नखाएको विष लागेपछि…

मनोरंजनसंसार डटकम | Tuesday, May 24th, 2016

Rekha-Shah

कुरा गायन र कला साधनाबाटै सुरु गरौँ । म तपाईँहरुकै बीचमा हुर्केकी एउटी गायिका हुँ । मलाई चिने पनि र नचिने पनि वा मलाई भन्दा बढी तपाईँहरुले सिमसिमे पानीमा बोलको नेपाली लोकगीतलाई चिन्नुभएको छ जस्तो लाग्छ ।

त्यो गीत गाएर म नेपाल प्रथम हुँदा सानी अल्लारे उमेरकी थिएँ । त्यसपछि करिव २३ वर्ष भयो म कला क्षेत्रमै क्रियाशील छु । जीवनका केही निजी अप्ठ्यारा घुम्ती र केही मेरो शारीरिक अस्वस्थताले थिल्थिलो भए पनि तिनलाई चिर्दै गीत संगीतमा लागिरहेकी छु र जीवनभर लागिरहने छु ।

स्वास्थ्यका कारण बीचमा छुटेको पढाइलाई निरन्तरता दिइरहेकी छु र एउटा सानो संस्था नै बनाएर सके जति समाजसेवा गर्दै सामाजिक रुपान्तरणको हिस्सेदार बन्दै आएकी छु । यी सबै तपाईँहरुलाई थाहा भएकै पाटो हो र यी सबै कुरा नेपाली समाज कला जगत र पत्रकारवृत्तलाई थाहै छ ।

कलाकार सार्वजनिक जीवनमा बाँच्छ र सार्वजनिक जीवन सबैलाई थाहा हुन्छ नै । विगत २३ वर्षदेखिको मेरो लवाइखुवाइ, हिंडाइ, बसाइ घाम जत्तिकै छर्लङ्ग छ । म तपाईँहरुले माया गरेको एउटी चेली पनि हुँ र कलाकार पनि ।

तर केही महिनादेखि मैले कहिल्यै नसोचेको नभोगेको र अनुमान पनि नगरेको घटना जीवनमा आइपर्‍यो । यस्तो पनि हुन्छ र ? भनेर कल्पन्छु र घरीघरी तर्सन्छु तर सत्य सत्य नै हुँदो रहेछ ।

लोकतान्त्रिक युग, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल र नेपालको प्रहरी प्रशासन, यी हाम्रा आशा र आदर्श थिए र छन् पनि । प्रहरीवृत्तमा मानव अधिकार सेल बनाएको र प्रहरीलाई मानव अधिकारको तालिमै दिएको पनि सुनेको थिएँ ।

नागरिक सर्वोच्चता र कानुनी राज तथा लोककल्याणको सन्दर्भ सुनेकै थिएँ । जुन देशलाई मैले मेरो गला, मेरो सरस्वती र मेरो सरगमले पुज्दै आएँ । जुन देशमाथि गर्व गरेँ, गीतमा यही देश र यही देशको संस्कृति गाएँ, यहाँको नीति नियम र प्रहरी प्रशासनमाथि विश्वास गरेँ ।

परिवर्तनहरुलाई स्वागत गरेँ र त्यसको सारमा देशको उन्नति पर्खिरहेँ, त्यही देशको प्रहरीजस्तो गरिमामय संगठनका केही व्यक्तिले लहडमा, सनकमा पूर्वाग्रहमा र अन्य कुनै दृश्य अदृश्य कारकहरुको कारण मैले ठूलो दु:ख, हुण्डरी, पीडा र अपमान सहनु पर्‍यो ।

ती कुरा सुन्दा आज पनि मन छियाछिया भएको छ, प्रहरी प्रति घृणा जागेको छ, अपमान र आत्मग्लानि महसुस भएको छ र अझै पनि निरन्तर भइरहेछ । म अझै ब्युँझिएको छैन पीडाबाट । मलाई मैले नखाएको विष लाग्यो । किन यस्तो भयो त ? राज्यबाट मैले जवाफ पाउने कि नपाउने ?

