अहिले गाउनेलाई हाइसञ्चो छः फत्तेमान

मनोरंजनसंसार डटकम | Tuesday, September 10th, 2013

गायक फत्तेमान ती सशक्त र सुमधुर गलामध्ये एक हुन्, जसले नेपाली आधुनिक संगीतलाई व्यापक र लोकप्रिय बनाए । नी अब हामीमाझ रहेनन् । उनीसँग संगीतको सेरोफेरोमा रहेर केही समयअघि सजना बरालले गरेको अन्तरंग कुराकानी गरेकी थिइन् । संगीतका विविध पाटाबारे गरिएको उक्त अन्र्तवार्ता संभवत पत्रकारसँगको अन्तिम लामो कुराकानी पनि थियो । शुक्रवार साप्ताहिकमा छापिएको उक्त अन्र्तवार्ता श्रद्धाञ्जली स्वरुप हामीले साभार गरेका छौँ ।

तपाईंको बारेमा मैले एउटा जोक सुनेकी छु । फत्तेमानलाई गीत गाउँदा १० वटा जति माइक चाहिन्छ रे । त्यो किनभने तपाईं एक सय ८० डिग्रीको एंगलमा टाउको घुमाउँदै गीत गाउनुहुन्छ ।

त्यो मेरो बानी हो । हल्लिँदै गीत गाउने बानी भएकाले त्यसो भनेका होलान् । त्यो सत्य हो पनि । एकैतिर ढसमस्स बसेर गाइरहन सक्दिनँ । गीतमा डुबेपछि टाउको र हात आफसे आफ गीतको तालमा दायाँ–बायाँ नाच्न थाल्छन् । त्यसलाई जोकभन्दा पनि मेरा शुभचिन्तकले गरेको कामना ठान्छु म ।
दशवटै माइक चाहिने हो त ?
होइन । तीन–चार वटा भए पुग्छ । तर, अहिलेको जमानामा त्यत्रा बिघ्न माइक तेस्र्याउनुपर्ने आवश्यकता छैन । मुखमै जोडेर गाउन मिल्ने माइक बजारमा उपलब्ध छन् । ती माइक मेरा लागि निकै आवश्यक छन् । तिनमा त टाउको घुमाउने मात्रै होइन, लडीबुडी खेल्दै गाए पनि फरक पर्दैन रे । इन्डियामा त्यस्ता माइक खुब प्रयोग गरिन्छन् । नेपालमा पनि आइदिए गजब हुन्थ्यो ।
तपाईंले २०१८ सालदेखि गीत गाउन थाल्नुभएको होइन ?
गीत गाउन थालेको त २००० सालदेखि नै हो । २००७ सालमा रेडियो नेपालमा गीत गाउन गएको थिएँ । तर, छ महिना धाउँदा पनि चान्स पाइनँ । दिक्क लागेर जानै छोडिदिएँ । साँझ–बिहान पशुपति र गुहेश्वरीमा बूढापाकासँग बसेर भजन गाउन चाहिँ कहिल्यै छोडिनँ । त्यसपछि एकैचोटि २०१८ सालमा नातिकाजी दाइले ‘गीत गाउँछु भनेको होइन ? आऊ’ भनेर रेडियो नेपालमा डेट मिलाइदिनुभयो । मैले ‘हे राम नाम जप्दै प्रभुको’ भन्ने भजन गाएको थिएँ ।
नातिकाजीसँग कसरी चिनजान भयो ?
उहाँ र म त एउटै टोलका मान्छे । मेरो दाइको साथी हुनुहुन्थ्यो उहाँ । हाम्रो घर आइरहनुहुन्थ्यो । सुरुमा गुहेश्वरीमा बस्नुहुन्थ्यो । पछि मित्रपार्क सर्नुभयो ।
थुप्रै भजन गाउनुभयो । पहिलो भजन रेकर्ड गर्दा लक्का जवान हुनुहुन्थ्यो ।

