बक्स अफिस कलेक्सनमा ‘बलिदान’ एक नम्बरमा

Loading

दसैँको फूलपातीमा एकै दिन रिलिज भएका तीनवटा सिनेमामा ‘बलिदान’ सबैभन्दा अगाडि देखिएको छ । बक्स अफिस कलेक्सनमा ‘बलिदान’ एक नम्बरमा रहेको छ ।

चलचित्र विकास बोर्डले बुधबार आठ दिनको बक्स अफिस कलेक्सन सार्वजनिक गरेको छ । बोर्डको बक्स अफिस रिपोर्ट अनुसार सबैभन्दा धेरै ‘बलिदान’ले आठ दिनमा ३ करोड ७५ लाख ५३ हजार २५१ रुपैयाँ कलेक्सन गरेको छ ।

यो बक्स अफिसमा जडान भएका हलको मात्रै तथ्यांक हो । सिंगल थिएटर र बक्स अफिसमा जडान नभएका हलको कलेक्सन भने बाहिर आएको छैन ।

बक्स अफिस कलेक्सनमा दोस्रो स्थानमा ‘हरिबहादुरको जुत्ता’ छ । यसले ३ करोड २१ लाख ७० हजार १६० रुपैयाँ कलेक्सन गरेको छ ।

तेस्रो स्थानमा रहेको ‘माइतीघर’ले २ करोड १३ लाख ६४ हजार ६९२ रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
‘बलिदान’मा समीर भट्ट मुख्य भूमिकामा छन् । समीरसँगै सौगात मल्ल, ऋचा शर्मा, हेमन्त बुढाथोकी, सन्तोष सेन पनि मुख्य भूमिकामा छन् । सन्तोष सेनले निर्देशन गरेका छन् ।

‘हरिबहादुरको जुत्ता’मा हरिवंश आचार्य मुख्य भूमिकामा छन् । हरिवंशसँगै स्वस्तिमा खड्का र प्रकाश सपूत मुख्य भूमिकामा छन् । दिपेन्द्र कुमार खनालले निर्देशन गरेका छन् ।

‘माइतीघर’मा धीरज मगर, केदार घिमिरे, उपासनासिंह ठकुरी र प्रकाश सपूत मुख्य भूमिकामा छन् । मिलन तामाङले निर्देशन गरेका छन् । यी तीनवटा चलचित्र असोज १३ गते फूलपातीका दिन रिलिज भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *