मनोरंजनसंसार डटकम
जेठ २८ रिलिज फिल्म ‘गाजलु’ बर्ष २०७३ को पहिलो सफल फिल्म बनेको छ । दर्शक हलमा तानेर पनि लगानी सुरक्षित गर्न नसकेका फिल्महरुलाई उछिन्दै ‘गाजलु’ले नाफाको विजनेस सुरु गरेको छ ।
निर्माण टिम तथा वितरण कम्पनिहरुबाट प्राप्त विजनेस विवरण अनुसार फिल्मले दुई हप्तामा कुल ३ करोड २८ हजार ९ सय ३१ रुपैयाँको ग्रस विजनेस गरेको छ । हेमराज विसी निर्देशित फिल्मले काठमाडौंबाट मात्रै १ करोड ८२ लाख ६ हजार ९ सय ३ रुपैयाँको विजनेस गर्यो ।
वितरक गोविन्द शाहीले फिल्मको विजनेसमा खुशी व्यक्त गरे । युवा स्टार अनमोल केसी स्टारर फिल्मले मोफसलबाट दुई हप्तामा १ करोड २० लाख ७४ हजार २८ रुपैयाँ ९५ पैसाको विजनेस गरेको विवरण फिल्मीखबरलाई प्राप्त छ ।
निर्माता रोहित अधिकारीले फिल्मको कुल लागत १ करोड बढि रहेको भन्दै नेपाल रिलिजबाट नै यो रकम रिकभर भएको बोले । अष्ट्रेलिया, युके, हङकङ, कोरिया, जापान, अमेरिका र भारतको प्रदर्शन अधिकार बिक्रीबाट मात्रै आफ्नो हातमा अहिलेसम्म ६० लाख ५० हजार परेको दाबी उनको छ ।
निर्माता रोहितका अनुसार अमेरिका र युकेको लागी पुर्णतः प्रदर्शन अधिकार नदिईएकोले उल्लेखित देशका अन्य शहरमा समेत फिल्म प्रदर्शनको लागी कुरा अघि बढिरहेको बताए ।
अनमोलसँगै सृष्टि श्रेष्ठ, गौरव पहारी, सलोन बस्नेत, मेनका प्रधान, गौरी मल्ल, कृष्ण मल्ल लगायत ‘गाजलु’मा अभिनयमा छन् । फिल्म अहिले दर्जनबढि हलमा तेस्रो हप्तामा प्रदर्शनरत छ ।