काठमाडाैं ।
प्रदर्शनमा आएको तीन महिना बितिसक्दा फिल्म ‘पण्डित बाजेको लौरी’ बिरुद्ध सर्वोच्च अदालतमा मुद्धा परेको छ । बादी समुदायमाथि सामुदायिक हानी तथा क्षती भएको भन्दै निर्देशक दिपक वली र निर्माता थमनकुमार भण्डारी बिरुद्ध उजुरी परेको हो ।
बादी समुदायको तर्फबाट गंगाबहादुर भुजेलले जाहेर गरेको मुद्धामा नेपाल सरकारलाई पनि बिपक्षी बनाइएको छ । गत कार्तिक १५ गते सर्बोच्चमा दर्ता भएको मुद्धाको जवाफ मंसिर ५ गते (बुधबार) मात्रै अदालतले फिल्म निर्देशक वलीसँग मागेको छ ।
प्रस्तुत निवेदनमा भनिएको छ , ‘उपरोक्त विषयले हामी समग्र बादी समुदायमाथि सामुदायिक हानी तथा क्षती भएकोले उक्त कार्यबाट बिपक्षहरुले गरेको लाभको रकम बादी समुदायको समष्टी हित र सरोकार एवं बादी समुदायको हित र विकासका क्षेत्रमा खर्च गर्नेगरी आवश्यक आदेश पाउँ, साथै यस्तै सामुदायिक हाी तथा क्षती भएको अवस्थामा सम्बन्धित समुदायलाई सो को लागि उचित क्षतिपुर्ति उपलब्ध गराउन कानुनको तर्जुमा गर्न सरकारको नाउँमा आदेश जारी गरी पाउँ ।’
यो विषयमा कुरा गर्दै निर्देशक वलीले आफुहरुले नेपाल सरकारको तर्फबाट चलचित्र जाँचपास समितिको स्विकृतिमा फिल्मको सेन्सर पास गरेको र आवश्यक काँटछाँट पनि गरेरै फिल्म प्रदर्शन गरिसकेको भन्दै प्रदर्शनको लामो समयपछि परेको उजुरी नियतबस भएको आरोप लगाए ।
अदालतले मागेको जवाफ दिन आफु र फिल्म निर्माण टिम तयार भएको वलीको भनाइ छ । यहि मंसिर १४ गते लिखित जवाफ पेस गर्न सर्बोच्चले अल्पकालिन अन्तरिम आदेश पनि दिएको छ । यसअघि पनि प्रदर्शनको पहिलो हप्तामै बादी समुदायले आफ्नो समुदायिक हानी भएको भन्दै फिल्म प्रदर्शन रोक्न लगाएको थियो । यो फिल्म गत साउनको ४ गते रिलिज भएको थियो ।