काठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई साफ च्याम्पियनशिप आयोजन गर्न औपचारिक रुपमा प्रस्ताव गरेको छ ।
नेपालमा आगामी अक्टोबरमा १३औँ संस्करणको साफ च्याम्पियनशिप गर्न एन्फालाई महासङ्घले पत्र पठाएको हो । साफका महासचिव अनवारूल हकले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै साफ च्याम्पियनशिप आयोजनका लागि प्रस्ताव पठाएको एन्फाले जनाएको छ । यसअघि नेपालले साफ च्याम्पियनशिपका लागि महासङ्घलाई प्रस्ताव पठाएको थियो ।
बङ्गलादेशमा आयोजना गर्न तय भएको साफ च्याम्पियनशिप कोरोना महामारीका कारण हुन सकेको थिएन । बङ्गलादेशले प्रतियोगिता आयोजना गर्नबाट हात झिकेपछि नेपालले इच्छा देखाएको हो । नेपालले यसअघि सन् १९९७ तथा सन् २०१३ मा साफ च्याम्पियनशिप आयोजना गरिसकेको छ ।
