Sun. Feb 23rd, 2025

मलाई कस्तो कस्तो लाग्छ
जब तिमी आफ्नो केशलाई
पिठ्यूभरि
छरेर बसेकी हुन्छ्यौ
लाग्छ,
आकाशमा बादल उठेको छ
तिम्रो अनुहारभरि
फिंजिएको आभा देख्दा
लाग्छ,
प्रकृति आफ्नो रूप बटुलेर
कुनै स्वप्नमा बसेको छ
जब तिमी लज्जालु हुँदै…………..

basantaहो यिनै कविताका शेरहरु कवि एवं गीतकार वसन्त चौधरी सिंगापुरमा वाचन गर्दै थिए अनि गुञ्जियो हलमा तालीको बर्षा । विश्वकाव्य यात्राकै क्रममा वसन्त चौधरी सिंगापुरमा यस्तो कविता वाचन गरेका थिए । डेढ वर्षअघि सुरु गरेको वसन्त चौधरीको विश्वकाव्य यात्राको १४औं शृंखला सोमबार सिंगापुरमा सम्पन्न भएको छ। दक्षिणपूर्वी एसियाको अत्यन्तै रमणीय सहर सिंगापुरस्थित सिभिल सर्भिस सेन्टरको प्रेक्ष्यालयमा आफ्ना प्रेमिल कविताका साथ चौधरी प्रस्तुत भएका हुन्। कार्यक्रममा कवि चौधरीको साहित्यिक एवं सामाजिक व्यक्तित्व, कृतित्व समेटिएको श्रव्यदृश्य सामग्री पनि प्रस्तुत गरिएको थियो। एक दर्जनभन्दा बढी स्थानीय कलाकारको सहभागितामा चौधरीद्वारा रचित गीतहरू पनि प्रस्तुत गरिएको थियो।