशक पूजाले कान्तिपुरसँग भनिन् । सोही फिल्मका अर्का निर्देशक विभूषणले आफ्नो काम भेनिससम्म पुग्दा खुसी लागेको बताउँदै थपे, ‘तर, यो नै उपलब्धि भने होइन ।’
उनले ‘दद्या’ लाई सम्भवत: ‘एकादेशमा’ फिल्म महोत्सवमार्फत स्वदेशी दर्शकलाई देखाउने आशा व्यक्त गरे । यो फिल्म नेपाल र फ्रान्सको संयुक्त निर्माण हो ।
परिमल दमाई र छमकला दमाईको मुख्य भूमिका रहेको ‘दद्या’ मा उक्त वृद्ध दम्पतीले हिमाली सानो गाउँ रोथा छोडेर जानेका लागि सम्झने अनौठो शैलीलाई देखाइएको छ । तर जब उनीहरूकै नजिकका साथीले समेत छोडेर जान्छन्, तब वृद्ध दम्पतीमा आइपर्ने दुविधालाई फिल्मले समेटेको छ ।
यसै वर्षदेखि स्विट्जरल्यान्डको लोकार्नो फिल्म फेस्टिभलले नेपालसहित बंगलादेश, भुटान र म्यानमारलाई ‘फोकस’ क्षेत्रका रूपमा तीन वर्षका लागि छनोट गरेको छ । यसै वर्ष यो फेस्टिभलमा रौनियारको ‘हाइवे’, पूजा र विभूषणको ‘द कन्टाजियस अपारिसन्स अफ डम्बरे डेन्ड्राइट’, सुसन प्रजापतिको ‘लाज’, मीनबहादुर भामको ‘कालो पोथी’ र अस्मिता शिरीष र फातिमा अहमदीको ‘चन्द्र’ यस वर्षको ओपन डुअर्स स्क्रिनिङमा देखाइँदै छन् ।

Leave a Reply

%d bloggers like this: