काठमाडौं, ७ मंसिर ।
गिनिज बुक अफ वल्र्ड अर्थात् विश्वमा कसैले गर्न नसक्ने काम गरेर राखिने कीर्तिमान हो । यहि विधामा एउटा नाम थप्ने उद्देश्यले नृत्यांगना वन्दना नेपाल एक सय २६ घण्टा लगातार नाचेर विश्वर कीर्तिमान बनाउँदै छिन् ।
कक्षा १२ मा अध्ययनरत बन्दना त्यस्तै अद्भुत कला र क्षमताका साथ गिनिज बुकमा कीर्तिमान लेखाउने दाउमा छिन् । लगातार १ सय २६ घण्टा सम्म नाचेर विश्व कीर्तिमान बनाउन आफ्नो कला शुक्रबारबाट प्रस्तुत गरेकी छिन् ।
धनकुटाकी बन्दनाको नाच्ने शोख र नाचेरै विश्वमा आफूलाई चिनाउन र नेपालको थप पहिचान लेखाउने उनको परिवारको आश छ । यसअघि, एक सय २३ घण्टा नाचेर विश्व कीर्तिमान कायम गरेकी भारतकी केरलाकी कलामण्डल हेमथलाको कीर्तिमान खोस्ने उनको दाउ आफैमा लोभलाग्दो छ । बन्दनाको यो उत्साह र साहसलाई लिएर उनका बाबु पनि दंग छन् ।
बत्तिसपुतलीस्थित विग फुडल्याण्डमा सुरु भएको यो कीर्तिमान कायम गर्ने नाच अवलोकन गर्न पर्यटनमन्त्री रविन्द्र अधिकारी तथा ऊर्जामन्त्री वर्षमान पुन लगायत अन्य विशिष्ट व्यक्तिको समेत उपस्थिति थियो । बत्तिसपुतलीस्थित विग फुडल्याण्ड होटलमा भईरहेको कार्यक्रमका संयोजक हरिचन्द्र राउत तथा सह–संयोजक सन्तोष लामाले गरेका हुन् ।