स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छु : अभिनेता मदनकृष्ण श्रेष्ठ

काठमाडाैँ। हास्य कलाकार एवम् अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताएका छन्।

उनी अभिनीत फिल्म ‘महापुरूष’ बारे जानकारी दिन हालै आयोजित पत्रकार सम्मेलनमा उनले अभिनय र आफ्नो स्वास्थ्यका विषयमा कुराकानी गरे।

‘मलाई अभिनय गर्न मन लाग्छ। तर स्वास्थ्यले कहिलेकाहीँ साथ दिँदैन। तर पनि म आफ्नो शरीरलाई जबर्जस्ती नै काममा व्यस्त बनाउँछु’, अभिनेता श्रेष्ठले भने। महापुरूष नेपाली चलचित्र भाइटीकाको भोलिपल्ट प्रदर्शन हुने तयारीमा छ।

उनी पछिल्लो समय आफ्नो अभिनय र गायनमा सक्रियता घटेको स्वीकार्छन्। यद्यपि महसञ्चारबाट बनेका भिडिओ सामग्रीमा सकेको समय काम गरिरहेका छन्।

‘बाहिर काम गर्न केही असहज भने हुन्छ, महसञ्चारमा भने सुविधाअनुसार काम गर्ने गरेको छु। यो फिल्ममा हाम्रै टेलिशृङ्खलाबाट निर्देशनको सुरूआत गर्नुभएका प्रदीप भट्टराई निर्देशक भएकाले काम गरेको हुँ’, अभिनेता श्रेष्ठले भने।

लेखकसँगै निर्देशकसमेत रहेका भट्टराईले अभिनेता श्रेष्ठको स्वास्थ्यलाई ख्यालमा राख्दै दृश्य तयार गरिएको जानकारी दिए।

‘काठमाडौंमै छायाङ्कन हुने भएकाले उहाँको सुविधाअनुसार अभिनय गराएको हुँ। मदन दाइ र हरि दाइ मेरा लागि स्कुल हुनुहुन्छ। उहाँहरूलाई ठूलो पर्दामा दोस्रोपटक निर्देशक गर्न पाउँदा खुसी लागेको छ’, निर्देशक भट्टराईले भने।

उनीहरूले यस अगाडि ‘शत्रु गते’ मा काम गरेका थिए।

पत्रकार सम्मेलनमा हास्य कलाकार एवम् अभिनेता हरिवंश आचार्यले अभिनेता श्रेष्ठको इच्छाशक्तिको चर्चा गरे।

‘मदन दाइलाई पर्दामा सँगै पाउँदा छुट्टै ऊर्जा प्राप्त हुन्छ। यसअगाडिका फिल्महरूझैं यसमा पनि उहाँ जोडिँदा धन्य भएको छु’, अभिनेता आचार्यले भने।

Leave a Reply

Back To Top