Tue. May 13th, 2025

हलिउडकी चर्चित पप गायिका तथा अभिनेत्री सेलेना गोमेजले आफूलाई नै विश्वास गर्दिनन् । उनी भन्छिन्, ‘अभिनय मेरा लागि पहिलो प्रेम हो तैपनि मेरो अभिनय क्षमतामा मलाई विश्वास छैन ।’ गायनका आलवा अभिनयमा समेत करिअर बनाइसकेकी गोमेज भन्छिन्, ‘हिजोआज पनि आफूलाई सक्षम बनाउन प्रयत्नरत छु ।’ २१ वर्षीया गोमेज आफ्नो फिल्मी करिअरलाई लिएर बढी चिन्तित रहेको बताएकी छन् ।
पछिल्लो समय गायनमा भन्दा फिल्मी अभिनयमा मोहित गोमेजले ‘टिन वोग’ पत्रिकालाई दिएको अन्तर्वातामा भनेकी छन्, ‘शुरुआतमा म संगीत छाड्न चाहन्थें तर सम्भव भएन । त्यसैले अब अभिनयसँगै गायनलाई पनि अगाडि बढाउने छु ।’
संगीतमा लाग्नुभन्दा अघिदेखि नै अभिनयमा मोह भएको बताउँदै गोमेजले सुनाइन्, ‘त्यतिखेर अभिनय गर्न सक्छु भन्ने आँटै पुगेन । तर अहिले आएर अभिनय मेरो लागि पहिलो रोजाई बनेको छ । अभिनय गर्न सक्छु भन्ने साहस पनि आएको छ तैपनि आफूलाई अझ निखार्न प्रयास गरिरहेकी छु ।’