नेपाली फिल्म उद्योगले लामो समयदेखि पर्खिरहेको सफलता ‘ऊनको स्वीटर’ले ल्याएको छ। विपिन कार्की र मिरूना मगरको मुख्य अभिनय रहेको यस फिल्मले दर्शकमाझ बेग्लै तरंग पैदा गर्दै यो वर्षको पहिलो सुपरहिट बन्न सफल भएको छ।
नविन चौहानको निर्देशनमा बनेको यो फिल्मले रिलिजको केही दिनमै सकारात्मक समीक्षाका साथै उत्साहजनक दर्शक उपस्थिति पनि सुनिश्चित गर्यो। फागुन रिलिज भएको ‘अञ्जिला’ पछिको सुस्त बक्स अफिसलाई ‘ऊनको स्वीटर’ले एक्कासि जीवन्त बनाएको हो। वैशाख २६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले तेस्रो सातासम्म आइपुग्दा पनि मल्टिप्लेक्स र सिंगल स्क्रिन दुबैमा उल्लेखनीय दर्शक आकर्षित गरिरहेको छ।
नेपालकै ठूलो मल्टिप्लेक्स सञ्जाल, क्यु एफ एक्स ले यसलाई “सुपरहिट” को मान्यता दिइसकेको छ। निर्माता कम्पनी आर्टमाण्डु नेपालका अनुसार फिल्मले रिलिजको दुई सातामा मात्रै ८ करोड १० लाख रुपैयाँ ग्रस आम्दानी गरेको छ—यो तथ्यांकले पनि यसको व्यावसायिक सफलतालाई पुष्टि गर्छ।
‘
ऊनको स्वीटर’ आर्टमाण्डु नेपालको पहिलो प्रोडक्सन हो, र म्युजिकल प्रेमकथाको शैलीमा बनेको यो फिल्मले दर्शकको मुटुमा गहिरो छाप छोडेको छ। विपिन र मिरूनासँगै एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, सुनील पोखरेल, माओत्से गुरूङजस्ता कलाकारहरूको दमदार अभिनयले कथालाई जीवन्त बनाएको छ।
फिल्मको ट्रेलर, टिजर, र कथानकमा आधारित गीतहरूले रिलिज अघि नै राम्रो ‘हाइप’ सिर्जना गरेका थिए। पूर्वी पहाडको बहुसांस्कृतिक परिवेशमा आधारित प्रेमकथा भएकाले पनि यो फिल्म नेपाली दर्शकमाझ अझ सजीव भएर प्रस्तुत भएको छ।‘वर्ड अफ माउथ’ बलियो बनिरहेको छ, जसका कारण फिल्मले आगामी दिनहरूमा अझ बढी कमाइ गर्ने अनुमान गरिएको छ। ‘ऊनको स्वीटर’ ले नेपाली सिनेमा उद्योगमा नयाँ आशाको रेखा कोरेको छ ।