ओम प्रतिकको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘मोहर’को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । आगामी साउनको २३ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमाको नयाँ पोष्टरले खास केही कुरा बताउन खोजेको जस्तो देखिन्छ ।
सार्वजनिक पोष्टरमा अभिनेता पल शाहको दोहोरो अवतार देखिन्छ । उनी पहिलो लुक्समा अभिनेत्री बेनिशा हमालसँग लामो कपाल पालेर अंगालोमा बाँधिएका छन् । अर्को लुक्समा छोटो कपालको साथमा अभिनेत्री नीति शाहको अंगालोमा देख्न सकिन्छ । यसले, कतै पल सिनेमामा दोहोरो भूमिकामा त छैनन् भन्ने उत्सुकता दर्शकमाझ उत्पन्न हुने देखिन्छ ।
जेठको २७ गते टिजर सार्वजनिक हुने सिनेमा ‘मोहर’लाई अलिखित नियमहरुमा आधारित कथा भनिएको छ । यसैले, पोष्टरबाटै दर्शकमाझ निर्माणपक्षले कौतुहलता जगाउन खोजेको प्रष्ट हुन्छ । टिजर सार्वजनिक भएपछि सिनेमाको कथावस्तुका बारेमा दर्शकले अझै थप वुझ्न सक्ने निर्माणपक्षले बताएको छ ।
चुम्बन जंग शाहीको लगानी रहेको सिनेमामा अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र बाल–कलाकार सारा शर्माको पनि मुख्य भूमिका छ । दिपेन बस्न्यातको छायांकन रहेको सिनेमामा कुमार महर्जनको एक्शन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द रचना छ ।
फिल्म मेकर्स प्रालिको व्यानरमा निर्माण भएको यो सिनेमामा गिरिराज घिमिरे मुख्य सहायक निर्देशक र लक्ष्मण राज पौडेल निर्माण नियन्त्रकको रुपमा छन् ।