–धनबहादुर खड्का
बिहान चिया खाँदै परिवारसँग बसेर नेपाल टेलिभिजनमा लोकगीत हेर्दा एउटा तीजको गीतले दर्शकको मनोदशा खलबल्याउन सक्छ । हातमा रिमोट हुनेले पारिवारिक शालीनताका लागि च्यानल चेन्ज गर्न बाध्य हुनुपर्छ । कारण– गायिका ज्योति मगर आफ्ना वक्षका आधाभन्दा बढी भाग देखाउँदै गीत गाइरहेकी हुन्छिन्ः
नारी पुरुष समानले हो
मलाई उत्ताउली नभन जमानाले हो
गीतको अर्थ बुझ्न थाल्यो भने पसिना छुट्न सक्छ । नारी पुरुषसरह हुनका लागि आधा जिउमात्रै ढाक्ने लुगा लगाउनुपर्छ र ? त्यसमाथि उनी आफैँले उत्ताउली भएको महसुस गर्दै जमानाले त्यसो गराएको बताएकी छिन् । यस गीतकी गायिकालाई जमानाले उत्ताउली बनाए पनि ‘संस्कृति र पर्व’लाई उत्ताउलिने जमानासँग कुनै सरोकार छैन । योमात्रै होइन, ‘के जाति गर्नेलाई भन्दा देख्नेलाई लाज’ भन्ने नेपाली उखानजस्तै प्रमाणित गर्ने तीजे गीतको भदौरे झरी नै परेको छ । यस्तै तीजको लय भएको अर्काे गीतमा गायिका राधा तिवारी छिल्लिएकी छिन्,
यो मनमा काउकुती लायो
बैँसले आन्दोलन मच्चायो
गीतलाई लिएर युट्युबमा एक युवाले गरेको कमेन्ट रोचक छ । उनी लेख्छन्, ‘अर्काे अर्थ नलागोस्, गीतको भावनाअनुसार ‘आन्दोलन’ भएपछि लाठीचार्जको जरुरत पर्छ, होइन र ?’ गीत लेख्ने र गाउने दुवै सँगै भएको बेला गीतको भावार्थ खुलाउने हो भने लाज मान्नुको विकल्प होला र ? न्यून मूल्यको चर्चा कमाउनका लागि तीजे गीत लेखक र गायकले सामाजिक मूल्य मान्यतामाथि प्रहार गरिरहेका छन् ।
माइत जान नपाउनुको पीडा, दाजुभाइ नहुनुका पीर, माइती टाढा हुनुको कष्ट र दौँतरी माइती आँगनमा भेला हुन पाउनुका खुसी साट्ने उपयुक्त माहोल तीज थियो । सबै महिलाले गीतको माध्यमबाट आफ्ना दुःख बिसाउँथे र खुसी साट्थे । भगवान् शिवको प्रार्थना गरेर आफ्नो पतिको दीर्घायुको कामना गर्थे वा उपयुक्त वर प्राप्त गर्ने आशा व्यक्त गर्थे (यो बेग्लै कुरा हो कि यसमा कुनै वैज्ञानिकता छैन) । ती कुरा पनि तीजका गीतमा भक्तिरसबाट व्यक्त हुन्थे । यतिबेला अति शृंगारिक (जो केबल यौनसँग जोडिएको छ र जसले अभिव्यक्तिको सस्तो शैली अख्तियार गरेको छ) र ‘वीर’ रसका तीजे भाकाको वर्चस्व छ । गीतमार्फत कि ‘पोइ’ खोजिदिन शिवलाई घुर्की लाउँछन् कि त बैँसले उन्मुक्त तरुनीहरू छिल्लिरहेका छन् ।
तीजको लय भएका तर आत्मा नभएका गीतहरूले संस्कृतिको मात्रै होइन, सामाजिक मूल्य र कानुनको समेत हुर्मत लिइरहेका छन् । राधिका हमालले गाएको ‘मलाई हुन मन लाग्यो कान्छी पार्वती’ले बहुविवाह गर्न नपाइने नेपाली कानुनलाई चुनौती दिएको छ । कुनै कुरालाई सहज ढंगबाट महसुस गराउन गीत÷संगीतको सहारा लिइन्छ । तर, समाज भाँड्ने यस्ता गीतले बजार पिटिरहेका छन् । सञ्चारमाध्यममा यिनै गीत दिनको दर्जनौँ पटक बजिरहेका छन् ।