मेरो कथाको सुरुवात सीतापाइला बस्ने सन्दीपराज काफ्लेको घर किन्न भनी मैले ७३ लाख रुपियाँ बैना दिएको घटनाबाट भएको छ । ७३ लाख पैसा लगिसकेको व्यक्तिले घर पास गरेर दिन पटक पटक आनाकानी गरिरहेका थिए ।

छिटो घर पास गरिदिनु नभए पैसा फिर्ता गरिदिनु भनेर ताकेता गरिरहेका थियौँ । लामो समय भैसकेको थियो उनले न पैसा दिए न घर पास गरिदिए । यो कुरा उनको बुवा सुवासराज काफ्लेसम्म पुग्यो । बुवाले पनि सुरुमा ठिकै छ देला नि त भन्नु भयो राम्रै कुरा गर्नुभयो । म उहाँको कुरा पत्याउँदै गएँ । कहिले फोनमा र कहिले भेटेरै कुराकानी भैरहे । ्

मैले अलि हतारो लगाउँदै गएँ तर काम बनिरहेको थिएन । म आत्तिरहेकी थिएँ । सधैँझै एक दिन बिहान उहाँसँग पनि कुरा भयो र सन्दीपराजसँग पनि निरन्तर कुरा भइरहेकै थियो तर काम मात्र भएको थिएन ।

पैसा फसेको र काम फत्ते नभएकोले म पीडित थिएँ तर घटनाले त्यतिखेर उल्टो गति लियो, जब हामी आफैँ पीडित थियौँ तर पुलिसले म र मेरा श्रीमान्लाई टेकु बोलायो । प्रहरी प्रशासनले चाहेको बेला आफ्ना नागरिकसँग कुरा गर्न पाउँछ नै ।

केही होला भनेर हामी त्यहाँ गयौँ तर उल्टै हामीलाई अपराधीका रुपमा पेश गरियो । काफ्लेजीको पुस २६को जाहेरी अनुरुप हामीलाई पक्राउ गरिएको रहेछ । हामीले गालीगलौज गरेको धाक धम्की दिएको भनेर उजुरी रहेछ ।

म र मेरा श्रीमान्सँग एक्ला एक्लै र संयुक्त बयान लिइयो । बयानको त के कुरा भोको बाघले आहार भेटे शैलीमा तुच्छ शब्द र व्यवहार प्रदर्शन गरेर भन्नै नसकिने दुर्व्यवहार गरियो । पुग्ने वित्तिकै यसरी हप्काए कि म भन्नै सक्तिनँ ।

मानौँ हामीले साह्रै ठूलो देशद्रोही काम गर्‍यौँ र बरबादै गर्‍यौँ । हाम्रा कुराको सुनुवाइ त भएन भएन तर अपमान, अपशब्द र अनादरको बाढी नै थियो । मेरो श्रीमान्लाई त कुकुरले सिनो झम्टेझैँ झम्टिए ।

रातो अनुहार लगाएर उहाँ प्याक प्याक हुँदै गर्दा पनि गाली गर्न छाडेनन् । ‘हातको औँलाले काँधको फुलि उचाल्दै र खेलाउँदै देखिस् यो के हो ? मैले चाहेँ भने तिमीहरुलाई एउटा कुनै अभियोग लगाएर वर्षौँ यहीँ सडाइदिन सक्छु । जेल कोच्दिन सक्छु । के बुझेको छस् ?’ भनेर धम्काए ।

पक्राउ पुर्जी र म्याद थपको बाहना बनाएर १० दिन थुनेर राख्दा के चाहिँ गरेनन् र ? भनी साध्य छैन । म जेण्डर पढ्ने विद्यार्थी । मलाई थाहा छ नारी चेतना र मेरो अधिकारको कुरा तर आफूलाई नारी भन्नेहरु नै प्रहरी बर्दीमा क्रुर देखिए । तिनले नारी हुनुको सामान्य सीमा पनि नाघेर भन्ने नसकिने खालका हर्कत देखाएर त्यहाँ कसैको दलाली गरेझैँ देखिए ।

