काठमाडाैं ।
विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत अभिनित फिल्म ‘प्रसाद’लाई युरोपियन मुलुकहरुमा उच्च माग भएको निर्माण टिमले जनाएको छ । मंसिर २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रसाद’को ट्रेलरमा बजेको ‘लै ल’ ‘बोलको गीत र यसमा देखाइएको कथालाई लिएर दर्शकहरु फिल्म हेर्न उत्सुक भएको बुझिएको छ ।फिल्म ‘प्रसाद’को विशेषगरि अहिले युरोपियन मुलुकहरुमा हाई डिमान्ड रहेको बताइएको छ ।
युरोप वितरणको अधिकार लिएका सुरज कार्कीका अनुसार, युरोपका ११ देशमा फिल्म प्रदर्शन पक्का भइसकेको छ । ११ देशमा २० शो बुक भइसकेको र अन्य देशबाट पनि फिल्मको माग बढिरहेको उनले बताए । डेनमार्क, पोल्याण्ड, माल्टा, जर्मनी, फिनल्याण्ड, अष्ट्रिया, पोर्चुगल, बेल्जियम, नर्वेमा फिल्म प्रदर्शन हुने तय भइसकेको छ ।
फिल्मको पहिलो युरोप शो डिसेम्बर १४ मा फिनल्याण्डमा हुनेछ । एक दर्जन बढी फिल्मको युरोप वितरकका रुपमा काम गरिसकेका कार्कीले ‘छक्का पञ्जा ३’ पछिको उच्च डिमान्डेड फिल्म ‘प्रसाद’ रहेको बताएका छन् । यसअघि ‘छक्का पञ्जा ३’ ले युरोपमा अहिलेसम्मकै उच्च ३० शो पाएको थियो ।
विदेशमा बस्ने नेपाली दर्शकमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको राम्रो क्रेज हुनुका साथै गीतले दर्शकको अत्याधिक मन जितेका कारण युरोपमा फिल्मको उच्च माग रहेको कार्कीको भनाई छ ।