चलचित्र ‘महाभोज’ को जेठ १५ गते बिहीबारका लागि तय गरिएको प्रदर्शन स्थगित गरिएको छ । देशको असहज अवस्थालाई दृष्टिगत गर्दै निर्माण पक्षले हाललाई चलचित्र स्थगित भएको जनाएको हो ।
निर्माता हिमाल कडरियाले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय देशभर फैलिएका विभिन्न आन्दोलन तथा विस्तारित विषम परिस्थितिका कारण आम जनजीवन प्रभावित भइरहेको अवस्थालाई दृष्टिगत गर्दै, चलचित्र ‘महाभोज’ को प्रदर्शन नेपाल तथा नेपाल बाहिरका सबै देशहरूमा हाललाई स्थगित गरिएको जनाएका हुन ।
‘महाभोज’ लामो समयदेखि प्रचारमा रहेको र सहकारीको रकम अपचलनको कथावस्तुमा निर्माण गरिएको नेपाली चलचित्र हो । प्रदर्शन मिति स्थगित भएसँगै दर्शकहरूमा केही समय प्रतीक्षा गर्नुपर्ने भएको छ ।
चलचित्र युनिटले दर्शक, वितरक, सञ्चारकर्मी र शुभेच्छुकहरूप्रति निरन्तर साथ, समर्थन र समझदारीका लागि अपेक्षा राखेको छ ।
चलचित्रप्रति दर्शकहरूले देखाएको उत्साह र समर्थनप्रति आभार प्रकट गर्दै निर्माताले मुलुकको संवेदनशील परिस्थितिमा दर्शकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको उल्लेख गरेका छन् । उनले अवस्था सामान्य भएपछिको पहिलो सम्भव समयमा नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने जानकारी पनि दिएका छन् ।