Thu. Nov 21st, 2024

मनोरंजनसंसार डटकम
केहीअघि संघीय गठबन्धनले सिंहदरबार घेराउ गर्ने क्रममा एकाएक चर्चामा आए डा. आभाष लाभ । गायिका आस्था राउतको ‘चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा…’ गीतलाई प्यारोडी बनाएर उनले गाएको ‘दौरा सुरुवाल टोपी ला’को छैन भन्दैमा, मलाई इन्डियन भैया भन्न कहाँ पाइन्छ…’ गीतले पनि निकै चर्चा पायो ।
राजधानीको अनामनगरमा डेन्टल क्लिनिक सञ्चालन गर्दै आएका उनी नाम चलेका मैथिली गायक हुन् भन्नेचाहिँ धेरैले थाहै पाएनन् ।
एक दर्जन मैथिली गीति एल्बम निकालेका उनै आभाष मंगलबार आफ्नो सम्पूर्ण परिचयसहित राजधानीमा एकल साँझमा उत्रिए । समसामयिक राजनीतिक सन्दर्भहरूमाथि आफ्नो धारणासहित गीतहरू प्रस्तुत गरेका उनले कार्यक्रमको शीर्षक राखेका थिए– ‘समाधान साँझ ।’
‘अहिले मुलुकमा सद्भावको खाँचो देख्छु,’ उनले गीत गाउनुअघि भने, ‘तराईले पहाडलाई, पहाड र हिमालले तराईलाई बुझ्नुपर्ने अवस्था छ जस्तो लाग्छ । यस्तो भएन भने नेपाली राष्ट्रियता बलियो हुन सक्दैन । जातीय भेदभाव र नश्लीयतालाई त्याग्नुपर्छ । अधिकार सबैको उत्तिकै हुनुपर्छ ।’
झन्डै पाँच मिनेट बोलेपछि उनले प्रस्तुति थाले । सुरुमै उनले मैथिली महाकवि विद्यापतिलाई सम्झे । विद्यापतिकै रचना रहेको ‘बसौनी गीत’ मा ‘जय जय भैरवी…’ भन्दै गलो खोलेका आभाष यसपछि मधेसको सामाजिक समस्याभित्र पसे ।
सियाराम झा ‘सरस’ ले लेखेको दाइजोसम्बन्धी ‘हमरा बुचिया…’ गाउँदै गर्दा दर्शकहरूको आँखा रसिला भए । तराई जन्मेका हरेक छोरीले सानैदेखि ‘म घरको बोझ हुँ’ भन्ने मनोविज्ञानका साथ बाँच्नुपर्दाको पीडा पोखिएको गीत मर्मस्पर्शी थियो ।
आभाषले गाउँदै गर्दा प्राज्ञ रमेश रञ्जन झा बेला–बेला आफ्नी रंगकर्मी छोरी प्रियंकातिर पुलुक्क हेर्थे र अनुहार भावुक बनाउँथे ।
पालो प्राज्ञ झाकै आयो । आभाषका गीतबारे टिप्पणी गर्न दर्शकश्रोताका अघिल्तिर उभिएका उनले सुरुमै भने, ‘आभाषले वर्षौंदेखि गीत गाए, मैथिली समाजमा जागरणको अभियानमा हामीसँगै कैयौंपटक हिँड्यौं, तर मधेसको आवाज गीतमा कैद गर्ने आभाषले चर्चा पाउनका लागि नेपाली गीतकै प्यारोडी गाउनुपर्‍यो । यस्तै प्रकारको परम्परागत र भेदभावपूर्ण मनोसामाजिक चेतनाका कारण आज मधेसमा असन्तोष बढेको हो ।’
यसपछि तेस्रो प्रस्तुतिका लागि पलेँटी कसेका आभाषले आफ्ना घरभेटीलाई अघि सारे । घरभेटी थिए, अनामनगरका राजेश्वर बज्राचार्य ।
‘म उहाँको घरमा नौ वर्षदेखि बस्दै आएको छु,’ आभाषले घरभेटीतिर औंल्याउँदै भने, ‘तर, हामीमा नेवार र मधेसी भन्ने भावना कहिल्यै आएन । राज्यले पनि यस्तो आभाष दिन सक्नुपर्छ भनेर म आज प्रेमको गीत गाउन आएको हुँ ।’
प्रेमको गीत भन्दै उनले हिन्दी गाउने सुरसार कसे । संसद्मा हिन्दी बोल्नेहरूप्रति व्यंग्य गर्दै उनले गाए, ‘देखो वीर मधेसी, पहिले है नेपाली, फिर मुस्लिम, अवधी… ।’ यसपछि उनले गाएको गीत साँच्चिकै ‘समाधान साँझ’ को थिमसङ जस्तै थियो । उनले माइक्रोफोन समाते :
मलाई गाली नगर दाजु, आमा पनि सुन्छिन्
मलाई रुवायो भने नेपाल आमा रुन्छिन्
तिमी जन्म्यौ काठमाडौंमा म जनकपुरमा
माइला जन्मे बर्दियामा, काइँला भक्तपुरमा
आमाको माया लाग्छ भने मलाई पनि प्यार देऊ
भरोसा गर, विश्वास गर, बराबर अधिकार देऊ…
‘मलाई कहिलेकाहीं अचम्मको विचार आउँछ,’ गीतपछि आभाषले भने, ‘जनकपुरमा राष्ट्रिय विभूति शंखधर साख्वको, काठमाडौंमा मैथिली आदिकवि विद्यापतिको र लहानतिर फाल्गुनन्दको सालिक बनेकस्तो हुन्थ्यो ? पक्कै पनि राष्ट्रिय एकता मजबुत हुन्थ्यो । अखण्डता बलियो हुन्थ्यो ।’
गाउनभन्दा बोल्नतिरै बल गरिरहेका उनलाई बेला–बेला प्राज्ञ झा आँखा सन्काएर गीततिर मोड्न सुझाव दिन्थे । असिनपसिन आभाष भने यसपछि भोजपुरी गीततिर मोडिए । रोमान्टिक स्वादका ‘ओड्ने के रंग पियार…’ र ‘जहिया से चलि गइलु…’ गाएपछि फेरि मैथिलीतिरै फर्केका उनले ‘सबेरे सबेरे…’ गीतमा मैथिली बिहानीचर्या सुनाए ।
अन्तिम चरणमा भने उनी निकै रमाइलो मुडमा उत्रिए । गुलाम अलिको ‘गाजलु ती ठूला ठूला आँखा…’ गाएर माहोल तताएका उनले अन्तिममा आस्था राउतकै गीतको प्यारोडी सुनाए :
ढाका टोपी राम्रै लाग्छ, लाउने बानी छैन
दोहोरी–मारुनी मन पर्छ, गाउने बानी छैन
होली झिँझिया नाच्न खेल्न मेरो मन रमाउँछ
मधेसी हुँ नेपाली हुँ मेरो आफ्नै मान छ…