काठमाडाैं ।
पहिलो मिस नेपाल रुबी राणादेखि २०१७ की मिस नेपाल निकिता चन्दकसम्मले नेपाली फिल्ममा आफ्नो अभिनय यात्राको शुभारम्भ गरिसकेका छन् । तर, दुर्भाग्य ! कुनै पनि मिस नेपालको ग्ल्यामर फिल्ड सोचेजस्तो हुन सकेको छैन ।
अनमोल केसीसँगको फिल्म ‘गाजलु’ हिट भएपछि पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ प्रति भने केही आश गरिएको छ । नभए, अधिकांश पूर्वमिस नेपालको फिल्मी करिअर ‘न यता न उता’ को भएको छ ।
यो प्रसंग जोड्नुको कारण २०१७ की मिस नेपाल निकिता चन्दक हुन् । मिस नेपालको ताज पहिरिएपछि उनलाई फिल्ममा लिन केही निर्माता/निर्देशक लाइनमै लागे । जब श्रृंखला खतिवडाले २०१८ को मिस नेपाल उपाधि जितिन् त्यसपछि उनी खुल्ला भइन् ।
आफ्नो नाम अगाडि ‘पूर्वमिस नेपाल’ झुन्डिएको केही दिनमै निकिताले साइन गरिन् पहिलो फिल्म ‘रानी महल’ । उनीभन्दा अगाडि योे फिल्म अभिनेत्री वर्षा सिवाकोटीले साइन गरेकी थिइन् । तर, फ्लोरमा जान ढिलाई भएपछि वर्षा फिल्मसँग जोडिरहन सकिनन् । उनले हात झिके लगत्तै फिल्ममा निकिता भित्रिइन् ।
उनले यो फिल्मका लागि १० लाख पारिश्रमिक बुझेकी छिन् । साइन गर्दा ५ लाख र सुटिङको आधाउधीमा ५ लाख पाउने सहमतीमा निकिता फिल्म ‘रानी महल’ को लिड रोेलमा अनुवन्धित भएकी थिइन् । केही हप्ता वर्कशपमा समय विताएपछि फिल्म यूनिट सुटिङका लागि पाल्पा लाग्यो ।
रोचक कुरा त फिल्मको २० प्रतिशत मात्र छायांकन सकिँदा निर्माताको २ करोड स्वाह भयो । फिल्मको सुटिङ सकिँदासम्म ५ करोड लाग्ने भएपछि अब ‘रानी महल’ नबन्ने अवस्थामा पुगेको छ । यसले निर्मातालाई विल्लीबाठ त बनायो नै उता अभिनेत्रीको रुपमा चिनाउन नपाउँदै निकिताको करिअरमाथि ठूलो बज्रपात भएको छ ।
‘रानी महल’ अब पूरा नहुँदै थन्किए उनको हातमा नयाँ प्रोजेक्ट पर्ने सम्भावना निकै न्यून रहन्छ । यो सबै हेर्दा त फिल्मको यात्रा निकिताका लागि पहिलो गाँसमा ढुंगाझैँ भएको छ ।
फिल्मीखबर