मनोरंजनसंसार डटकम
गोपिकृष्ण मुभिजले वितरण गर्दै आएको एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७२ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच असोजमा हुने अवार्डमा प्रतिस्पर्धाको दौडमा परेका हरेक विधाको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो ।
उत्कृष्ट फिल्मको दौडमा यो पटक ‘पशुपतिप्रसाद’, ‘प्रेमगीत’, ‘क्लासिक’, ‘कबड्डी कबड्डी’ र ‘वडा नम्बर छ’ परेका छन् भने निर्देशकमा सम्बन्धित फिल्मबाटै क्मशः दिपेन्द्र के खनाल, सुदर्शन थापा, दिनेश राउत, रामबाबु गुरुङ र उज्जल घिमिरेबीच प्रतिस्पर्धा हुने भएको छ ।
यस्तै अभिनेता तर्फ ‘पशुपतिप्रसाद’बाट खगेन्द्र लामिछाने, प्रेमगीतबाट प्रदिप खड्का, क्लासिकबाट आर्यन सिग्देल, फन्कोबाट सौगात मल्ल र कबड्डी कबड्डीबाट दयाहाङ राई प्रतिस्पर्धाको दौडमा छन् भने अभिनेत्रीतर्फ केकी अधिकारी, प्रियंका कार्की, पूजा शर्मा, मेनका प्रधान र नम्रता श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ ।
फिल्मकर्मी र सञ्चारकर्मीहरुको बाक्लो उपस्थिती रहेको मनोनयन सार्वजनिक कार्यक्रममा सेलिब्रेटी कलाकारको भने कम उपस्थिती थियो ।
उत्कृष्टको मनोनयनमा परेका अभिनेतामा आर्यन सिग्देल मात्रै र अभिनेत्रीतर्फ पूजा शर्मा मात्र उपस्थित थिए ।