टोरन्टोमा सुनकलीलाई अडियन्स च्वाइस अवार्ड

पत्रकार भोजराज भाटद्वारा निर्देशित डकुमेन्ट्री सुनकलीले टोरन्टो नेपाली फिल्म फेस्टिवलमा १ हजार अमेरिकी डलरको अडियन्स च्वाइस अवार्ड जितेको छ । क्यानाडा राजधानी टोरन्टोमा शनिबार सम्पन्न छैटौं टोरन्टो नेपाली फिल्म फेस्टिवलमा सुनकलीलाई उक्त अवार्ड दिइएको हो । टोरन्टो नेपाली फिल्म फेस्टिवलको आधिकारिक फेसबुक तथा ट्वीटरमा उक्त घोषणा गरिएको हो । एक दिवसीय उक्त फिल्म फेस्टिवलमा नेपालबाट फिक्सन र नन–फिक्सन गरी सात वटा फिल्महरु प्रदर्शन गरिएका थिए ।

दशौं संस्करणको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव किम्फ)मा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा सर्वोत्कृष्ट भएको केसाङ छेतेनको ‘हु वील बी गोर्खा’ र किम्फको १२ औं संस्करणमा नेपाली पानोरमामा उत्कृष्ट भएको लक्क्ष वान्तवाको ‘पवन’, इलम दीक्षितको ‘रेड मनसुन’, पासाङदावा शेर्पाको ‘क्यारक्यार पन्खा’, सुजित विडारीको सावित्री, विभुषण बस्नेत तथा पुजा गुरुङको डम्बरे डेन्ड्राइड र भोजराज भाटको सुनकली प्रतिष्पर्धामा सहभागी थिए ।

sunakali 2

पत्रकार भाटको सुनकलीले यसअघि स्लोभानियााको ‘माउण्टेन फिल्म फेस्टिबल दोम्जालेमा’ मा माउण्टेन, नेचर तथा कल्चर विधामा जुरी अवार्ड पाएको थियो । त्यसैले किम्फको १२ औं संस्करणमा पनि एक हजार अमेरिकी डलरको इसिमोड अवार्ड र जुरी अवार्ड पनि पाएको थियो । सुनकलीको ‘वल्र्ड प्रिमियर’ किम्फको १२ औं संस्करणको पहिलो ओपनिङ फिल्मका रुपमा भएको थियो । मुगुकी १३ वर्षीया सुनकली र उनको फुटबल टिमले जिल्ला बाहिरसम्म पुगेर गरेको जितको अनुभवसम्मलाई पत्रकार भोजराज भाटले डकुमेन्टेसन गरेका हुन् ।

 कोरियाली संस्था गुड नेवर्स इन्टरनेश्नल सुनकलीको निर्माता हो । ‘साधारण विषयवस्तुलाई कलात्मक तरिकाले फ्लोअप गरिरह्यो भने उत्कृष्ट डकुमेन्ट्री बन्न सक्छ भन्ने उदाहरण हो–सुनकली,’ पुरस्कार घोषणापछि पत्रकार तथा निर्देशक भाटले भने, ‘अब हामी विभिन्न मुलुकमा च्यारिटी शो गर्ने योजना बनाउँदैछौं, जसबाट उठेको रकम मुगु र हुम्लाका चेलीहरुको गुणस्तर शिक्षामा खर्च गर्ने योजना छ ।’