Tue. Apr 30th, 2024

काठमाडाैँ । चीनको राजधानी बेइजिङमा पहिलो पटक नेपाली चलचित्र देखाइएको छ। नेपालमा शुक्रबार नै हलमा लागेको ‘द सिक्रेट अफ राधा’लाई बेइजिङमा पनि प्रदर्शन गरिएको हो। चाइना पर्फमेन्स इन्ड्रस्टिज एसोसिएसनको समन्वयमा बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल अर्गनाइजिङ कमिटीले सो चलचित्रको आधा भाग प्रदर्शन गरेको हो।

फेस्टिभल आयोजक कमिटिका सदस्य, हुनान रेडियो तथा टेलिभिजन ग्रुप, विभिन्न चिनियाँ संचारमाध्यमहरूको उपस्थितिमा नेपाली राजदूतावासका इकोनोमिक मिनिस्टर छबिन्द्र पराजुलीले नेपाल चीनबीच मित्रताको सुरूवात कलाबाटै भएको चर्चा गरे। उनले भने, ‘मञ्जुश्री, भृकुटी, अरनिको लगायत प्राचीन कलासाधकबाट नै नेपाल र चीनको मित्रताको जग बसालिएको छ। आधुनिककालमा पनि कलाद्वारा अझै फराकिलो मैत्री सम्बन्ध बनाउने बाटाहरू छन्।’

पराजुलीले सुवर्ण थापाको निर्देशनमा सृष्टि श्रेष्ठद्वारा अभिनित राधाको बेइजिङमा प्रदर्शनी भएबाट चलचित्र उद्योगबाट नेपाल चीन सम्बन्ध अझै प्रगाढ बन्ने विश्वास व्यक्त गरे।

चलचित्र प्रदर्शनीपछि आयोजकले गरेको संक्षिप्त अन्तरक्रियामा नेपाली चलचित्रमा हुने तत्वहरू, नृत्य तथा नेपाली कला संस्कृतिबारे चिनियाँहरूले जिज्ञासा राखेका थिए।

आयोजक बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल अर्गनाइजिङ कमिटीले विश्वभरबाट डान्स भिडियोहरू संकलन गरिरहेको जनाएको छ। यसै सिलसिलामा चिनियाँ दर्शकले नेपाली चलचित्र हुने नृत्यपक्षमा ध्यान दिए। ‘बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल २०२२’ अगस्त २८ सम्म चल्नेछ।

चलचित्र छायांकन तथा निर्माण सम्बन्धित सो समारोहमा अनलाइनबाट कलाकार आनी छोइङ डोल्मा र चलचित्र निर्देशक थापाले पनि फेस्टिभल र चिनियाँ दर्शकप्रति सद्भाव प्रकट गरेका थिए।

Leave a Reply

%d bloggers like this: