Thu. Jan 9th, 2025

बेलायतको एक संग्रहालयमा राखिएको इजिप्सियन मूर्ति दायाँबायाँ फर्किन थालेपछि वैज्ञानिक र संग्रहालयका कर्मचारी चकित भएका छन्। ईशापूर्व १८०० तिरको नेब–सेनुको मूर्ति चलमलाएको आफूले देखेको संग्रहालयका कर्मचारी क्याम्पबेल प्राइसले म्यानचेस्टर इभिनिङ पोस्टलाई बताएका छन्। …मलाई त अचम्म लाग्यो किनभने यसको साँचो मसँग मात्रै छ,’ उनले भने।
आफूले मूर्तिलाई पटक–पटक पूर्ववतः अवस्थामा राखेर पछि हेर्दा उल्टो दिशातिर फर्केको भेटिएको उनले बताए। आफूहरूले भिडियो क्यामरा जडान गरेर खिच्दा पनि मूर्ति चलमलाएको पुष्टि भएको उनले बताए। उनका अनुसार मूर्तिको गति नांगो आँखाले देख्न सकिँदैन।
१० इन्च लामो उक्त मूर्ति सन् १९९३ मा उक्त संग्रहालयमा आएको न्युयोर्क डेली न्युजले लेखेको छ। भिडियोले उक्त पुराताŒिवक वस्तु घडीको उल्टो दिशामा घुमेको देखाउँछ। दिउँसोको समयमा चलमलाउने मूर्ति राति भने चलमलाउँदैन।
दिउँसोको समयमा देखिएको मूर्तिको गतिलाई बेलायती भौतिकशास्त्री बिआन कोक्स संग्रहालय घुम्न आउने पर्यटकको पदचापबाट सिर्जित कम्पनको नतिजा भन्छन्। तर, संग्रहालयका कर्मचारी विगतमा मूर्ति यसरी कहिल्यै नचलेको बताउँछन्।