काठमाडाैँ । भारतमा डबिङ हुँदै गरेको बहुप्रतिक्षित फिल्म प्रेमगीत-३ को भिडियो सार्वजनिक भएको छ । डबिङ र इडिटिङको काम सकिएर भिएफएक्सको काममा लागेपछि निर्माण पक्षले उक्त डबिङको झलक दिने खालको भिडियो सार्वजनिक गरेको हो ।
युट्युबमा सार्वजनिक भएको भिडियोमा डबिङ आर्टिस्ट संकेत महार्ते, पुजा पन्जावी तथा मनोज पाण्डेले प्रेमगीत-३ को प्रशंसा गरेका छन् । आर्टिस्ट पाण्डेले प्रेमगीत-३ कुनै पनि कोणबाट नेपाली फिल्म जस्तो नलागेको बताएका छन् ।
त्यसैगरी, पूजा पन्जावले पनि यो फिल्म डबिङको काम गर्दा रमाइलो भएको र नयाँ अनुभव लिन पाएको भन्दै फिल्म अत्यन्त राम्रो भएको प्रतिक्रिया दिइन् । त्यसैगरी, संकेतले नेपाली फिल्म पहिलोपटक हिन्दीमा डबिङ गरेको बताउँदै नेपाली र भारतीय फिल्मको सम्बन्धमा प्रेमगीत-३ ले नयाँ उचाइ कायम गर्ने बताए
नेपालमा सफल चलचित्र प्रेमगीतको सिक्वेल प्रदर्शनको पर्खाइमा रहेको छ । कोरोना भाइरसको महामारीसँगै प्रदर्शन अनिश्चित भएता पनि फिल्म भने नयाँ आयाममा प्रवेश गरिरहेको छ ।
यो फिल्म विभिन्न भाषामा रिलिज हुने तयारीमा छ । अहिले एक बलिउड प्रोडक्सन कम्पनीको सहकार्यमा यो फिल्मको डबिङ भइरहेको निर्माता सन्तोष सेनले जानकारी दिएका छन् ।
नेपाली लगायत धेरै भाषामा प्रदर्शन हुने तयारी रहेको यो फिल्मको अब ब्याकग्राउन्ड स्कोर, भिएफएक्स, गीत रेकर्ड लगायतको काम बाँकी रहेको जनाइएको छ ।
गत वर्ष चैत २८ गते रिलिज हुने भनिएको यो फिल्म कोरोना भाइरसको महामारीसँगै गरिएको लकडाउनसँगै रिलिज डेट अनिश्चित बनेको थियो ।
यो फिल्म स्वर्गीय छेतन गुरुङ र निर्माता सन्तोष सेनले मिलेर निर्देशन गरेका हुन् । फिल्ममा शिव श्रेष्ठ, प्रदीप खड्का, सुनिल थापा, माओत्से गुरुङ, सन्तोष सेन, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, योगिशा खत्री, जीवन भट्टराई लगायतको अभिनय रहेको छ । यो फिल्म क्रिस्टिना गुरुङ नायिकाको रुपमा डेब्यू फिल्म हो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।