युवा उमेरमै भजनतिर केले तान्यो ?
यो त अहिलेका केटाकेटीले सोच्ने कुरा भयो । हाम्रा पालामा मनोरञ्जनका साधनहरू केही थिएनन् । हामी बिहान–बेलुका काका, बुवा, दाजु आदिको पुच्छर लागेर टोलटोलमा हुने भजनकीर्तनका कार्यक्रममा जान्थ्यौँ । उहाँहरू सँगसँगै भजन गाउँथ्यौँ । हाम्रो हुर्काइ र त्यसबेलाको चलनले भजनमै रम्न सिकायो । यसमै रस बस्यो । ममात्रै होइन, नारायण गोपाल, शिव शंकर, नातिकाजीजस्ता गायक भजनबाटै आएका हुन् । सानैदेखि सिकिरहेको र अभ्यास गरिरहेको हुनाले रेडियो नेपालमा डेट पाउनासाथ मैले भजन गाएको थिएँ । पछि आधुनिक, लोक र राष्ट्रिय गीत पनि थुप्रै गाएँ ।
जन अर्थात् भगवानको भक्ति–गान । नास्तिकले भगवान् छँदै छैनन् भन्छन् । हुँदै नभएका भगवान्का लागि गला किन सुकाउनु ?
भजन भनेको राम, विष्णु, श्याम आदिको गुणगान गाउने मात्रै होइन । भजनमा बिलौना पोख्ने वा गुहार माग्ने गरिन्छ भन्ने पनि होइन । भजन भनेको अर्कै चिज हो । यसमा दर्शन लुकेको हुन्छ । जिन्दगीको सार र यथार्थ हुने भएकाले मलाई भजन गाउन मनपर्छ । राम, श्यामजस्ता भगवान् हुन् या नहुन्, संसार चलाउने कुनै न कुनै तŒव चाहिँ अवश्य छ । र, भजन गाउनु मेरा लागि स्वर सुकाउनु होइन । यो आनन्दप्राप्तिको माध्यम हो ।

भजनलाई छौडौँ अब । २०२५ सालमा तपाईंले आधुनिक गीत प्रतियोगितामा बाजी मार्नुभएको थियो, होइन ?
हो । यादव खरेलको शब्द र नातिकाजीको संगीतमा गाएको ‘यस्तो पनि हुँदो रैछ’ बोलको गीतले मलाई प्रतियोगिता जिताएको थियो ।

नातिकाजीको संगीतमा थुप्रै गीत गाउनुभयो…
मलाई गायक बनाएकै नाति दाइले हो । उहाँ मलाई असाध्यै माया गर्नुहुन्थ्यो । हामी महिनौँसम्म सँगै बसेर अभ्यास गथ्र्यौं । प्रायः उहाँकै घरमा जमघट हुन्थ्यो । मलाई रेडियो नेपाल छिराएको पनि उहाँले नै हो । उहाँको संगीतमा गाउन पाउनु मेरा लागि गौरवको विषय थियो ।

रेडियो नेपालको प्रतियोगिता जितेपछि तक्मा त पाइन्छ नै, पैसा पनि दिन्छन् क्यारे । त्यतिबेला कति रुपैयाँ पाउनुभएको थियो ?
त्यो बेला हामीलाई शीतल निवासमा भव्य पार्टी दिइएको थियो । राजा महेन्द्रले पदक र पैसा दिए । मैले तीन सय रुपैयाँ पाएको थिएँ । तीन सयमा त्यतिबेला एक तोला सुन आउँथ्यो । जग्गै किने पनि भयो । मैले चाहिँ ५०–६० जना साथीभाइलाई घरमै डाकेर भोज ख्वाएको थिएँ ।
त्यसपछि तपाईंले ‘मर्न बरु गाह्रो हुन्न’, ‘वनै खायो डढेलोले’, ‘बिर्सेर ती दिनहरू’, ‘कस्तो माया लाइएछ’ जस्ता चर्चित गीत गाउनुभयो । प्रायः गीत सेन्टिमेन्टल छन् । किन होला ?
किनभने म रोमान्टिकभन्दा भावुक खालका गीत गाउन मन पराउँछु । गीतकार र संगीतकारले पनि त्यस्तै गीत ल्याइदिनुभयो । गाएँ, राम्रै भए । तर, रोमान्टिक गीत पनि नगाएको होइन । ‘सान्नानीको गालैमा’, ‘घिन्ताङमा घिन्ताङ’ जस्ता गीत पनि गाएको छु ।

‘सान्नानीको गालैमा’ त बडो चञ्चले खालको गीत छ । यो गीत निस्किएपछि सान्नानीहरूको प्रतिक्रिया कस्तो पाउनुभयो ?
प्रायः भजन र आधुनिक गीत गाउने भएकाले ‘फत्तेमानले यस्तो पनि गाउँदो रैछ’ भने मान्छेहरूले । ‘सान्नानी’ गीतका लागि रेडियो नेपालमा निकै फर्माइस आउँथे । तर, त्यतिबेला गीत हिट भए पनि त्यसको गायक को हो, कस्तो अनुहारको छ, स्रोतालाई थाहा हुँदैन थियो । रेडियोबाट अनुहार देखिने कुरा भएन, टिभी छँदै थिएन । पत्रपत्रिकामा फोटो छापिँदैनथ्यो । टेलिफोन थिएन । सञ्चारको एकमात्र साधन थियो– चिठी । चिठी चाहिँ मलाई निकै आउँथे । ‘तपाईंको स्वर साह्रै मन पर्छ, मान्छे कस्तो हुनुहुन्छ होला ? फोटो पठाइदिनुहोला’ आदि लेखिएका हुन्थे । तिनमा युवतीको संख्या अलि धेरै हुन्थ्यो ।

