सन्दीपको राम्रो प्रर्दशनका बाबजुद जमैका पराजित

नेपाली लेग स्पिनर सन्दीप लामिछानेको राम्रो प्रर्दशनका बाबजुद जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) को लिग चरणको अन्तिम खेलमा सेन्ट लुसिया जुक्ससँग ११ रनले पराजित भएको छ ।
सोमबार बिहान सम्पन्न खेलमा जितका लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको जमैकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रन मात्र बनाउन सक्यो । जमैका ओपनर ग्लेन फिलिप्सले ३६ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४९ रनमा आउट भए । उनलाई जाहिर खानले १२ औं ओभरको चौथो बलमा बोल्ड आउट गरे ।
जमैका ओपनर ग्लेन फिलिप्स र जर्मेन ब्ल्याकवुडले पहिलो विकेटका लागि ११.४ ओभरमा ८४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएपनि तल्लोक्रमका ब्याट्सम्यान चल्न नसक्दा जमैका पराजित हुन पुगेको हो । फिलिप्स आउट भएलगत्तै १३ औं ओभरको पाँचौ बलमा ब्ल्याकवुड २५ रनमा क्याच आउट हुन पुगे । उनले ३८ बलमा २ चौका प्रहार गरे । चाडविक वाल्टन १० रनमा रन आउट भए ।
जाहिर खानले कप्तान रोभमान पवेललाई २ र आन्द्रे रसेललाई शून्यमा क्याच आउट गर्दै जुक्सलाई खेलमा फर्काएका थिए । तल्लोक्रममा निकोलस किर्तोनले १५ बलमा २ छक्का र १ चौका सहित २५ रन जोड्दै रनको अन्तर घटाए । सन्दीप लामिछाने र विरसामी पेरुमलले खाता खोल्न सकेनन् । सन्दीपलाई १९ औं ओभरको अन्तिम बलमा केस्रिक विलियम्सले मोहम्मद नाबीबाट क्याच गराए ।
जुक्सका जावेल ग्लेन ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । जाहिर खानले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । केस्रिक विलियम्सले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि ब्रायन लारा स्टेडियममा टस जितेर ब्याटिङ रोजेको जुक्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४५ रन बनायो । जुक्सका नाजिबउल्लाह जद्रानले २५ बलमा १ चौका र ३ छक्का सहित सर्वाधिक ३५ रनको योगदान दिए । रोश्टन चेश ३६ बलमा १ चौका र १ छक्का सहित ३२ रन अविजित रहे ।
चौथो ओभरको अन्तिम बलमा स्पिनर मुजिब उर रहमानले मार्क डियाललाई ग्लेन फिलिप्सबाट १३ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए । सातौं ओभरको दोस्रो बलमा आन्द्रे फ्लेक्चरलाई कार्लोस ब्रेथवेटले जर्मेन ब्ल्याकवुडबाट १ रनमा क्याच आउट गराए ।
आठौं ओभरको अन्तिम बलमा सन्दीपले ओपनर रहकीम कर्नवाललाई ३२ रनमा बोल्ड आउट गर्दै पेभिलिएन फर्काए । कर्नवालले २९ बलमा २ चौका र ३ छक्का प्रहार गरे । १० औं ओभरको चौथो बलमा स्पिनर विरसामी पेरुमलले मोहम्मद नाबीलाई मुजिबबाट २ रनमा क्याच गराउँदै ६३–४ को अवस्थामा पुर्याए । पाँचौ विकेटका लागि जद्रान र चेशले ६१ रनको महत्पूर्ण साझेदारी गरेका थिए ।
सन्दीप लामिछानेले ४ ओभरमा १ मेडन सहित २० रन खर्चेर १ विकेट लिए । मुजिब उर रहमानले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । फिडेल एडवार्ड्स, कार्लोस ब्रेथवेट र विरसामी पेरुमलले १–१ विकेट लिए ।
पहिलो सेमिफाइनलमा लिग चरणको अपराजित ट्रीनबेगो नाइट राइडर्ससँग जमैका मंगलबार खेल्ने छ । मंगलबार रातीनै अर्को सेमिफाइनलमा गुयाना एमेजन वारियर्स र सेन्ट लुसिया जुक्स भिड्ने छन् । फाइनल बिहिबार हुने छ ।

hamrokhelkud

Leave a Reply