म पनि र मेरा श्रीमान् पनि अवाक थियौँ । सुन्दा सामान्य लाग्ला तर म यति ठूलो पीडाको सागरमा डुबेको थिएँ कि मैले आफैँलाई चिमोटेर मात्रै सपना विपना छुट्याउँथेँ । पटक पटक फुली देखाएर देखिस् यो फुली तँलाई कुनै आरोप लगाएर वर्षौँ सडाइदिन्छु मात्र भनिरहेथे ।

मैले सोधेँ – दोष के हो त ? सफा उत्तर थिएन तर निरन्तर दु:ख दिएको दियै भयो । लाग्थ्यो – यो देशको कुनै आधिकारिक स्थल हैन, यहाँ कुनै नीति नियम छैन, यो कुनै अपराधको अखडा हो । कसैको दलाली र ज्यादतीको पराकाष्ठा चलिरहेछ । कहिले काहिँ त कुनै सिनेमा हेरेजस्तो लाग्थ्यो ।

अपराधीले पनि आफ्नो कुरा भन्न पाउँछ तर हामीले त्यही पनि पाएनौँ । के को मानव अधिकार ? के को जिब्रोको गरिमा मिठो बोलीमा ? के को पुलिस बर्दीका नागरिक र नागरिक विना बर्दीका पुलिस ?

एसपी एसएसपीसम्मका उच्च अधिकारी कसैको दानामा बिकेर देशको नीति नियम र सामान्य मर्यादाको हेक्का गर्दैनन् भने नागरिकले कसरी गणतन्त्र र लोकतन्त्रको महसुस गर्ने ? पुलिस प्रशासनको व्यवहारबाट त मान्छे सुध्रियोस्, यस्तो काम गर्न नहुने रैछ भनेर महसुस गरोस् र उसको जीवन सकारात्मक बाटोमा फर्कियोस् तर नेपाली प्रहरीलाई देखे पछि र तिनको जर्जर बोली – व्यवहार सहे पनि नागरिक झन् विद्रोही बन्छ र प्रहरीलाई घृणा गर्छ ।

एक दुई खराब व्यक्ति भन्ने सोच उसमा आउन्न र सिङ्गो संगठनलाई उसले त्यही रुपमा हेर्छ । प्रहरी माथि वर्षैँदेखि लाग्दै आएको यो गम्भीर आरोप हो । हो रैछ साँच्चै हो रैछ नेपाली प्रहरी अधिकारीहरु अधिकारी हुन लायक रहेन छन् । यिनीहरु पञ्चायती धङ्धङीमै छन् र यिनले आफूलाई छोटे राजा र हुकुमी अबशेष सम्झेकै रहेछन् ।

मुद्दा सम्मानित अदालतसम्म पुग्यो । पुस २७ गते करिब ३ बजे अदालत दाखिल गरियो । आँखा यस्तो तिरमिर भयो, यस्तो पीडाबोध भयो कि कतै हेर्नै सकिनँ । बल्लबल्ल आफन्तलाई ठम्याएँ । मेरोभाइलाई देखेपछि म यति रोएँ कि ? बयानै गर्न सक्तिनँ । म रोएको देखेर त्यहाँ भएका अन्य थुनुवा र भेट्न आउनेहरुसम्म रोएको देखेँ । त्यो रोएको क्षण मुभी खिचेर राखेको भए कुनै पनि सिनेमालाई माथ गर्ने खालको हुने थियो ।

तर अदालतले ‘सार्वजनिक जीवनमा समेत प्रतिष्ठा’ भएकी गायिका भन्ने विशेषण प्रयोग गरी बिना धरौटी रिहा गर्ने आदेश दियो । हामी रिहा भयौँ । कम्तीमा धरौटीसम्म नलिई छाड्नु भन्ने अदालतको आदेशले सम्मानित भएको महसुस गरेँ ।

सम्मानित अदालतको प्रति झन् श्रद्दा बढ्यो । नखाएको विषको डाहा शरीर र मनबाट अलि कम भएझैँ भयो । रिहा हुनुअघिका धेरै घटना छन् । थाकेर थचक्क बस्दा उठ् भनेर गरेको अपमान । अगाडि रहेको कुर्सीमा बस्न खोज्दा पछाडिबाट कुर्सीमा लात्तीले हानेर ढालिदिएको स्थिति । पहिलो दिन अगाडि रहेको सोफामा बसिएछ, तत्काल हकारेर कुर्सीका लागि कति मरिहत्ते गर्छन् तँलाई यो कुर्सी ? उठ् भनेर हकारेको । पटक पटक तँ तँ म म गरेको ।