फोटो पठाइ पनि दिनुहुन्थ्यो उहाँहरूलाई ?
कहाँ फोटो पठाएर साध्य हुनु ? फोटो पठाउन पनि अहिले जस्तो सजिलो थियो र ? स्टुडियोमा गएर खिच्नुप¥यो, धुलाउनुप¥यो । त्यसका लागि पैसा चाहियो । संगीतमा लागेकासँग सुको हुँदैनथ्यो । कसरी पठाउनु ? एकदुई जना भएको भए पनि एउटा कुरा, सयौँ चिठी आउँथे । सम्भवै थिएन नि ।

बिहे कहिले गर्नुभयो ?
मैले २३ वर्षको उमेरमा बिहे गरेको थिएँ । उनी चाहिँ १५ वर्षकी थिइन् । म र राममान भन्ने साथी उनलाई हेर्न जनसेवा सिनेमा हल (अहिले विशाल बजार भएको ठाउँ) अगाडि गएका थियौँ । उनी पनि साथीसँग आएकी थिइन् । त्यतिबेला कोट्याई–कोट्याई कुराकानी गर्ने चलन थिएन । मैले उनलाई एक झलकमात्रै हेर्न भ्याएको थिएँ, साथीले ‘केटी ठीक छे, हैन ?’ भन्यो । मैले पनि ‘ठीक छे’ भन्दिएँ । केही दिनपछि बिहे भइहाल्यो ।

छोराछोरी कसैलाई संगीतमा लगाउनुभएन नि ?
हो । मेरा समकक्षी र अग्रजहरू कसैले पनि आफ्ना सन्तानलाई यो क्षेत्रमा लाग्न हौस्याएनन् र मैले पनि त्यसो गर्न चाहिनँ । संगीत क्षेत्र अहिलेको जस्तो व्यावसायिक थिएन । यसमा लाग्यो भने मागेर खानुपर्ने अवस्था थियो । अहिले जस्तो एल्बम नभए सिडी, सिडी नभए सिआरबिटी, त्यो नभए स्टेज प्रोग्राम भन्ने विकल्प त्यो बेला थिएन । आफूले त दुःख पाइयो, पाइयो, छोराछोरीले दुःख नपाऊन् भनेर यो क्षेत्रमा नलगाएको हो ।

यहाँलाई पप संगीत पटक्कै मनपर्दैन रे नि ?
होइन, मन पर्छ मलाई । पप गीत राम्रा हुन्छन् । तर, राम्रा गीतलाई राम्रोसँग गाउनुपर्छ । हावा तालमा गाउनुभएन । पप, रक सबै विधाका गीतका आ–आफ्नै विशेषता छन् । सुर–ताल मिलाएर मेहनतसाथ गायो भने पप गीत सुन्न साह्रै मजा आउँछ । तर, गाउनुभन्दा बढी हाहाहुहु गर्ने, मुख बंग्याउने, नानाथरी शब्द राख्ने र बहुला तालले उफ्रिँदै, चिच्याउँदै गाएको चाहिँ देखिसहन्नँ ।

कुनै बेला यहाँले नेपालको एक जना पप–गायकलाई बेस्सरी हप्काउनु भएको थियो रे…
होला । गाउनुको सट्टा बाँदरझैँ उफ्रिए होलान् । चित्त नबुझेपछि केही भन्दिएँ होला ।

गायकले स्टेजमा नाच्नै नहुने हो र ?
होइन । हामी पनि नाच्छौँ नि स्टेजमा । नाच्नु पनि पर्छ । तर, कार्यक्रम हेर्न आएका दर्शकलाई समेत स्टेजमै तानेर माइकै उनीहरूलाई जिम्मा लगाएर अचाक्ली गरेको मलाई मन पर्दैन । गायकले गायककै ठाउँमा र दर्शकले दर्शककै ठाउँमा नाच्नुपर्छ । स्टेजमुन्तिरका दर्शकलाई पनि स्टेजमै तान्या छ, उफ्रेको छ, करा’को छ, हल्ला गरेको छ, डाङडाङ र डुङडुङ गरेको छ । त्यस्तो देख्दा दिक्क लाग्छ मलाई ।

गिटार मन पर्छ कि पर्दैन ?
किन मन नपर्नु ? त्यो साह्रै सजिलो बाजा छ । जता गए पनि सजिलै बोकेर लग्न मिल्छ । बाटोमा उभिएरै पनि गाउन वा रियाज गर्न मिल्छ । त्यसको धुन पनि साह्रै मिठो लाग्छ मलाई ।

