“दर्शकको माया संगै ‘बलिदान’ अब लामो रेसको घोडा – हलहरूमा भावनाको बाढी”

काठमाडौं नेपाली चलचित्र बलिदान ले देशभरका हलहरूमा सातौं हप्ता पूरा गर्दै पनि दर्शकको माया र साथ यथावत् राख्न सफल भएको छ। वडादशैंको फूलपातीको दिनदेखि प्रदर्शनमा आएको यो चलचित्रले कथा, अभिनय र देशप्रेमले भरिएको प्रस्तुतीका कारण सबैको मन जित्दैछ।

हलमा पुग्ने अधिकांश दर्शकले चलचित्रको कथा र एक्सनलाई अत्यन्त मन परेको प्रतिक्रिया दिएका छन्। समीर भट्टलाई भेट्न हलसम्म पुग्ने दर्शकहरू सेल्फी लिँदै भावुक हुने, र कतिपय त काखमा समाएर रुनसम्म पुगेका छन्। चलचित्रको कथा, संवाद र अभिनयले धेरैको मन छोएको दर्शकहरूले बताएका छन्।

निर्माता प्रेम पुरी ले पछिल्लो समयमा पैसा लिएर नकारात्मक टिप्पणी गर्नेहरूको गतिविधिप्रति असन्तुष्टि जनाउँदै भने,

फिल्म नहेरी नराम्रो भन्नेलाई कृपया हलमा गएरबलिदानहेरेर मात्र प्रतिक्रिया दिनुहोस्।

त्यस्तै, निर्देशक सन्तोष सेन ले पनि आत्मविश्वासका साथ भने,

यदि फिल्म नराम्रो लाग्यो भने पैसा फिर्ता गर्न तयार छु।

दर्शकहरूका अनुसार बलिदान ले नेपालको पछिल्लो जेनेरेसन आन्दोलन, देश र जनताको भावना तथा माटोको कथा सशक्त रूपमा प्रस्तुत गरेको छ। यसैले यो चलचित्र लामो रेसको घोडा बन्ने संकेत देखिएको छ।

चलचित्रका पोस्टर, टिजर, ट्रेलर र गीतले रिलिजअघि नै ठूलो चर्चा पाएका थिए। बलिदान सँगै अन्य दुई नेपाली चलचित्र पनि प्रदर्शनमा आएका छन्, तर दर्शकहरूको आकर्षण भने बलिदान तिरै केन्द्रित देखिएको छ।

आसुसेन फिल्म्स प्रालि को ब्यानरमा बनेको यस चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिष्ट, कार्यकारी निर्माता प्रेम पुरीहुन्। चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी र निर्देशक स्वयं सन्तोष सेन को दमदार अभिनय देख्न सकिन्छ।

चलचित्रको वितरण काफिया फिल्मकुबेर फिल्म ले संयुक्त रूपमा गरिरहेका छन्।

‘बलिदान’बारे निर्देशक सन्तोष सेनको विश्वास, ‘मनोरञ्जनसँगै देश र आमाप्रतिको माया झल्किन्छ

काठमाडौं – नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र ‘बलिदान’का निर्देशक तथा निर्माता सन्तोष सेनले चलचित्रप्रतिको आफ्नो अटुट भरोसा व्यक्त गरेका छन्। उनले यस चलचित्रलाई केवल मनोरञ्जनको साधन नभई देशभक्ति र आमाप्रतिको कर्तव्य बोधको अभिव्यक्ति भएको बताएका छन्।
“हामीले उठाएको विषयवस्तुलाई पर्दामा उतार्न निकै कठिन थियो। लामो समयको निरन्तर धैर्य र परिश्रमपछि आज यो चलचित्र पर्दामा आउन लागेको हो। यसको प्रमुख भरोसा भनेकै देशप्रतिको र आफ्नी आमाप्रतिको माया, ममता र कर्तव्य हो,” निर्देशक सेनले बताए, “चलचित्रलाई सफल बनाउन यसका कलाकारहरूको प्रस्तुति अत्यन्तै महत्त्वपूर्ण छ। हामीले प्रस्तुत गरेको कथा र दृश्यहरूले दर्शकलाई देश र आमा प्रतिको भावना झल्काउनेछन्। साथै, चलचित्रले राजनीतिक कुटिलताले आम जनतालाई कसरी बहकाउँछ र प्रयोग गर्छ भन्ने सन्देश पनि दिन्छ।”
सेनले ‘बलिदान’को मेकिङ र प्रस्तुति उच्च गुणस्तरमा भएको दाबी गर्दै भने, “हामी आमाको कोखबाट जन्मिन्छौँ र मातृभूमिको काखमा हुर्कन्छौँ। यी दुवै नै हाम्रो जीवनका आधार हुन्। यही आधारलाई चलचित्रमा समेटिएको छ। चलचित्र हेर्दा दर्शकले मनोरञ्जन मात्र होइन, जिउमा काँडा उम्रिने खालको जोस र ऊर्जा पाउनेछन्।”
गत शुक्रवार सार्वजनिक गरिएको ‘बलिदान’को ट्रेलरले नेपाली चलचित्र क्षेत्रमा व्यापक चर्चा ल्याएको छ। यसअघि पोस्टर, प्रि-टिजर, टिजर र गीतमार्फत उत्सुकता बढाइसकेको चलचित्रले ट्रेलरमार्फत झन् ठुलो अपेक्षा निर्माण गरेको छ। ट्रेलरमा एक आमाले छोरासँग देश र अस्मिता जोगाउने वचन माग्ने भावनात्मक दृश्य देखिन्छ। त्यसपछि दर्शकले प्रतीक्षा गरेका अभिनेता समीर भट्टको प्रवेश हुन्छ, जसमा उनले देशप्रतिको सङ्कल्प र आमाप्रतिको ममतामा आधारित दमदार संवाद प्रस्तुत गरेका छन्। सौगात मल्ल, अर्पण थापा र महेन्द्र बुढाथोकी फरक अवतारमा देखिएका छन्। समीर र सौगातबीचको द्वन्द्व, तीव्र एक्सन दृश्य, दर्जनौँ खलनायकहरूसँगको लडाइँ, सशक्त संवाद र दमदार ब्याकग्राउन्ड स्कोरले ट्रेलरलाई उच्च स्तरमा पुर्‍याएको छ। यसअघि सार्वजनिक भएको शीर्ष गीत ‘यो ज्यान बलिदान’ अहिले जनमानसमा निकै लोकप्रिय बन्दै गएको छ। सुजन चापागाईँको स्वर र सङ्गीत तथा हर्क साउदको शब्दमा तयार यो गीतले देशभक्तिको भावनालाई झन् प्रज्वलित बनाएको छ।
‘आशुसेन फिल्म्स प्रा.लि.’को ब्यानरमा बनेको चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारहरूको दमदार अभिनय देख्न पाइनेछ। चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।
असोज १३ गते (फूलपातीको दिन) प्रदर्शनमा आउने ‘बलिदान’लाई नेपाली चलचित्र इतिहासमै साहसी कदमका रूपमा स्मरणीय बन्ने अपेक्षा गरिएको छ। निर्देशक सेनले यसलाई केवल चलचित्र नभई हरेक नेपालीको मनको विद्रोहको प्रतीक भएको बताएका छन्। उनका अनुसार, ‘बलिदान’ हेर्ने दर्शकले मनोरञ्जनसँगै देशभक्ति, आमाप्रतिको माया र समाजप्रतिको जिम्मेवारीको गहिरो सन्देश पाउनेछन्।