तुच्छ र अश्लिल शब्द बोलेको स्थिति सम्झँदा सभ्यताकै उपहास भएझैँ लाग्छ । स्वस्थ्य परीक्षण गराउन लाने पुलिसको चलन अनुसार औपचारिकताका लागि पुष २७ गतेको दिन स्वास्थ्य परीक्षण गर्न भनी वीर अस्पताल लैजाँदा हातमा हत्कडी लगाएर लगेको देख्दा मलाई भएको अपमान कल्पनै गर्न सक्तिनँ । पाइताला जमिनबाट तल खसेझैँ लागेको थियो । भेडाबाख्रा राख्ने जस्तो गाडी, अर्के लोकबाट आएजस्ता पुलिस । आफ्नै सहरको बाटो पनि अर्कै जस्तो देखिन्छ । त्यहाँ शौचालयसम्म आफूखुसी जान पाउने व्यवस्था थिएन ।

म मुटुको रोगी, कुनै पनि बेला केही हुनसक्थ्यो, औषधी खाइरहनु पर्ने तर अनावश्यक टर्चर, पीडा र तनाव दिएर औषधी खान दिएनन्, पानी खान दिएनन्, अपशब्द बोलेर अपमानको अग्नि खन्याए ।

देखाउनलाई हतकडी लगाएर यसो वीर अस्पलात पुर्‍याएभन्दा बढी स्वास्थ्य अत्यन्तै खराव हुँदा पनि र मानव अधिकार आयोगका व्यक्तिले अनुरोध गर्दा पनि अस्पताल जान दिएनन् ।

म छिया छिया र थिल्थिलो थिएँ । मुलुककै बर्बादी गरेर अदालतले सजायँ तोकेको व्यक्ति सहरमा खुलेआम हिंड्दा नदेख्ने पुलिस, पुलिसको आँखै अगाडि घण्टाघरमा मान्छे मारेर अपराधी भाग्दा नदेखेझैँ गर्ने पुलिस, सुडान घोटाला र ठेक्का टेन्डरका नाममा भ्रष्टाचारको आरोप खेपेर मुद्दा धाइरहेको पुलिस ऐनामा आफ्नो मुख हेर्दैन र जग्गा खरिद विक्रीमा गरेको लेनदेनलाई राज्य विरुद्धको अपराधजस्तो ठानेर व्यवहार गर्छ । के छ यसमा रहस्य ?

मेरो पैसा गयो, मै पीडित छु तर प्रहरी प्रशासन उल्टो मलाई नै अपराधी ठान्छ र ममाथि अपराध गर्नेको दलाली गर्छ । मलाई हुनैसम्मको हैरानी दिन्छ । यो कहाँको न्याय हो ? के न्यायको आँखा फुटेकै हो त ? म यस्तै सोच्दथेँ । कति रोएँ, भनेर साध्य छैन ।

मलाई संगठित अपराधमा संलग्न भनेर जवर्जस्ती कागज गर्न खोजियो । जवर्जस्ती जे पायो त्यही हो भन्न बाध्य पार्न खोजियो तर त्यही भएका कतिपय अन्य साधारण व्यक्ति, मेरा वकिल र सरकारी वकिल समेतले गम्भीरता पूर्वक नलिएको भए केही पुलिस कतै बेचिएर तिनले मलाई थप दु:ख दिने थिए ।

लेख्न पनि लाज लाग्ने कुरा म र मेरा श्रीमान्लाई टेकुमा आपत्तिजनक अवस्थामा भेटिएको सम्म भन्न छोडेनन् । त्यो भनेको कति गम्भीर कुरा हो । श्रीमान् श्रीमतीका लागि घर हुन्न र सार्वजनिक ठाउँ खोज्दै हिंड्नुपर्छ ? कति गिरेको मानसिकता हो यो ?

