Thu. Apr 18th, 2024

केही समयअघिसम्म उनी ‘गोथे’ नामले परिचित थिए । अहिले उनको परिचय फेरिएको छ । हाल उनी ‘हर्के’ नामले परिचित छन् । तर उनको वास्तविक नाम भने विष्णु सापकोटा हो । फरक–फरक भूमिकामा पनि आफ्नो अभिनय क्षमतामार्फत् दर्शकहरूको मन जित्न सफल विष्णुले ८५ वटा ठूलो पर्दा र १० वटा भन्दा बढी सानो पर्दामार्फत् आफूलाई दर्शकमाझ प्रस्तुत गरिसकेका छन् । प्रस्तुत छ ‘हर्के हल्दार’ अर्थात् विष्णु सापकोटासँग मनोरञ्जन संसार डट कमका लागि  गीता थापाले गरेको कुराकानीः

हिजोआज केमा व्यस्त हुनुहुन्छ ?

म अहिले हर्के हल्दार र हिरोज चलचित्रमा व्यस्त छु । केही दिन अगाडि मात्र कतारको कार्यक्रमबाट फर्किएँ । यस्तै हो, कहिले सुटिङमा कहिले स्टेज कार्यक्रमहरूमा नै व्यस्त छु । 

कलाकारिता क्षेत्रमा प्रवेश कसरी गर्नुभयो ?

म कलाकारिता क्षेत्रमा प्रवेश गरेको २० वर्ष जति भयो । सुरुसुरुमा स्टेज कार्यक्रममा नृत्य र हाँस्य कलाकारको रूपमा अभिनय गर्दै कलाकारिता क्षेत्रमा प्रवेश गरेको हुँ । पापीरात टेलिचलचित्रमा मैले अभिनय गर्ने अवसर पाएँ । त्यतिबेला मेरो खुसीको सीमा नै थिएन । जो नेपाल टेलिभिजनबाट प्रसारण हुने गथ्र्यो । त्यो टेलिचलचित्र खेलिसकेपछि अन्त्यमा पनि खेल्ने अवसर पाए । अहिले हर्के हल्दारसम्म आइपुग्न सफल भएको छु । अहिलेसम्म ८५ वटा ठूलो पर्दाको चलचित्रमा अभिनय गरिसकेको छु । भने पापीरात, बेरीबास्सै, बाउन्न घुस्सा त्रिपन्न ठक्कर, आफ्नै निर्माणमा भैगो नि त, मदनबहादुर हरिबहादुर लगायत १० वटा सानो टेली चलचित्रमा अभिनय गरिसकेको छु ।

हर्के हल्दारमा दुई वटा पात्रको भूमिका एक्लैले निभाउनुभएको छ, कत्तिको सजिलो हुन्छ ?

सोचे र देखे जस्तो सहज त हुँदैन । कलाकार भइसकेपछि जस्तोसुकै अभिनय पनि गर्न सक्नुपर्छ जस्तो लाग्छ मलाई कलाकारले हसाउन र रुवाउन जान्नुपर्छ । नत्र सफल हुन सकिंदैन । गाह्रो सँगसँगै रमाइलो पनि हुन्छ । धेरै दर्शकहरूले मलाई माया गरिदिनुभएको छ । खुसी नै छु । हर्के हल्दारमा लाहुरेको अभिनयबाट गाउँ टोलमा रहेका विधुवा महिलालाई नराम्रो दृष्टिकोणले हेर्ने र त्यस्ता लाहुरेबाट महिलाहरूलाई सचेत हुन सन्देश दिन खोजेको छु । हर्केको अभिनयबाट भने हर्के सबैको प्यारो बन्न चाहने अलि इनोसेन्टको भूमिका निर्वाह गरेको छ । दर्शकलाई हसाउने कुरा त्यति सहज छैन । गाह्रो त हुन्छ कतिपय अवस्थामा आफू रोएर पनि अरुलाई हसाउनुपर्ने हुन्छ ।

हर्केबाट चिनिन चाहनुहुन्छ कि लाहुरेबाट ?

हर्केबाट चिनिन चाहन्छु । किनकि हर्केको क्यारेक्टर सबैले माया गर्ने खालको छ । अलि लाटोको भूमिका रहेको छ । लाहुरेको क्यारेक्टर अलि समाजमा अपच्य खालको छ । अरुको श्रीमतीमाथि कुदृष्टि राख्ने खालको रोल छ । त्यसैले म दर्शकको माझमा लाहुरेको भन्दा हर्केको रोलबाट चिनिन चाहन्छु ।

तपाईंंलाई त पहिला दर्शकले गोथे भनेर चिन्नुहुन्थो अहिले हर्केबाट चर्चामा आउनुभएको छ, दर्शकले कुन रूपमा चिन्नुहुन्छ ?

