बलिदान’ ले दशैंमा दर्शकको मन जित्दै – छठौं दिनसम्म पनि उत्साहपूर्ण प्रदर्शन

काठमाडौं – वडादशैंको फूलपातीदेखि देशभर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बलिदान’ ले निरन्तर उत्कृष्ट व्यापार गर्दै सिनेमा हलहरूमा जोशिलो वातावरण सिर्जना गरेको छ।

राजनीतिक घटना, आमा–छोराको ममता र देशप्रतिको बलिदानी भावनालाई समेटिएको यो फिल्मले दर्शकलाई भावुक बनाइरहेको छ। धेरै दर्शकले चलचित्र हेरेपछि कथा र एक्सन दुवैले मन छोएको प्रतिक्रिया दिएका छन्।

मुख्य भूमिकामा रहेका समीर भट्ट ले दर्शकको माया प्रति आभार व्यक्त गर्दै भने,

“दर्शकले दिएको माया नै मेरो प्रेरणा हो, अब अझ राम्रो काम लिएर आउनेछु।”

आसुसेन फिल्म्स प्रा.लि. को ब्यानरमा बनेको ‘बलिदान’ मा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी लगायतका कलाकारको दमदार अभिनय देख्न सकिन्छ।

चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट, कार्यकारी निर्माता प्रेम पुरी हुन् र वितरणको जिम्मा काफिया फिल्म्स ले लिएको छ।

फूलपातीबाट प्रदर्शनमा आएको ‘बलिदान’ ले छठौं दिनसम्म पनि हाउसफुल शो चलिरहेको छ। नेपाली चलचित्र क्षेत्रको मन्द वातावरणमा पनि यस्तो उत्साहजनक प्रदर्शनले नेपाली सिनेमामा नयाँ उर्जा थपेको छ।

सिनेमा ‘अभिमन्युः च्याप्टर वान’को शीर्षक गीत सार्वजनिक

काठमाडौं । सुशान्त गौतमको डेव्यु निर्देशनमा नेपाली र हिन्दी भाषामा निर्माण भएको सिनेमा ‘अभिमन्युः च्याप्टर वान’को शीर्षक गीत सार्वजनिक गरिएको छ । र्‍यापर भियोमाको शब्द रचना, संगीत तथा स्वरमा तयार भएको यो र्‍याप गीतले पैसाले मान्छेको असली चरित्र उजागर गर्ने सन्देश दिँदै पैसामा माया साटिने र सम्बन्ध टुट्ने यथार्थता प्रस्तुत गरेको छ ।

र्‍यापर भियोमा आफैंले अभिनय समेत गरेको गीतको भिडियोमा सिनेमाका केही महत्त्वपूर्ण दृश्यहरू पनि समावेश छन् । निर्माण पक्षका अनुसार ‘अभिमन्यु’ पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट मुक्त हुन संघर्ष गर्ने पात्रको कथामा आधारित सिनेमा हो । जसलाई यो शीर्षक गीतले पनि अभिव्यक्त गरेको छ ।

आगामी भदौ २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो सिनेमामा कामेश्वर चौरासिया, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देवा, शिशिर वाङ्देल, प्रकाश दाहाल, सुष्मा निरौला, अनिल कुर्मी लगायतको अभिनय रहेको छ । यो सिनेमाको हिन्दी संस्करण आगामी असोज ६ गते प्रदर्शन हुँदैछ ।

सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको ‘अभिमन्यु’मा मुकेश खनालको लेखन, मदन थापाको क्रिएटिभ निर्देशन तथा शरद महतोको छायांकन रहेको छ । सर्वकालिन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेल र गुञ्जन गिरीको लगानी रहेको सिनेमामा रमेश चौलागाई र हरि श्रेष्ठ सह-निर्मातामा छन् ।