अहिले टेलिभिजन र रेडियोले अत्यधिक बजाउने अर्काे गीतले त घरबारै भाँड्ने कुरा गरेको छ । गायिका शिलु भट्टराईको आवाज रहेको गीतमा भनिएको छः
ठाउँको ठाउँ ढल्ने गरी मलाई कत्रो पीर छ
कि त जेठी छाड कान्छा कि त मलाई बिर्स
आफ्नो पतिको आयु लामो होस् भनेर व्रत बस्ने पर्वमा अर्काको पति खोस्ने आशयको यो गीत गाउने र यही गीत घन्काएर नाच्नेले कस्तो ‘धर्म’ मानेका हुन् कुन्नि ! तीजका व्रतालु दिदीबहिनी यो गीतमा कुन मानसिकता बनाएर नाच्दा हुन् ? यो गीत गाउने, लेख्नेलाई सर्जकको सामाजिक दायित्व हुन्छ भन्ने हेक्का कसले दिलाइदेला ?
यो त विवाहिताको कुरा भयो, अविवाहिताले चाहिँ सुयोग्य वर पाऊँ भनेर व्रत बस्ने गरेका कहावत् छ । अविवाहितालाई लक्ष्य गरेर राजेश खड्काले लेखेको गीतमा तीजका बेला नाच्ने युवतीको चरित्रमै शंका उत्पन्न हुन्छ । गीतले भन्छ–
मेरो त बिल्ला भो
एउटा छन् बुटवल, एउटा छन् पोखरा
कुनसँग भेट गरौँ दुइटा जिल्ला भो
खानदानी महिलाले तीजलाई गहना प्रदर्शन गर्ने पर्वका रूपमा तीजको दुरुपयोग गरिरहेका छन् । त्यही गलत प्रवृत्तिलाई गीतमार्फत बढावा दिने गायिकाको पनि कमी छैन । मायालाई सम्पत्तिसँग नदाँज्ने कुरा ‘पुरानो’ बनाउनेहरूको समर्थनमा दिलु गुरुङ सृष्टिको शब्द देवी घर्तीले गाएकी छिन्–
माया पनि आजकाल त जातीविधि गरे
यो तीजमा सुनको चुरा सारी दिन्छन् अरे
घिनघिनाघिन घिन्, कहिले आउला यस्तो भन्ने दिन
यही आशयलाई समर्थन गर्दै गायिका बिनु तामाङले गीतमार्फत ‘दश हजार पर्ने’ सारीको माग गरेकी छिन् । दश हजारभन्दा कम मासिक आम्दानीमा घरव्यवहार धान्नेको संख्या धेरै भएको यो देशमा यस्ता गीतले समाजलाई कतातिर डो¥याउन खोजेका हुन् ?
तीज भनेको युवतीका लागि नुवाकोटमा हुने गोरुजात्रा हो र ? होइन भने किरणबाबु पुनले लेखेको ‘कसको ब्वाइफ्रेन्ड राम्रो, दाजौँ ठिटी हो’ भन्ने गीतको अर्थ के हुन्छ ? प्रदीप अधिकारीले लेखेको ‘अहिलेको तीजमा म जस्तै पोइ माग’ जस्ता असभ्य शब्द दिदीबहिनीहरूले कसरी पचाइरहेका छन् र सामाजिक रीतिथितिलाई चुनौती दिँदै ‘बाल मतलब भएन बबाल मचाउँछु’ जस्ता गीतले किन प्रश्रय पाइरहेका छन् ?
तीजका बेला हुने भड्किला कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोकेको छ । यसैगरी परम्परादेखि नै नारीको सम्मानको प्रतीक र उनीहरूको अभिव्यक्ति स्वतन्त्रताको रूपमा स्थापित पर्वलाई विकृत बनाउन भइरहेको संगीतको दुरुपयोगलाई पनि रोक्न जरुरी छ ।
शुक्रवारबाट