काठमाडाैं ।
भाद्र ५ गतेबाट अभिनेत्री रेखा थापालाई ३७ वर्षले स्वागत गरेको छ । पिता प्रेम थापा र माता सरस्वती थापाको कोखबाट जन्मिएकी उनी नायिका, निर्देशक, निर्माता, संगीतकार, निर्मात्री हुन् ।
छविराज ओझाको फिल्म ‘हिरो’ बाट अभिनय यात्राको सुरुवात गरेकी उनले यस वर्षको लक्ष्मीपूजामा प्रदर्शनमा आउन लागेको फिल्म ‘मालिका’ सम्म आइपुग्दा २ सय बढी फिल्ममा आफ्नो अभिनयको जादू छरिसकेकी छन् ।
आलोचना र प्रशंसाको अभिन्न मित्र बनेकी रेखा एक दशक अगाडिदेखि ‘नम्बर वान’ अभिनेत्रीको यात्रामा स्थिर छिन् । ‘डायरी’, ‘रुद्रप्रिया’, ‘पलाँस’ फिल्म बक्सअफिसमा डुब्दा भने उनको स्टारडमले ठाउँ छाड्न थालेको धेरैको तर्क छ ।
रेखा अभिनीत ‘हिरो’, ‘मितिनी’, ‘धड्कन’, ‘हामी तीन भाई’, ‘कर्णवीर’, ‘दुर्गा’, ‘देवर बाबु’, ‘हिम्मत’, ‘किस्मत’, ‘हिफाजत’, ‘अन्दाज’, ‘रावण’, ‘कस्ले चोर्यो मेरो मन’, ‘हिम्मतवाली’, ‘रामप्यारी’ जस्ता फिल्मलाई दर्शकले अत्याधिक रुचाएको पाइन्छ । जुन व्यवसायिक रुपमा पनि सफल ठहरिए ।