मलाई धेरै दर्शकहरूको माझमा गोथेले चिनायो । हर्केले अहिलेसम्म टिकाई राखेको छ । गोथेबाट नै दर्शकको माझमा चिनिने मौका पाएको हुँ र अहिले पनि कतिपय दर्शकले मलाई गोथे नै भनेर चिन्नुहुन्छ । मलाई लामो समयसम्म हर्केको क्यारेक्टरले टिकाई राखेको छ ।

यो क्षेत्रमा महिलालाई हेर्ने तपाईंंको दृष्टिकोण कस्तो छ ?

म महिलालाई एकदमै सम्मान गर्छु । महिला आफैमा भर पर्नुपर्छ महिलाले कसैलाई पनि स्थान नदिए कसैले पनि जबर्जस्ती गर्दैन । आफ्नै क्षमता अनुसार अगाडि बढे भने कसैले पनि उनीहरूलाई हस्तक्षेप गर्दैनन् जस्तो लाग्छ । म अरुको मन दुखाउन चाहन्न सबैसँग राम्रै व्यवहार गर्ने मान्छे हुँ । कसैको कुरा काट्ने बानी छैन । कसैको खुट्टा तान्ने बानी पनि छैन । त्यसैले दर्शकको माया पनि पाइराखेको छु । लाग्छ अझैपनि दर्शकहरूले मलाई माया गरी दिनुहुनेछ ।



कलाकारिता क्षेत्रमा लागेर बाँच्न सकिन्छ ?

एकदमै सकिन्छ । अहिलेसम्म जिन्दगी चलाइरा’को छु । खुसी नै छु विदेशको कार्यक्रमहरूमा गइरहन पाइन्छ । अहिलेसम्म ६ वटा देशमा गइसकेको छु । घरपरिवारलाई खुसी साथ राख्न सकेको छु त्यो भन्दा कति चाहियो र ? कलाकारलाई पाल्ने त स्टेज प्रोगाम र विदेशमा हुने प्रोगामहरूले नै हो ।

ठूलो पर्दाको चलचित्रमा र सानो पर्दामा काम गर्दा के भिन्नता पाउनुभयो ?

अभिनयमा त खासै भिन्नता हँुदैन । तर ठूलोे पर्दामा टिम ठूलो हुन्छ । मेहेनत धेरै गर्नुपर्छ । नतिजाको लागि धेरै समय कुर्नुपर्ने हुन्छ तर सानो पर्दामा टिम सानो भएकाले नतिजा पनि छिट्टै नै आइहाल्छ अरु त फरक केही छैन ।

तपार्इंलाई पहिला यसरी चर्चित कलाकार हुन्छु जस्तो लागेको थियो कि थिएन ?

मैले पहिला स्टेज कार्यक्रमबाट कलाकारिता क्षेत्रमा प्रवेश गर्ने अवसर पाएको हुँ । मैले सोचेको थिएन यसरी यो क्षेत्रमा आएर दर्शकको यति धेरै माया पाइएला भन्ने । तर आफूमा क्षमता र आँट भएपछि सफल पनि भइँदो रहेछ जो म अहिले सफल हुन सकेको छु । आफूलाई हाँस्य कलाकारको रूपमा सबैको सामु चिनाउन सफल पनि भएको छु । 

अरुलाई धेरै हसाउनुहुन्छ तपार्इं कतिको हा“स्नु हुन्छ नि ?

कलाकार भएपछि आफू रोएर अरुलाई हसाउनुपर्छ । म अरुलाई हसाउने मान्छे अरु सँगसँगै आफू पनि हाँस्ने गर्छु । कहिल्यै रिसाउदिन र अहिलेसम्म रिसाएको पनि छैन ।

तपार्इंको विचारमा प्रेम के हो ?

मेरो विचारमा प्रेम भनेको बन्धन हो विश्वास हो जस्तो लाग्छ । म विवाहित हुँ कसैले कसैलाई पनि धोका दिनु हुँदैन जस्तो लाग्छ ।

तपाईं सफल हुनुको श्रेय
कसलाई दिनुहुन्छ ?


म सफल हुनुकोे श्रेय स्वर्गीय गोपाराज मैनाली, दाई गणेश सापकोटा र मेरो घरपरिवारलाई दिन चाहन्छु । 

आगामी योजना के छ ?

चलचित्र निर्देशन गर्ने योजना छ हेरांै कतिसम्म सफल भइन्छ ।

अन्त्यमा केही भन्न चाहानु हुन्छ ?

मेरा दर्शक श्रोताले जसरी मलाई ‘गोथे’को रूपमा माया गरी दिनुभएको थियो । त्यसरी नै हर्के हल्दारको भूमिकालाई पनि माया गरिरहनुभएको छ अझै पनि हर्के हल्दार हेरेर मलाई सल्लाह सुझावहरू दिनुहुन आग्रह गर्न चाहन्छु । सधैं यसरी नै मलाई दर्शक श्रोताकोे मायाको खाँचो छ भन्न चाहन्छु ।

%d bloggers like this: