Thu. Apr 10th, 2025

बलिउड हुँदै हलिउडसम्म आफ्नो चमक देखाइसकेकी नायिका प्रियंका चोपडा अब भने भारतकै सानो उद्योग भोजपुरीमा देखिने भएकी छन् । त्यसो त भोजपुरी फिल्ममा हाम्रा विराज भट्ट पनि गिन्तीकै नायकमा पर्छन् ।
प्रियंकाकी आमा मधुले छोरीले भोजपुरी फिल्म खेल्नेतर्फ संकेत गर्दै भनेकी छन्, ‘छोरीले कहिल्यै विशेष क्षेत्रका आधारमा नखेल्ने गर्दिनन् । यसअघि पनि उनले तमिल–तेलुगु फिल्म खेलिसकेकी छन् भने राम्रो पटकथा आएको खण्डमा भोजपुरीमा पनि काम गर्नेछिन् ।’
अहिले नै भने उनको प्रोडक्सन हाउसले पिबल पिक्चर्ससँग मिलेर भोजपुरी फिल्म ‘बम बम बोल रहा है काशी’ बनाएको छ ।
आमा मधुले थपिन्, ‘बिहार प्रियंकाका लागि सधैं खास रहँदै आएको छ । उनी जन्मेहुर्केको मात्रै नभई स्कुल शिक्षा पनि यहीं लिएकी थिइन् । मिस वल्र्ड भएपछि पनि प्रियंकाले पहिलो भ्रमण बिहारकै गरेकी थिइन् । त्यसैले पनि उनको प्रोडक्सन हाउसले पहिलो फिल्म भोजपुरीकै निर्माण गरेको हो ।’ यति बेला भने प्रियंका हलिउडमा ‘बेवाच’ को सुटिङमा व्यस्त छिन् ।
प्रियंका भोजपुरीतर्फ तानिइरहेका बेला बलिउडकी अर्की नायिका सन्नी लियोनी भने तेलुगुतर्फ लागेकी छन्, जुन उनको दोस्रो तेलुगु हुनेछ । त्यसो त सन्नीले यसअघि तमिल र कन्नड फिल्ममा पनि काम गरिसकेकी छन् ।