बजाउनु पनि हुन्छ ?
बजाउन चाहिँ आउँदैन । हाम्रो पालामा यस्ता बाजा थिएनन् । सिक्नै पाइएन ।

मेटल गीतहरू सुन्नु हुन्छ ?
विदेशीहरूको सुन्छु । उनीहरूको त जबर्दस्त हुन्छ किनभने उनीहरू साधना गर्छन् । तिनको चिच्याहटमा पनि मेहनत हुन्छ । विदेशमा मेटल गीत गाउने÷बजाउनेहरू त्यसमै मरिमेटेर लागेका हुन्छन् । ब्यान्ड अथवा गायकको नाम भन्न सक्दिनँ तर उनीहरूको गीत पाइयो भने सुन्दिन्छु ।

अहिलेको म्युजिकल टे«न्ड कस्तो लागिरहेको छ ?
रामै्र छ । संगीत बुझेर र सिकेर आएकाहरूले राम्रो गरिरहेका छन् । तर, उनीहरूले शब्द र संगीतमा विचार पु¥याउन आवश्यक छ । अहिले ‘सजिलो’को टे«न्ड आएको छ । मेहनत नपर्ने र सुन्नासाथ उफ्रिन मिल्ने गीतको चर्चा छ । सुर र तालको ख्याल गरिँदैन । गायकहरू साधना गर्न अल्छी गर्छन् । सत्य–स्वरूप, शिव परियार, अन्जु पन्तजस्ता युवा पुस्ताले अलि धेरै मेहेनत गर्ने हो भने उनीहरूले नेपाली संगीतलाई राम्रो बाटोमा डोहो¥याउन सक्छन् ।

तपाईंले पाँच दशकभन्दा बढी समय नेपाली संगीत क्षेत्रमा बिताइसक्नुभयो । नेपाली संगीत कुन अवस्थाबाट कहाँ आइपुगेको पाउनुहुन्छ ?
अहिले नेपाली संगीत सन्तोषजनक अवस्थामा आइपुगेको छ । गायकगायिकालाई पनि यो समय निकै अनुकूल छ । आर्थिक रूपमा कुरा गर्ने हो भने त झन् अहिले गायकगायिकाका लागि ‘स्वर्ण युग’ नै छ । तर, त्यसका लागि मेहनत र कला चाहिन्छ । गर्न सक्नेले यहाँ महिनाको लाखौँ रुपैयाँ कमाएका छन् ।

कहाँ हुनु ? पाइरेसीले कस्तो दुःख दिएको छ रे । एल्बम लोप भइसक्यो । सिडी बिक्रि नै हुँदैन ।
पाइरेसी संसारभरि नै हुन्छ । र, बिस्तारै यसको रोकथाम पनि हुन्छ । अहिले स्वर्ण युग किन हो भने हाम्रा पालामा वर्षको दुइटा गीत रेकर्ड गर्न पाइन्थ्यो । त्यसको आम्दानी भनेको बढीमा १० रुपैयाँ ! न कार्यक्रम हुन्थे, न संगीत समारोह । गीत रेकर्ड गर्न गयो एकै टेकमा काम सकाउनुपथ्र्यो । गीत गाउँछु भन्दा घरपरिवारले चुकुल थुनेर राख्थे । अहिलेको त कुरै अर्कै । कति हाइसञ्चोका दिन आएका छन् । एक टुक्रो आज गायो, अर्को टुक्रो पाँच महिनापछि गाए पनि भयो । सिडीबाट आउने रकम स्टेज कार्यक्रमले उठाइहाल्छन् । पहिले हामीलाई सित्तै गाउँछु भन्दा पनि कार्यक्रम हुन्थेन । अहिले गायकगायिका पारिश्रमिकको बार्गेनिङ गर्दै देश–विदेश डुल्न पाउँछन् । राम्रो गर्नेलाई रामै्र भइरहेको छ । सजिलो र पैसा, दुवै छ अहिले । यसलाई स्वर्ण युग नभने के भन्ने ? तर, यत्तिले मात्रै पुग्दैन । आफ्नो माटो र आफ्नोपन दिने गीत–संगीतको सिर्जना गर्दै जानुपर्छ ।

फत्तेमानलाई छुच्चो गायक पनि भन्दा रहेछन् ।
किन छुच्चो ? राम्रो कुरा गरे भने राम्रै गर्छु । नराम्रालाई नराम्रै गर्छु । म स्वाभिमानी छु । आफ्नो पौरखमा विश्वास गर्छु । कसैको चाकरी गर्दिनँ । एकदमै हक्की स्वभावको छु ।

Facebook Comments