Tue. Apr 30th, 2024

मनोरंजनसंसार डटकम
कति फिल्ममा गुदी हुन्छन्, कतिले मनोरञ्जनसँगै सन्देश प्रवाह गर्ने उद्देश्य राख्छन् । कतिको उद्देश्यचाहिँ मनोरञ्जन मात्र हुन्छ, जहाँ कथाभन्दा कमेडीले प्रधानता पाउँछ । संवेदना र भावनाको खास मूल्य हुँदैन । हाउसफुल सिरिजको तेस्रो फिल्म हाउसफुल ३ हेरेपछि त्यस्तै लाग्छ ।
जैकी श्राफ, अक्षयकुमार, अभिषेक बच्चनजस्ता कहलिएका कलाकार लिएर निर्देशकद्वय साजिद–फरहादले दर्शकलाई भरमार हँसाउने प्रयास गरेका छन् । त्यसका लागि पात्र र कथालाई अतिरञ्जित गरिएको छ । हाउसफुल र हाउसफुल २ हेरेकालाई यो प्रवृत्ति नौलो नहोला तर बाँकी दर्शकलाई हाउसफुल ३ पचाउन मुस्किल पर्छ ।
लन्डनका धनाढ्य व्यापारी बटुक (बोमन इरानी)का तीन छोरी हुन्छन्, गंगा (ज्याकलिन फर्नान्डेज), जमुना (लीजा हेडन) र सरस्वती (नरगिस फाखरी) । बटुकले छोरीहरूको विवाह हरहालतमा गर्न चाहँदैनन् । उनीहरू पनि बाबुको इच्छा पूरा गर्ने सुरमा छन् तर सान्डी (अक्षयकुमार), बन्टी (अभिषेक) र टेड्डी (रितेश देशमुख)को प्रेममा परेपछि उनीहरूको सोचमा बदलाव आउँछ । अब छोरी र प्रेमी मिलेर बटुकलाई विवाहका लागि मनाउन गर्ने विभिन्न हतकण्डामै फिल्म केन्द्रित छ । क्लाइमेक्सको ट्वीस्ट फिक्का लाग्छ ।
कमेडीका लागि पनि नयाँ कथा रच्न सकिन्छ । यसो हुँदा दर्शकले थप फ्रेस महसुस गर्न पाउँछन् तर लेखनबाटै निर्देशनमा फड्को मारेका साजिद–फरहादले कथालाई रसिलो बनाउनै अल्छी गरेका छन् । धनी बाबु, विन्दास छोरी अनि धन कुम्ल्याउन खोज्ने प्रेमीका कथा बलिउडका लागि बासी हो । हाउसफुल ३ मा यही पुरानो फर्मुलालाई ओल्टाईपल्टाई मात्र गरिएको छ ।
पटकथामा बेवास्ता गरिए पनि हरेक दृश्यमा अस्वाभाविक शैलीमा कमेडी घुसाउन कुनै कसर बाँकी राखिएको छैन । हरेक पात्रलाई ‘लाउड’ र भावुक दृश्यलाई समेत हल्का र हास्य शैलीमा देखाइएको छ ।
फिल्मको सशक्त पक्ष शानदार लोकेसन र खिचाइ हो । विकास शिवरमनले लन्डनमा खिचेका दृश्य बडो चहकिला र स्वर्णिम लाग्छन् । सेट त्यस्तै भव्य छ । दोहोरो अर्थ लाग्ने संवादको प्रचूर प्रयोग छ । सांगीतिक पक्ष अघिल्ला दुई फिल्मको तुलनामा कमजोर छ । मुखमा झुन्डिने गीत छैन । हिरोइनलाई कामुक अवतारमा उतारिएको छ । हास्यप्रधान चरित्रमा अक्षयकुमारले फेरि उम्दा काम गरेका छन् । अभिषेक, रितेश, ज्याकलिन, लीजा र नरगिस पनि आफ्नो भूमिकामा फिट छन् ।
फिल्मलाई ‘टाइम पास’को माध्यम मान्नेले नछुटाउँदा हुन्छ । तर, पर्दामा जे देखाइन्छ, त्यसमै रम्नुको विकल्प छैन । तर्क र कारण खोज्न थालियो भयो हाउसफुल ३ हेर्दा आफैँ ‘फुल’ (मूर्ख) हुनुपर्छ ।

%d bloggers like this: