Sun. Feb 23rd, 2025

मनोरंजनसंसार डटकम
gaurav-pahari
अग्लो कद, सिक्स प्याक एब्स, लामो केश, झ्याप्प दाह्री–जुँगा । अभिनेता गौरव पहारीलाई दर्शकहरूले अब ठ्याक्कै यही रूपमा देख्न पाउने छन् । हालै घोषणा गरिएको चलचित्र ‘ग्याङ्स्टर ब्लुज’ मा गौरव यो दुलर्भ स्वरूपमा प्रस्तुत हुन मानसिक रूपले तयार भैसकेका छन् भने शारीरिक रूपमा तयार हुन पनि मेहनत गर्न थालिसकेका छन् ।
हेमराज बिसीले निर्देशन गर्ने उक्त चलचित्रमा गौरव पहिलो पटक नकारात्मक भूमिका निर्वाह गर्दैछन् । ‘बुवा टीका पहारीको बिँडो थाम्ने प्रयास गर्दैछु, साप्ताहिकसँगको एक भेटमा गौरव भन्दै थिए– ‘चलचित्रमा दर्शकले मलाई भिलेनका रूपमा पाउनु हुनेछ ।’ करिब सात महिनापछि छायांकन प्रारम्भ हुने यो चलचित्रका लागि गौरवसहित अभिनेता आशिरमान श्रेष्ठ तथा अभिनेत्री आना शर्माले पनि आ–आफ्नै तरिकाले तयारी थालिसकेका छन् ।
‘यो चलचित्र मेरो करियरकै टर्निङ प्वाइन्ट हुनेछ, गौरव भन्छन्– ‘नकारात्मक भूमिकामा समेत दर्शकले मलाई मन पराउनु हुनेछ भन्ने कुरामा ढुक्क छु ।’ त्यसो त प्रदर्शनको तयारीमा रहेका चलचित्र ‘गाजलु’ तथा ‘रातोघर’ मा समेत आफूले उत्कृष्ट अभिनय गरेको गौरवको दाबी छ ।