चरित्र भन्ने कुराको सामान्य हेक्का पनि हुन्न प्रहरीसँग ? जे भने पनि हुने जसो भने पनि हुने र जे गरे पनि हुने राणा शासनकै प्रतिरुप हो त प्रहरी भनेको ? प्रहरी संगठन भित्रकै प्रहरीहरुले कृपया सोच्नु होस् । कुहिएको दुईचार आलुले टोकरी नै कुहाउँछ ।

यी सबै कुरा हुँदैहुँदै पनि बादलमा चाँदीको घेरा हुँदो रहेछ । पहिलो पेशी मै विना धरौटी छोडिदिएको अदालतले दोस्रो पेशीमा मुद्दा खारेज गरिदियो । मैले न्याय पाएँ । अदालत भनेको अदालतै रहेछ । दोस्रो पेशीमै उसले दूधको दूध र पानीको पानी बुझ्यो । यो मेरो गौरवको कुरा हो । सलाम छ अदालत सलाम तर देशप्रति गुनासो अझै छ ।

बिना कसुर मैले पाएको दु:खको जिम्मा कसले लिने ? मेरो क्षतिको जिम्मा कसले लिने ? आर्थिक, सामाजिक र मेरो सार्वजनिक जिन्दगीमा पुगेको क्षतिको जिम्मेवारले किन उन्मुक्ति पाउने ? कसैले जिम्मेवारी लिनुपर्ने कि नपर्ने ? रिस साँधेर हिँड्ने प्रहरीले कति निर्दोषलाई दु:ख दिए होलान् हिसाब गर्ने कि नगर्ने ?

मैले जग्गा किन्न दिएको बैना कसले उठाइदिने ? कहिले उठाइदिने ? अब यो व्यक्तिगत कुरा रहेन । प्रहरीले नै हात हालेर किन पैसा मागिस् भनिसक्यो । प्रहरीका अनुसार त पैसा माग्नै नहुने देखियो । निर्दोष रहेछु म, अदालतले भन्यो ।

यही कुरा म सुरु देखिनै भन्दै थिएँ । पुष्टि भयो । अब दोषी प्रहरीको के हुन्छ ? मैले भनिसकेँ म बिरामी थिएँ, औषधीसम्म खान नपाएर म त्यही मरेको भए के हुन्थ्यो ?

अपमानको त्यो कालो क्षणमा आवेगमा आएर मैले आत्महत्यै गरेको भए के हुन्थ्यो ? मेरो मानव अधिकार हुँदैन ? यही जिम्मेवारी हीन, जवाफदेहिता हीन र स्वेच्छारिता नै लोकतन्त्र हो ? यही हो देशले खोजेको ? म उत्तर खोजिरहेछु तिनै पुलिससँग जो वर्दीमा छन् । मानव अधिकार आयोग, प्रेस र नागरिक समाजसँग न्याय मागिरहेछु ।

एउटा नागरिकका नाममा, एउटी नारीका रुपमा र एउटा कलाकारका रुपमा अपिल गरिरेछु । यो मेरो अपिल पनि हो र मजस्ता कति मान्छेले अनाहकमा दु:ख पाए होलान् ? तिनका लागि पनि हो र यो आवाज परिवर्तनका लागि पनि हो । म दु:खी छु, रोएकी छु र ममात्रै हैन मेरा आफन्त र हजारौँ लाखौँ शुभेच्छुकको पीडा महसुस गरेका छन् ।

ती आफन्त जनको मनको शान्ति र न्यायिक समाज निर्माणका लागि अब मैले नयाँ यात्रा सुरु गर्नै पर्छ । कागजी लोकतन्त्र आए पनि व्यवहारमा लोकतन्त्र आएको रहेनछ ।

यस तर्फ सोचौँ र केही बिकेका पुलिसले गर्दा सयौँ निर्दोषलाई दोषी बनाउनबाट जोगाऊँ र प्रहरी फोर्स र लोकतन्त्रकै सुरक्षित मर्यादाका लागि राज्यले केही सोचोस् । यही हर्कतमा न लोकतन्त्र न समृद्धि र विकास ! बिन्ती छ बेलैमा सोचौँ ।

Facebook Comments