मनोरंजनसंसार डटकम
नेपालको ख्यातिप्राप्त लोक-शास्त्रीय सांगीतिक समूह सुकर्म इटाली र स्विट्जरल्याण्डका विभिन्न शहरहरूमा सांगीतिक प्रस्तुति दिने भएको छ। एक महिने सांगीतिक यात्रका लागि सुकर्म गत शनिबाट इटालीको सारजानातर्फ गइसकेको छ।
‘सुकर्म’को भ्रमणटोलीमा डा. ध्रुवेशचन्द्र रेग्मी सितारमा र उमेश पण्डित बाँसुरीमा छन्। त्यसैगरी ‘सुकर्म’लाई तवलामासाथ दिन न्यूयोर्कवाट अभिरोध शर्मा युरोप पुग्नेछन्। वेष्ट इन्डिजका तवलावादक शर्मा न्यूयोर्कमा इष्ट इन्डियन म्युजिक एकेडेमी मार्फ संगीत प्रशिक्षण तथा प्रस्तुती दिदैं आएका छन्। ग्रामी अवार्डको उत्कृष्ट म्युजिक एल्बमका लागि मनोनयनमा समेत परिसकेका शर्माले विगतमा नेपाल भ्रमण गरेर ‘सुकर्म’सँग सांगीतिक साझेदारी गरिसकेका छन्।
‘हामी विगत एक दशकदेखि युरोपमा विभिन्न सांगीतिक महोत्सवहरू र नेपाली तथा नेपाललाई माया गर्ने व्यक्ति तथा संस्थाहरूको निमन्त्रणामा सांगीतिक प्रस्तुति दिदै आएका छौं’, युरोप प्रस्थान गर्नु अघि सुकर्मका डा. ध्रुवेशचन्द्र रेग्मीले भने, ‘यस वर्ष हामी इटालीको पियज्जा शहरमा संसारभरका ३०० भन्दा बढी संगितज्ञ सम्मिलित महोत्सवमा भाग लिदै छौँ। साथै, नेपालमा बालगृह तथा भूकम्पवाट तहस-नहस संरचनाहरूको पुननिर्माणका लागि सहयोग जुटाइने कन्सर्टहरूमा पनि हामी भाग लिनेछौँ।’
