Thu. Jan 16th, 2025

काठमाडाैं ।
रिलिजको हिसाबले यो शुक्रवार नेपाली फिल्मका लागि भिडभाडयुक्त देखिएको छ । विदेशीबाहेक मात्र हलमा चार-चार नेपाली फिल्म लागेका छन्, ‘बाबु कान्छा’, ‘वीराङ्गना’, ‘यो पागल मन’ र ‘बोबी’ ।
बलिउड सुपरस्टार सलमान खानको ‘रेस ३’ र सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जू’ ले करीब १ महिना नेपाली हलमा एकलौटी वर्चश्व कायम गर्दा धेरै नेपाली फिल्मको रिलिज तितरवितर भएका थिए । जसकारण यस शुक्रवार चार फिल्म रिलिज हुन पुगेका हुन् ।
हल र दर्शक संख्याका हिसाबले एकै साता चार फिल्म रिलिज हुनुलाई व्यापारिक रूपमा जोखिमपूर्ण मानिन्छ ।
राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्म ‘वीराङ्गना’ लभस्टोरी एक्सन जनरामा निर्माण भएको छ । फिल्ममा अनसप विक्रम शाही, शिल्पा पोखरेल, पृथ्वीराज प्रसाईँ, प्रज्वल गिरी, शुशिल पोखरेल, ध्रुव कोईराला, प्रिया रिजाल, धिरेन शाक्यलगायतको अभिनय रहेको छ ।
विवाहपछि काँचको पर्दाबाट टाढा रहेकी अभिनेत्री ऋचा सिंह ठकुरी स्टारर फिल्म हो ‘यो पागल मन’ । यसका उनको जोडी अभिनेता विनोद न्यौपानेसँग बाँधिएको छ ।
कल्याण अधिकारी निर्देशित यस फिल्मलाई बिरेन्द्र कुमार यादब र कल्याणले मिलेर निर्माण गरेका हुन् । गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारीलगायतका कलाकारहरुको पनि यो फिल्ममा अभिनय छ ।
पछिल्लो रिलिज फिल्म ‘ए मेरो हजुर २’ बाट थप लोकप्रियताको शिखर चढेका अभिनेता सलोन बस्नेतको लिड अभिनय रहेको फिल्म ‘बाबु कान्छा’ लाई उनकै पिता शोभित बस्नेतले निर्माण र अभिनय गरेका हुन् । उनको अपोजिटमा रियल प्रेमिका करिश्मा श्रेष्ठ छिन् ।
यसमा नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, अश्लिन ज्ञवाली, ज्योत्सना महर्जनलगायतको पनि अभिनय रहेको छ ।
बलिउड अभिनेता सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जू’ को खुब चर्चा भइरहँदा यस हप्ता नेपाली हलमा उमेश थापा र कविता गुरुङको बायोपिक फिल्म ‘बोबी’ प्रदर्शनमा आएको छ । यी दुईको वास्तविक प्रेमकथालाई निर्देशक मिलन चाम्सले पर्दामा उतारेका छन् ।
रोचक कुरा त फिल्ममा रियल कपलकै अभिनय छ । गएको बुधवार राजधानीमा गरिएको प्रिमियरमा फिल्मले सबैबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो । विजय लामा, रुबी राणा शाह, देशभक्त खनाललगायतका कलाकारहरुको फिल्ममा अभिनय छ ।

Leave a Reply