Wed. Jan 22nd, 2025
काठमाडाैं । 
 नेपाल राष्ट्र बैंकले  सुपरहिट चलचित्र ‘लुट’का  निर्माता माधव वाग्लेको साथबाट बरामद भएको २ करोड ५२ लाखको नोट ‘नक्कली’ भएको पुष्टि गरेको छ । गएको बुधवार  प्रहरीले बोरा र कार्टुनभित्र राखिएका करोडौं रुपैयाँ बराबरका नक्कली नोट बरामद गरेको थियो ।
उनले आफू निर्मित नयाँ फिल्म ‘चङ्गा चेट’ को प्रयोजनका लागि नक्कली नोट छापेको प्रहरीसमक्ष बयान दिएका छन् । काठमाडौं प्रहरी परिसरले वाग्लेको साथबाट बरामद भएको नोट नक्कली वा सक्कली हो भन्ने पुष्टि गर्न राष्ट्र बैंकलाई पत्र काटेको थियो ।
उक्त नोट ‘जाली’ रहेको पुष्टि गर्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६१, ९५ र ९६ मा भएको व्यवस्था अनुसार कानुनी कारबाही अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएको छ । गत बुधवार प्रहरीले नेपाली हजार रुपैयाँ दरका नक्कली नोटसहित निर्माता वाग्लेसहित ६ जनालाई पक्राउ गरिसकेको छ ।
महेन्द्र बोगटीले गोंगबुको मित्रनगरस्थित एक खाजाघरमा खाजा खाएको पैसा तिर्दा हजारका दुई नोट दिएका थिए । उक्त नोट ‘जाली’ रहेको शंका लागेपछि सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । र, प्रहरी अनुसन्धान गर्दै निर्माता वाग्लेको कार्यालयसम्म पुगेको थियो । अनुसन्धानको क्रममा प्रहरीले कूल दुई करोड ६० लाख ६३ हजार नक्कली नोट बरामद गरेको थियो ।

Leave a Reply